सबिता चन्द ठकुरी
नेपालगञ्ज । “आउनुहोस्, हराएको मानवताको खोजी गरौं” भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मानवता नेपाल बाँकेको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन नेपालगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै संस्थाको नेतृत्व सुमन गिरीलाई प्रदान गरेको छ। निर्वाचित कार्यसमितिमा उपाध्यक्ष खिम प्रसाद घिमिरे, सचिव ई. नेत्र प्रसाद सापकोटा, सह–सचिव खुस्बु श्रीवास्तव, र कोषाध्यक्ष अब्दुल अजिज हलवाई रहेका छन्।
त्यसैगरी सदस्यहरूमा ई. विवेक लामिछाने, रमेश पाठक, तारा रोकाय, रत्ना कुमारी गिरी, बसन्ता शर्मा र शरद प्रसाद रिजाल निर्वाचित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभासद अम्बिका काफ्ले रहनुभएको थियो।
विशिष्ट अतिथिहरूमा गैर सरकारी महासंघका केन्द्रीय सचिव नमस्कार शाह, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बिरमी चन्द्र फाउन्डेसनका अध्यक्ष डा. डक्टप्रसाद धिताल, पूर्ण तारा फाउन्डेसनकी अध्यक्ष तारा रोकाय, गैर सरकारी महासंघ बाँकेका सचिव रमेश सिटौला, नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, र सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीलगायतका व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा संस्थाका संस्थापक, सल्लाहकार, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
संस्थाका तत्कालीन अध्यक्ष मधु सुदन अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा गत वर्षको प्रतिवेदन, आन्तरिक लेखापरीक्षण, र आगामी वर्षको कार्ययोजना प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो।
कार्यक्रममा संस्थाले विगतमा सञ्चालन गरेका गतिविधिहरू समेटिएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। साथै, आकर्षक सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो। उद्घाटनसत्रमा संस्थाले पूर्व भौतिक योजना तथा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीलाई सामाजिक सहकार्य र मानव सेवामा पु-याएको योगदानका लागि सम्मान गरेको थियो।
मानवता नेपाल बाँकेले स्थापना कालदेखि नै सामाजिक सेवा, स्वास्थ्य, शिक्षा, मानव अधिकार संरक्षण र जनचेतना अभिवृद्धिका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ। संस्थाले आगामी दिनमा पनि “मानवता, सहयोग र सद्भावका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने” प्रतिबद्धता व्यक्त गरेको छ।





