भेरी अस्पताल नेपालगन्जमा किन हुन्छ भिड ?  भिडभित्र लुकेको जनविश्वास, बाध्यता र पश्चिम नेपालको स्वास्थ्य यथार्थ

  ।   २०८३ भाद्र १६, मंगलवार १२:३०

सबिता चन्द
नेपालगन्ज । बिहानको उज्यालो राम्ररी फैलिन नपाउँदै भेरी अस्पताल नेपालगन्जको मुख्य गेटमा मानिसहरूको भीड लाग्न थाल्छ । कोही वृद्ध बुबाआमालाई हात समातेर आएका छन्, कोही काखमा बिरामी बच्चा बोकेर दौडिरहेका छन् । कतिपय रातभर बस यात्रा गरेर कर्णालीका दुर्गम जिल्लाबाट आइपुगेका हुन्छन् भने कोही बाँके, बर्दिया र दाङका गाउँबाट बिहानै उपचारको आशामा अस्पताल पुगेका हुन्छन् । यही दृश्य हरेक दिन दोहोरिन्छ । त्यसैले धेरैको जिज्ञासा हुन्छ, भेरी अस्पतालमा किन यति धेरै भिड हुन्छ ?

यसको उत्तर अस्पतालको लोकप्रियतामा मात्र सीमित छैन । यो पश्चिम नेपालको सार्वजनिक स्वास्थ्य सेवाको वास्तविक चित्र हो । १३६ वर्षदेखि सेवा दिँदै आएको भेरी अस्पताल आज पनि लुम्बिनी र कर्णाली प्रदेशका लाखौँ नागरिकको अन्तिम भरोसा बनेको छ । सीमित स्रोत, सीमित जनशक्ति र सीमित शय्याका बीच पनि अस्पतालले दैनिक हजारौँ बिरामीलाई सेवा दिइरहेको छ ।

भिडको पहिलो र सबैभन्दा ठूलो कारण स्वास्थ्य बिमा हो । बाँके जिल्लामा स्वास्थ्य बिमाअन्तर्गत विशेषज्ञ उपचार उपलब्ध गराउने मुख्य सरकारी अस्पताल भेरी अस्पताल नै हो । बिमा गरेका नागरिकहरू औषधि, परीक्षण र उपचारका लागि यही अस्पताल आउँछन् । यसले दैनिक बिरामीको संख्या अत्यधिक बढाएको छ ।

अर्को कारण यहाँ कार्यरत अनुभवी विशेषज्ञ चिकित्सक हुन् । ११औँ तहका वरिष्ठ कन्सल्टेन्ट चिकित्सकसहित विभिन्न विशेषज्ञ सेवाहरू एउटै अस्पतालबाट उपलब्ध छन् । निजी अस्पतालमा महँगो पर्ने उपचार सरकारी अस्पतालमै कम खर्चमा पाइने विश्वासले पनि बिरामीलाई भेरी अस्पतालतर्फ तानेको छ ।

तर अस्पतालको क्षमता भने बिरामीको चापअनुसार बढ्न सकेको छैन । सरकारी स्वीकृति १०० शय्याको भए पनि विकास समितिले थप ५० शय्या सञ्चालन गरेको छ । यद्यपि धेरै दिन वार्डमा सबै बेड भरिन्छन् र अतिरिक्त बेड राख्नुपर्ने अवस्था आउँछ । आकस्मिक कक्षदेखि प्रसूति, बालरोग र मेडिसिन वार्डसम्म बिरामीको चाप निरन्तर बढिरहेको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा. नबिन दर्नालका अनुसार भेरी अस्पताल पश्चिम नेपालका लाखौँ नागरिकको भरोसाको केन्द्र बनेको छ । “भिड हुनु हाम्रो कमजोरी मात्र होइन, जनताको विश्वासको परिणाम पनि हो । सीमित स्रोत–साधनका बीच पनि गुणस्तरीय सेवा दिन हामी निरन्तर प्रयासरत छौँ,” उहाँ भन्नुहुन्छ ।

अस्पताल विकास समिति कार्यवाहक अध्यक्ष डा. डक्टप्रसाद धितालको भनाइ पनि उस्तै छ। उहाँका अनुसार अहिलेको बिरामी चाप हेर्दा भेरी अस्पताललाई कम्तीमा ५०० शय्याको अस्पताल बनाउनु आवश्यक छ । विकास समितिले आफ्नै स्रोतबाट ५० शय्या सञ्चालन गरे पनि त्यो पर्याप्त छैन ।

भेरी अस्पतालको अर्को ठूलो चुनौती जनशक्तिको अभाव हो । आवश्यक दरबन्दीअनुसार चिकित्सक, नर्स, ल्याब, फार्मेसी, रेडियोग्राफी र प्रशासनिक कर्मचारी छैनन् । भएका कर्मचारीले अतिरिक्त जिम्मेवारी सम्हालिरहेका छन् । अस्पतालको दैनिक सेवा ठूलो संख्यामा करार र ज्यालादारी कर्मचारीको भरमा सञ्चालन भइरहेको छ । यिनै कर्मचारीले चौबीसै घण्टा सेवा दिँदै अस्पतालको प्रणाली चलाइरहेका छन् ।

वरिष्ठ चिकित्सकहरूका अनुसार भेरी अस्पतालमा आउने धेरै बिरामी जटिल अवस्थाका हुन्छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र निजी क्लिनिकबाट रेफर भएका बिरामीहरू यहाँ आउने भएकाले उपचारको दबाब झन् बढेको छ । विशेषगरी कर्णालीका दुर्गम जिल्लाका बिरामीका लागि भेरी अस्पताल जीवन बचाउने केन्द्र बनेको छ ।

भेरी अस्पतालले पछिल्ला वर्षहरूमा सिटी स्क्यान, डायलाइसिस, आईसीयू, एनआईसीयू, सिकलसेल उपचार, जटिल शल्यक्रिया, मातृ तथा नवजात शिशु सेवा, रक्तसञ्चार र अन्य विशेषज्ञ सेवाहरू विस्तार गरेको छ । यही कारण पनि बिरामीको आकर्षण दिनप्रतिदिन बढिरहेको छ।

भेरी अस्पतालमा देखिने भिड केवल व्यवस्थापनको समस्या होइन; यो जनताको विश्वास, सरकारी स्वास्थ्य सेवाप्रतिको निर्भरता र पश्चिम नेपालको स्वास्थ्य संरचनाको यथार्थ हो । यदि सरकारबाट पर्याप्त जनशक्ति, शय्या, पूर्वाधार र उपकरण थपिए भने यही अस्पताल अझ प्रभावकारी रूपमा लाखौँ नागरिकको जीवन बचाउने केन्द्र बन्न सक्छ । अहिलेको भिडले एउटै कुरा स्पष्ट गर्छ, भेरी अस्पतालमा मानिस उपचार मात्र खोज्न आउँदैनन्, उनीहरू आशा र जीवन बचाउने भरोसा लिएर आउँछन्।

Next Post

बर्दियाका चर्चद्वारा भोटेकोशी बाढीपीडितका लागि रु. ४ लाख २० हजारभन्दा बढी राहत हस्तान्तरण

२०८३ भाद्र १६, मंगलवार १२:३०
गुडन्युज, सम्बाददाता बर्दिया । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्लाका बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि बर्दियास्थित इसाई समुदायले उल्लेखनीय मानवीय सहयोग गरेको छ । इसाई समाज बर्दियाले जिल्लाभरिका चर्च तथा इसाई समुदायबाट संकलित रु. ४ लाख २० हजार ५८० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी त्यसको भौचर […]

सम्बन्धित शीर्षक