काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारको लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पतालहरूको पिसिआर परीक्षण अनुमति खारेज गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रकव्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पतालहरूलाई प्रदान गरिएको पिसिआर परीक्षणको अनुमति खारेज गरिने जनाउनु भएको हो ।
साथै कोरोना संक्रमितको उपचारकै लागि एक तिहाई बेड नछुट्याउने मेडिकल कलेज वा प्रतिष्ठानहरूको पनि पिसिआर परीक्षण अनुमति खारेज गर्ने भनिएको छ।
पछिल्लो समय कोरोना संक्रमितको उपचारको लागि बेड अभाव रहन सक्ने भन्दै सरकारले सबै निजी अस्पतालहरूलाई २० प्रतिशत बेड कोरोना उपचारको लागि छुट्याउन निर्देशन दिएको छ।
यद्यपी निजी अस्पतालहरूले भने कोभिड र ननकोभिड विरामीलाई एकै ठाउँमा राखेर उपचार गर्न अव्यवहारिक हुने भन्दै बेड छुट्याउन आनाकानी गरेका छन्।
निजी अस्पतालहरू बेड छुट्याउन तयार नदेखिएपछि मन्त्रालयले यस्तो कदम चालेको हो । अहिले मन्त्रालयले निजीमा स्टार, मेडिसिटी, ह्याम्स, केएमसी अस्पताललाई पिसिआर परीक्षणको अनुमति प्रदान गरेको छ।
त्यस्तै प्रतिष्ठानहरूमा पाटन, विपी, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि पिसिआर परीक्षणको अनुमति दिइएको छ। सेतोपाटी