आज राष्ट्रिय प्रजातन्त्र दिवसः स्वतन्त्रताका लागि ज्यानको आहुति दिने शहिदहरुको स्मरण

५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा, १५ जनालाई आममाफी

  ।   २०७७ फाल्गुन ७, शुक्रबार ०७:००

काठमाडौं । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्रको उज्यालो किरण छाएको दिन फागुन ७ गतेको स्मरणमा आज देशभर हर्षोल्लासपूर्वक प्रजातन्त्र दिवस मनाईंदैछ ।

जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाईंदै आएको हो ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास हुँदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा प्राणको दिनुभएको थियो ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

यसैबीच सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १ सय ७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४ सय १ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।

तीनवटै प्रावधानअनुसार कैद कट्टा र माफी मिनाहा हुनेको संख्या ५ सय ९५ छ । बाँकी सजाय मिनाहा पाएकामध्येका १ सय ७९ जना कैदी व्यक्ति हत्या लगायत कसुरमा जन्मकैद सजाय पाएर कारागारमा सजाय भुक्तानरत कैदी हुन् । यसैगरी मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानुनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैदमै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको छ ।

आममाफीका लागि गृह मन्त्रालयबाट ४० जनाको सिफारिस गएकोमा २५ जनाको सूची फिर्ता गरिएको स्रोतको भनाइ छ ।

 

Next Post

अमेरिकी अन्तरिक्षयान पृथ्वीबाट उडेको ७ महिनापछि मंगलग्रहमा सफल अवतरण

२०७७ फाल्गुन ७, शुक्रबार ०७:००
एजेन्सी । अमेरिकी अन्तरिक्षयान पर्सिभिअरेन्स पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा सफल अवतरण गरेको छ । नेपाली समयानुसार आज बिहान २ बजेर ४० मिनेटमा पर्सिभिअरेन्स रोभर नामक सो अन्तरिक्षयान मंगल ग्रहको सतहमा अवतरण गरेको हो । अमेरिकी अन्तरिक्ष संस्था नासाको क्यालिफोर्नियास्थित नियन्त्रण कक्षमा अन्तरिक्ष यानको सफल अवतरणसँगै […]