नेपाल-भारत अन्तर्गत बाँके क्षेत्रमा ७१ सीमास्तम्भ मर्मत

  ।   २०८० पुष १२, बिहीबार १३:१३

नेपाल–भारत सीमा अन्तर्गत बाँके जिल्ला क्षेत्रमा पर्ने ७१ वटा सीमास्तम्भको मर्मत सम्भार तथा रङरोगन कार्य सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल–भारत सीमास्तम्भको मर्मतसम्भार तथा रङरोगन कार्य सम्पन्न भएको बताउनुभयो ।

बाँके जिल्ला अन्तर्गत रहेका कुल ३११ सीमा स्तम्भमध्ये नेपाल सरकारले मर्मत तथा सम्भार गर्नुपर्ने बिजोर नम्बरका ७१ वटा सीमास्तम्भको मर्मत सम्भार तथा रङरोगन गर्ने कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

विगतमा सीमास्तम्भहरूको नापी विभागबाट निर्माण, पुनर्स्थापना तथा मर्मत सम्भार हुने गरेको भए पनि सरकारले २०७७ साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकबाट उक्त जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएपछि यो कार्य सशस्त्र प्रहरी बलले सम्पन्न गरेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशविक्रम शाहीले सरकारले दिएको विभिन्न जिम्मेवारी अन्तर्गत सीमास्तम्भ मर्मत सम्भार कार्य पनि एउटा भएको हुँदा यस कार्यलाई पनि जिम्मवेपारीपूर्वक सम्पन्न गरिएको बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा जिम्मेवारी अन्तर्गत अन्तर्राष्ट्रिय सिमानामा रहेका सीमास्तम्भको अभिलेख व्यवस्थापन, रेखदेख, अनुगमन लगायत सीमाक्षेत्रबाट हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सबै सरोकारवालासँग समन्वय र सहकार्य गरी सक्रियतापूर्वक काम गर्दै आइरहेको एसपी शाहीले जानकारी दिनुभयो ।

बाँके जिल्ला अन्तर्गत नेपालतर्फ रहेका सीमास्तम्भको मर्मत सम्भारतथा रङरोगन गर्ने कार्य गत मङ्सिर २० गतेबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

Next Post

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

२०८० पुष १२, बिहीबार १३:१३
बाँके । बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ ।मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट […]