कैलालीमा १० हजार पानी गौंथली फेला, विज्ञ भन्छन ‘सरप्राइज’ भो

  ।   २०७७ आश्विन ९, शुक्रबार १६:२८

अविनाश चौधरी, धनगढी  ।
जैविक विविधताले महत्वपूर्ण कैलालीमा ठूलो सङ्ख्यामा पानी गौथली चरा फेला परेका छन् । कैलारी गाउँपालिका–४ स्थित मोहना नदीको बगरमा करिब १० हजार ५५३ सङ्ख्यामा पानी गौथली फेला परेका हुन ।

नेपालमा संरक्षित क्षेत्रबाहिर धेरै सङ्ख्यामा पानी गौथली फेला परेको यो पहिलो पटक हो । संरक्षित क्षेत्रमा पनि यति धेरै सङ्ख्यामा पानी गौथली फेला परेको अभिलेख छैन ।

मोहना नदीमा देखिएको पानी गौथलीको समूह नेपालमा हालसम्म अभिलेख गरिएकोमध्ये सबैभन्दा ठूलो रहेको चराविज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो ।

‘यति धेरै सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौथली भेटिएका थिएनन्’, उहाँले भन्नुभयो । पानी गौथली विश्वव्यापी रुपमा रातो सूचीमा रहेको चरा हुन । यो प्रजाति सङ्कटको नजिक रहेको बताइएको छ ।

नेपालसहित विश्वको २० देशमा पानी गौथली पाइन्छन् । नेपालमा पहिलो पटक काठमाण्डौं उपत्यकामा पानी गौथली अभिलेख गरिएको थियो । १९ औं शताब्दीमा हडग्सन नामक व्यक्तिले काठमाण्डौंमा पानी गौथली अभिलेख गर्नु भएको हो ।

सन १९९० अगाडि दुई हजारको सङ्ख्यामा चितवनको मेघौलीमा यि चरा देखिएका थिए । त्यसपछि सन २०१२ मा चितवनमै तीन हजार ४६७ देखिएको चराको क्षेत्रमा काम गर्ने संस्था पंक्षी संरक्षण सङ्घ (बीसीएन) को तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, सन २०१५ मा कोशी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा र बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौथली चरा अभिलेख गरिएको थियो ।

सिमसार क्षेत्रमा बसोबास गर्न रुचाउने यो चरा प्रजाति बर्दिया राष्ट्रिय निकुञ्जस्थित कर्णाली नदी पाइन्छ ।

यसैगरी, नवलपुरको अरुण खोला, चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदी, कोशी नदी, दाङको राप्ती, कैलालीको मोहना नदीमा उल्लेख्य रुपमा पाइने गरेको जनाइएको छ ।

मोहना नदीमा गर्मी याममा बढी र जाडो याममा कम मात्रामा पानी गौथली देखिने गरेको चराविज्ञ डङ्गौराको भनाइ छ । उहाँले मोहना नदीको भितरिया क्षेत्रमा यो चराको सिकार बढी मात्रामा हुने गरेको बुझिएको उल्लेख गर्नुभयो ।

बसोबास स्थानको विनाश, नदी क्षेत्रबाट बालुवा र गिट्टी उठाउने कार्यले पानी गौथली चरालाई समस्या हुँदै आएको जनाइएको छ । यसैगरी, चोरी सिकार, ब्रिडिङमा असर लगायतको कारणले यो चरा प्रजाति लोप हुने खतराको नजिक पुगिरहेको बताइन्छ ।

पानी गौथली मुख्य गरी बालुवा तथा ढुङ्गे नदी र तालतलैयाहरुमा पाइन्छन् । मोहना नदीमा १० हजारको सङ्ख्यामा पानी गौथली फेला पर्नु आफूहरुको लागि पनि ‘सर्पराइज’ भएको बीसीएनका विज्ञ कृष्ण भुसालले बताउनुभयो ।

‘नेपालमा पानी गौथलीको सङ्ख्या नै न्यूनतम् तीन हजारदेखि अधिकतम् पाँच हजारसम्म रहेको छ’, उहाँले भन्नुभयो ।

‘१० हजारको सङ्ख्यामा मोहना नदीमा देखिनु एकदम् म्याक्सिमम र हाम्रो लागि बिग सर्पराइज हो ।’ सो झुण्ड अन्य मुलुकबाट आएको हुन सक्ने भुसालको बुझाइ छ ।

गोरखापत्र अनलाइनबाट

Next Post

प्रदेश ५ को कोरोना रोग नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैंया उपलब्ध गराउने निर्णाय

२०७७ आश्विन ९, शुक्रबार १६:२८
कोरोना संकट ब्यवस्थापन केन्द्र प्रदेश ५ ले सिमा ब्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । जस अनुसार नेपाल र भारतबीचका तोकिएका सीमानाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्ड अनुसार आवागमनको व्यवस्था गर्ने, हेल्थडेस्क राख्ने, अभिलेख राख्ने र आवश्यक सचेतनाका लागि प्रचार–प्रसारको व्यवस्था गर्ने भनेको छ । चाडपर्वको समयमा नेपाल […]