
डा. महेश शर्मा
आधुनिक चिकित्सा विज्ञानमा शल्यक्रिया (Operation) कुनै पनि रोगको उपचारको महत्वपूर्ण विधि मानिन्छ । तर शल्यक्रियाको सफलता मात्रै नभई बिरामीको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अप्रेशन (शल्यक्रिया) को नाम सुन्ने बित्तिकै धेरै बिरामी र तिनका आफन्तहरू तनावमा पर्छन । अधिकांश मानिसहरूको ध्यान शल्यक्रिया गर्ने सर्जन (शल्य चिकित्सक) मा मात्र केन्द्रित हुन्छ । तर शल्यक्रियाको सफलता र सुरक्षामा उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्ने अर्को चिकित्सक हुन् , एनेस्थेसियोलोजिस्ट । दुर्भाग्यवश, धेरैलाई यिनको काम र महत्त्वबारे जानकारी नै हुँदैन । एनेस्थेसियोलोजिस्ट को हुन् ? एनेस्थेसियोलोजिस्ट त्यस्ता विशेषज्ञ चिकित्सक हुन् जसले शल्यक्रियाको क्रममा बिरामीलाई निद्रामा राख्ने वा दुखाइरहित बनाउने (एनेस्थेसिया) दिने मात्र होइन, अप्रेशनभरी बिरामीको सास, मुटुको चाल, रक्तचाप र समग्र शारीरिक अवस्थालाई निरन्तर अनुगमन गर्ने काम पनि गर्छन । अप्रेशनअघि एनेस्थेसियोलोजिस्टसँग भेट गर्नु केवल औपचारिक प्रक्रिया मात्र होइन, यो बिरामीको सुरक्षा सुनिश्चित गर्ने, आवश्यक जानकारी दिने तथा बिरामीमा विश्वास र आत्मविश्वास बढाउने महत्वपूर्ण चरण हो जसले शल्यक्रियालाई सुरक्षित, प्रभावकारी र तनावरहित बनाउन ठूलो योगदान पुर्याउँछ, निष्कर्षमा, एउटा सर्जनले रोगको अप्रेशन गर्नुहुन्छ भने एनेस्थेसियोलोजिष्टले बिरामीलाई सुरक्षित राख्नुहुन्छ त्यसैले एनेस्थेसियोलोजिष्टलाई भेट्नु भनेको आफ्नो ज्यानको सुरक्षाको लागि डाक्टरलाई सहयोग गर्नु हो । एनेस्थेसियोलोजिष्टल चिकित्सकको भेटलाई कहिल्यै पनि हल्का रुपमा लिनुहुँदैन ।
किन भेट्नु आवश्यक छ ?
१. शल्यक्रिया टोलीबीच समन्वयः
एनेस्थेसियोलोजिस्टले केवल एनेस्थेसिया दिने मात्र होइन, सम्पूर्ण शल्यक्रिया टोलीसँग समन्वय गर्ने महत्वपूर्ण भूमिका पनि निर्वाह गर्छन्। अप्रेशनअघि भएको भेटघाटबाट सर्जन, नर्स तथा अन्य स्वास्थ्यकर्मीसँग आवश्यक जानकारी आदानप्रदान हुन्छ, जसले शल्यक्रियालाई अझ सुरक्षित र प्रभावकारी बनाउँछ ।
२.शरीरको समग्र मूल्याङ्कनः
एनेस्थेसियोलोजिष्टले बिरामी बेहोस भएको बेलामा शरीरका सबै अंगहरुले राम्रोसँग काम गरिरहेका छन् कि छैनन् भनेर हेर्नुपर्ने हुन्छ । त्यसैले भेटको बेला उहाँले यस्ता कुराहरु सोध्नुहुन्छः। उदाहरणका लागि
(क) तपाईंलाई मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, दम, थाइराइड जस्ता कुनै रोग छ कि छैन ?
(ख) यसअघि कुनै शल्यक्रिया वा एनेस्थेसिया भएको थियो कि थिएन, र त्यसबेला कुनै समस्या भएको थियो कि थिएन ?
(ग) तपाईं कुनै औषधि नियमित सेवन गरिरहनुभएको छ कि छैन ?
(घ) तपाइलाई कुनै औषधि, खानेकुरा वा अन्य कुनै कुराबाट एलर्जी छ कि छैन ?
(ङ) धुम्रपान, मद्यपान वा अन्य नशा गर्ने बानी छ कि छैन ?
यसबाट उहाँले अप्रेशनको बेला आउन सक्ने जोखिमको पहिले नै अनुमान लगाउन सक्नुहुन्छ ।
यदि रोगीलाई मधुमेह, उच्च रक्तचाप, मुटुको रोग वा अन्य कुनै पुरानो रोग छ भने निश्चेतक चिकित्सकले त्यसलाई ध्यानमा राखेर निश्चेतन योजना बनाउँछन् । उदाहरणका लागि, मधुमेह भएका रोगीलाई शल्यक्रियाअघि र शल्यक्रियापछि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ। यदि यस्तो मूल्याङ्कन नगरिएमा शल्यक्रियाको क्रममा गम्भीर जटिलता हुन सक्छ। त्यसैले निश्चेतक चिकित्सकसँगको भेटघाट रोगीको शारीरिक अवस्थाबारे पूर्ण जानकारी दिने माध्यम बन्छ ।
यस भेटघाटमा रगत जाँच, इ.सि.जी. छातीको एक्स–रे जस्ता रिपोर्टहरू पनि समीक्षा गरिन्छ, जसले बिरामीको समग्र स्वास्थ्य अवस्था बुझ्न मद्दत गर्छ।
३. निश्चेतनको सही प्रकार छनोटः
सबै अप्रेशनमा एउटै प्रकारको एनेस्थेसिया दिइदैन। कसैलाई पूर्ण बेहोस बनाउनुपर्छ, कसैलाई कम्मरमुनि मात्र लाटो बनाउनुपर्छ। बिरामीको रोग, अपरेशनको प्रकार, उमेर र स्वास्थ्य अवस्था हेरेर कुन एनेस्थेसिया सबैभन्दा सुरक्षित र उपयुक्त हुन्छ भन्ने निर्णय एनेस्थेसियोलोजिष्टले गर्नुहुन्छ।
उदाहरणका लागि, गर्भवती महिलाको शल्यक्रियामा निश्चेतनको प्रकार र मात्रा सामान्य रोगीभन्दा फरक हुन्छ। यदि रोगीले निश्चेतक चिकित्सकसँग भेट्ने अवसर पाउँदैन भने सही निश्चेतन विधिको छनोट गर्न कठिनाइ हुन्छ, जसले गर्दा शल्यक्रियाको सफलता प्रभावित हुन सक्छ। साना बालबालिका र वृद्धवृद्धाहरूमा एनेस्थेसियाको प्रभाव फरक हुन सक्छ। यस्तो अवस्थामा एनेस्थेसियोलोजिस्टले उमेर अनुसार मात्रा र प्रकार मिलाएर विशेष योजना तयार गर्छन्।
४. उपवास र निर्देशनः
शल्यक्रिया अघि रोगीले केही समयसम्म खाना र पानी नखाने (nil per oral) गर्नुपर्छ। यो नियम निश्चेतनको सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ । यदि रोगीले शल्यक्रियाअघि खाना खाएको अवस्थामा निश्चेतन दिइयो भने पेटको खाना फोक्सोमा गएर (Aspiration) रोगीको मृत्युसमेत हुन सक्छ । एनेस्थेसियोलोजिस्टले रोगीलाई शल्यक्रियाको समय, निश्चेतनको प्रकार र रोगीको उमेर अनुसार कति घण्टा अघिदेखि खाना र पानी नखाने भन्ने निर्देशन दिन्छन्। यस्ता निर्देशनहरू पालना नगरेमा शल्यक्रिया स्थगित हुन सक्छ वा गम्भीर जोखिम हुन सक्छ। त्यसैले निश्चेतक चिकित्सकसँगको भेटघाटले रोगीलाई सही निर्देशन प्राप्त गर्ने अवसर दिन्छ।
५.औषधि र एलर्जीको पहिचान
धेरै रोगीहरूले विभिन्न प्रकारका औषधिहरू नियमित रूपमा सेवन गरिरहेका हुन्छन्। कुनै औषधिहरू निश्चेतनसँग बाझिने (क्ष्लतभचबअत) हुन सक्छन्। उदाहरणका लागि, रगत पातलो पार्ने (Bloodthinner) औषधि सेवन गरिरहेका रोगीलाई शल्यक्रियाअघि यो औषधि बन्द गर्नुपर्ने हुन सक्छ। त्यसैगरी, कुनै रोगीलाई कुनै विशेष औषधि वा खाद्य पदार्थप्रति एलर्जी (Allergy) हुन सक्छ । यदि यस्तो एलर्जीबारे निश्चेतक चिकित्सकलाई जानकारी नभएमा निश्चेतनको क्रममा गम्भीर एलर्जिक प्रतिक्रिया (Anaphylaxis) हुन सक्छ, जुन रोगीको ज्यानै जानसक्ने खतरनाक अवस्था हो। त्यसैले शल्यक्रिया अघि निश्चेतक चिकित्सकसँग भेटघाट गरेर आफूले लिइरहेका सबै औषधिहरू र कुनै पनि एलर्जीबारे जानकारी दिनु अत्यन्त आवश्यक हुन्छ।
६.जोखिम मूल्याङ्कन र सुरक्षा योजनाः
रोगीको हृदय रोग, फोक्सोको रोग वा अन्य गम्भीर रोग छ भने निश्चेतक चिकित्सकले शल्यक्रियाको क्रममा रोगीको हृदय चाल, रक्तचाप, अक्सिजनको मात्रा लगायत विभिन्न कुराहरू निगरानी गर्ने योजना बनाउँछन्। प्रत्येक रोगीको शारीरिक बनावट र स्वास्थ्य अवस्था फरक–फरक हुन्छ। कुनै रोगीको गला र सास फेर्ने बाटो (Airway) सानो हुन सक्छ, जसले गर्दा निश्चेतन दिएपछि सास फेर्न गाह्रो हुन सक्छ। यस्तो अवस्थालाई “कठिन निश्चेतन“ (Difficult Airway) भनिन्छ। एनेस्थेसियोलोजिस्टले शल्यक्रिया अघि नै यस्तो समस्या पहिचान गरेर विशेष उपकरण र योजना तयार गर्छन्। यसबाहेक, यदि यस्तो जोखिम मूल्याङ्कन नगरिएमा शल्यक्रियाको क्रममा अप्रत्याशित समस्या आउँदा रोकथाम गर्न कठिन हुन्छ।
७.मानसिक तयारी र डर कम गर्नेः
शल्यक्रिया भन्ने बित्तिकै धेरै बिरामीहरू डराउँछन्। “के मलाई निश्चेतन दिँदा पीडा हुन्छ?“, “के म ब्यूँझँदा बेहोस हुन्छ ?“, “के म मर्छु कि?“ जस्ता प्रश्नहरू रोगीको मनमा हुन्छन्। एनेस्थेसियोलोजिस्टले रोगीसँग कुराकानी गरेर यस्ता डर र चिन्ताहरू कम गर्छन्। उनीहरूले रोगीलाई निश्चेतनको प्रक्रिया, शल्यक्रियापछि कस्तो अनुभव हुनेछ र पीडा नियन्त्रण (Pain Management) कसरी गरिनेछ भन्ने बारे जानकारी दिन्छन्। यसले रोगीको मानसिक तनाव कम गरेर शल्यक्रियाका लागि मानसिक रूपमा तयार गर्छ। मानसिक रूपमा तयार भएको रोगी शल्यक्रियापछि छिटो निको हुन्छ भन्ने वैज्ञानिक तथ्य पनि प्रमाणित भएको छ।
८.शल्यक्रियापछिको योजनाः
निश्चेतक चिकित्सकको काम शल्यक्रिया सुरु गर्ने मात्रै होइन, शल्यक्रियापछि रोगी ब्यूँझिने (Recovery) प्रक्रियामा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। शल्यक्रिया अघिको भेटघाटमा निश्चेतक चिकित्सकले रोगीलाई शल्यक्रियापछि कति समयमा ब्यूँझिने, केही समयसम्म अस्पतालमा रहनुपर्ने वा आईसीयू (क्ष्ऋग्) मा राख्नुपर्ने, सास फेर्नका लागि भेन्टिलेटर (Ventilator) आवश्यक पर्ने कि नपर्ने जस्ता कुराहरूबारे जानकारी दिन्छन्। यसले रोगी र उनको परिवारलाई शल्यक्रियापछिको अवस्थाबारे पूर्व तयारी गर्न मद्दत गर्छ। यदि रोगीको अवस्था गम्भीर छ भने निश्चेतक चिकित्सकले शल्यक्रियापछि विशेष निगरानी र उपचारको योजना बनाउँछन्।
९.कानुनी सहमति (Informed Consent):
एनेस्थेसियोलोजिस्टले बिरामी वा उनका परिवारलाई एनेस्थेसियासँग जोडिएका सम्भावित जोखिम, फाइदा र विकल्पहरूबारे स्पष्ट जानकारी दिन्छन्। यसपछि मात्र बिरामीले सहमति–पत्रमा हस्ताक्षर गर्छन्, जुन कानुनी र नैतिक दृष्टिकोणले पनि आवश्यक हुन्छ।
१०.बिरामी र परिवारको मनोवैज्ञानिक ढुक्कः
अन्तमा, यो भेटघाटले बिरामी मात्र होइन, उनको परिवारलाई पनि ढुक्क बनाउँछ, किनभने उनीहरूले शल्यक्रिया र एनेस्थेसियाको प्रक्रिया राम्ररी बुझ्न पाउँछन्।
१. पोस्ट अपरेटिभ दुखाई व्यवस्थापनः
एनस्थेसियोलोजिस्टले शल्यक्रियापश्चात हुने पीडा कसरी नियन्त्रण गरिनेछ (पेन ड्रिप, नर् ब्लक, एम्बुलेटरी औषधि) आदि योजना बनाउँछन्। राम्रो दुखार्ई व्यवस्थापनले छिटो स्वास्थ्यलाभ र अस्पताल बसाइ घटाउँछ।
सुझावहरू — बिरामीहरुले डाक्टरलाई भेटमा के सोध्ने ?
क) मलाई कुन प्रकारको एनस्थेसिया दिइनेछ ? किन त्यो उपयुक्त हो ?
ख) एनस्थेसियाको सम्भावित जोखिम/बाइप्रतिको के के हुन सक्छ ?
ग) औषधि/खाजा/पानी सम्बन्धि के निर्देश छ ?
घ) यसमा हुनसक्ने जटिलतामा के योजना छ ?
ङ) शल्यक्रियापछि कति समयमा सामान्य काममा फर्कन सकिन्छ ?
च) आपतकालीन अवस्थामा कसरी सम्पर्क गन ?
निष्कर्षः
आधुनिक चिकित्सा विज्ञानमा निश्चेतक चिकित्सकलाई “शल्यक्रियाको सुरक्षा अङ्ग“ (Guardian of Surgery) पनि भनिन्छ। त्यसैले कुनै पनि रोगीले शल्यक्रिया अघि निश्चेतक चिकित्सकसँगको भेटघाटलाई हल्का रूपमा नलिई पूर्ण रूपमा सहभागी हुनुपर्छ। यसले शल्यक्रियाको सफलता मात्रै होइन, रोगीको जीवन बचाउने काम पनि गर्छ। “सावधानी नै सुरक्षाको सबैभन्दा ठूलो आधार हो“ भन्ने उखान अनुसार शल्यक्रिया अघि निश्चेतक चिकित्सकसँगको भेटघाट नै रोगीको सुरक्षाको सबैभन्दा बलियो आधार हो।यही सावधानीपूर्ण तयारीले बिरामीको सुरक्षा, सहज उपचार र उत्कृष्ट नतिजा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छ।
डाक्टर शर्मा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एनेस्थेसियोलोजिस्ट हुनुहुन्छ ।


