नेपालको पहिलो मोरिङ्गा सम्मेलन सर्लाहीमा सुरु, पोषण र हरित अर्थतन्त्रमा नयाँ अध्याय

  ।   २०८३ असार १३, शनिबार २२:१८

हेमन्त राज काफ्ले
सर्लाही । नेपालमा पहिलो पटक मोरिङ्गा (सजिवन) सम्बन्धी राष्ट्रिय सम्मेलन सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सुरु भएको छ। “स्वस्थ, सुपोषित, समृद्ध र सुन्दर परिवारका लागि मोरिङ्गा, राष्ट्र, हरित अर्थतन्त्र, वातावरण र प्रकृतिका लागि मोरिङ्गा” भन्ने नारासहित आयोजित दुईदिने सम्मेलनले मोरिङ्गाको खेती, उपयोग, व्यवसायीकरण तथा यसको पोषण र औषधीय महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।

सम्मेलनको उद्घाटन गर्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले गाउँपालिकाले विगत केही वर्षदेखि मोरिङ्गा खेती विस्तार अभियान सञ्चालन गर्दै आएको र स्थानीय किसान तथा घरपरिवारलाई हजारौँ मोरिङ्गाका बिरुवा निःशुल्क वितरण गरिएको जानकारी दिए । उनले मोरिङ्गाले जनस्वास्थ्य सुधार, ग्रामीण आयआर्जन वृद्धि तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।सम्मेलनमा नेपालका सातै प्रदेशबाट आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्यमी, स्वास्थ्यकर्मी, विद्यार्थी तथा मोरिङ्गा अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

अन्तर्राष्ट्रिय वक्तामध्ये डा. प्याट्रिक चउ (अमेरिका), Moringa for Love का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत, प्रमुख आकर्षण बन्नुभयो । विश्वभर “ग्लोबल मोरिङ्गा फादर” का रूपमा परिचित उहाँले कुपोषण न्यूनीकरण, जनस्वास्थ्य सुधार, गरिबी उन्मूलन तथा वातावरण संरक्षणका लागि मोरिङ्गालाई प्रभावकारी समाधानका रूपमा प्रस्तुत गर्दै विश्वव्यापी सहकार्यको आवश्यकता औँल्याउनु भयो ।त्यसैगरी, मलेसियाकी पुरस्कारप्राप्त कुकबुक ‘Moringalicious’ की लेखिका मोहाना गिलले अनलाइनमार्फत मोरिङ्गालाई स्वादिष्ट र पौष्टिक दैनिक आहारमा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिनुभयो ।

घानाका जोशुआ हरुना, Africa Moringa Hub का संस्थापक तथा कार्यकारी निर्देशकले मोरिङ्गा उद्यमशीलता, अन्तर्राष्ट्रिय बजार, मूल्य शृंखला विकास तथा विश्वव्यापी साझेदारीका सम्भावनाबारे धारणा राख्दै नेपाली उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसँग जोडिन प्रेरित गर्नु भयो ।राष्ट्रिय वक्ताका रूपमा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह, कोशी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तरानाथ निरौला, मधेश प्रदेशका पूर्व अर्थसचिव किरण रुपाखेती तथा अन्तर्राष्ट्रिय मोरिङ्गा अभियन्ता हेमन्त राज काफ्ले (मोरिङ्गा बाबा) ले मोरिङ्गाले नेपालको पोषण सुधार, खाद्य सुरक्षा, रोजगारी सिर्जना र हरित अर्थतन्त्रमा पुर्‍याउन सक्ने योगदानबारे प्रकाश पार्नु भयो ।

चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय किशोर सालेका अनुसार सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, किसान, स्वास्थ्यकर्मी, उद्यमी तथा मोरिङ्गा अभियन्ताहरूको देशभरबाट सहभागिता रहेको छ ।कार्यक्रममा स्थानीय उद्यमीहरूले उत्पादन गरेका मोरिङ्गा-आधारित खाद्य पदार्थ, जडीबुटीजन्य औषधि, सौन्दर्य सामग्री तथा अन्य मूल्य अभिवृद्धि गरिएका उत्पादनहरूको प्रदर्शनी समेत राखिएको थियो । सहभागीहरूले विभिन्न पौष्टिक मोरिङ्गा परिकारको स्वाद पनि लिन पाउनु भयो ।

सम्मेलनमा प्रस्तुत अनुसन्धानअनुसार मोरिङ्गामा भिटामिन ए, सी, ई, फलाम, पोटासियमलगायत आवश्यक पोषक तत्त्व प्रशस्त मात्रामा पाइन्छ । यसले कुपोषण न्यूनीकरण, प्रतिरक्षा प्रणाली सुदृढीकरण, रक्तचाप नियन्त्रण, मधुमेह व्यवस्थापन, पाचन सुधार तथा जोर्नी दुखाइ कम गर्न सहयोग पुर्‍याउने विज्ञहरूको भनाइ छ।नेपालमा पहिलो पटक मोरिङ्गालाई केन्द्रमा राखेर आयोजना गरिएको यस सम्मेलनलाई दिगो कृषि, जनस्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण तथा हरित अर्थतन्त्र निर्माणतर्फको ऐतिहासिक कदमका रूपमा हेरिएको छ । सहभागीहरूले सम्मेलनले अनुसन्धानकर्ता, नीति निर्माता, उद्यमी र समुदायबीच सहकार्यलाई थप मजबुत बनाउँदै नेपाललाई विश्वव्यापी मोरिङ्गा अभियानको उदाउँदो केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Next Post

गैरसरकारी संस्था महासंघ नेपाल बाँकेमा नयाँ नेतृत्व: मन भण्डारी अध्यक्ष निर्वाचित

२०८३ असार १३, शनिबार २२:१८
सबिता चन्द नेपालगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, बाँकेको नेतृत्व अब नयाँ टोलीको काँधमा पुगेको छ । आइतबार सम्पन्न १०औँ अधिवेशन तथा २३औँ वार्षिक साधारणसभाबाट सामाजिक क्षेत्रका सक्रिय व्यक्तित्व तथा बास नेपालका पूर्वअध्यक्ष मन भण्डारी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले गैरसरकारी संस्थाहरूबीच आपसी सहकार्य, सुशासन, […]