अमेरिकी अन्तरिक्षयान पृथ्वीबाट उडेको ७ महिनापछि मंगलग्रहमा सफल अवतरण

  ।   २०७७ फाल्गुन ७, शुक्रबार ०७:०८

एजेन्सी । अमेरिकी अन्तरिक्षयान पर्सिभिअरेन्स पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा सफल अवतरण गरेको छ ।

नेपाली समयानुसार आज बिहान २ बजेर ४० मिनेटमा पर्सिभिअरेन्स रोभर नामक सो अन्तरिक्षयान मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको क्यालिफोर्नियास्थित नियन्त्रण कक्षमा अन्तरिक्ष यानको सफल अवतरणसँगै वैज्ञानिकहरूले हर्षोल्लास मनाएका छन् । वैज्ञानिकहरु मिसन सफल भएकोमा खुसीले चिच्याएका थिए ।

नासाले मंगलग्रहमा अन्तरिक्षयान अवतरण गरेपछि खिचेका केही तस्वीरहरु पनि सार्वजनिक गरिसकेको छ । यो सन् १९७० को दशकको भाइकीङ मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो ।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ । छ वटा पाङ्ग्रा भएको सो रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो ।

मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो । अहिलेसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् ।

Next Post

महिला लिगमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै

२०७७ फाल्गुन ७, शुक्रबार ०७:०८
काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ । दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ । डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए । […]