लैङ्गिक समानताको सूचीमा फिनल्यान्ड प्राय : माथि पर्छ । तर प्रधानमन्त्री सन्ना मरिनले लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै १६ वर्षीया किशोरीलाई आफ्नो कुर्सी बुधवार एक दिनको निम्ति हस्तान्तरण गर्नुभयो ।
कुनै नयाँ कानुन नबनाए पनि एभा मुर्तोले दिनभरि राजनीतिकर्मीहरूसँग बैठकको कार्यतालिका थियो । जसको उद्देश्य हो प्रविधिमा महिला अधिकारको विषयमा जोड दिनु ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय युवती दिवसभन्दा अघि किशोरीलाई उक्त जिम्मेवारी दिइएको हो जुन विश्वव्यापी एउटा अभियानको भाग थियो ।
फिनल्यान्डले प्लान इन्टर्न्याश्नलको ’गर्ल्स टेकओभर’ अर्थात् युवतीको सत्तारोहणमा सहभागी भएको यो चौथो वर्ष हो । यस अभियानमा संसारभरिका देशहरूका किशोरीहरूलाई एक दिनको निम्ति राजनीति र अन्य क्षेत्रका नेताहरूको जिम्मेवारी सम्हाल्ने अवसर दिइन्छ ।
यो वर्ष युवतीहरूको निम्ति प्रविधिमा अवसर र डिजिटल क्षमता बढाउने कुरालाई प्राथमिकता दिइएको छ ।
बुधवार गरेको सम्बोधनमा सुश्री मुर्तोले भन्नुभयो, “तपाईँहरूको अगाडि आज बोल्ने अवसर पाउनु मेरो निम्ति खुसीको कुरा हो, तर म यहाँ उभिनु नपरेको भए हुन्थ्यो भन्ने मेरो चाहना छ । गर्ल्स टेकओभर जस्ता अभियानहरूको खाँचो पर्नु हुँदैन ।“
तर यो पृथ्वीको कुनै भागमा पनि लैङ्गिक समानता अहिलेसम्म प्राप्त नभएको कुरा यथार्थ भएको उहाँको ठम्याइ छ । उहाँले भन्नुभयो, “तर हामीले यस क्षेत्रमा धेरै राम्रो काम गरेका छौँ र अझै पनि धेरै पूरा गर्नुपर्ने काम बाँकी छन् ।“
मानवअधिकार र जलवायुसम्बन्धी अभियानमा सक्रिय किशोरीले यस्तो अभियानमा भाग लिन आवदेन दिएका थिए । गत वर्ष विश्व आर्थिक मञ्चको विश्वव्यापी लैङ्गिक असमानतासम्बन्धी प्रतिवेदनमा फिनल्यान्ड तेस्रो भएको थियो ।
तथापि प्रविधिको क्षेत्रमा प्रतिनिधित्वको हिसाबले महिला अझै तल छन । गत वर्ष ३४ वर्षको उमेरमा शपथ ग्रहण गर्नुभएकी मरिया विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्नुभएको थियो ।
– बीबीसी नेपालीबाट