भनिन्छ “हुने बिरुवाको चिल्लो पात ” भन्ने नेपाली उखान हामी सबैलाई थाहा छदैछ । अधिकांशले गाउँ घरमा बाल्यकालमा देखिएको लक्षण हेरेर नै ब्यक्तिको भविष्यबारे आकंलन गर्ने गर्छन ।
धेरै जसो मानिसहरुले बाल्यकाल देखि नै लाइनमा लागेर भबिष्य सफल बनाएका पनि हुन्छन । आफ्नो चाहना अनुसार पेशा, ब्यबसाय देखि बिभिन्न क्षेत्रमा सफलता हासिल गरेका यस्तै सफल ब्यक्ति हाम्रो समाजकालागि समेत उदाहरणीय पात्र हुने गर्दछ । ति मध्येका एक हुन, नेपालगन्जका सफल व्यवसायी टंक बहादुर धामी । छोरालाई डाक्टर वा इन्जिनियर बनाउने घरपरिवारको सपना रहेपनि उनको रुची भने ब्यापार, व्यवसाय गर्ने रहेको थियो । आफ्नै रुचि पछ्याउँदै पश्चिम नेपालकै सफल व्यवसायी बनेका धामी जीवनमा त्यतिबेला सबै भन्दा धेरै खुसि भए जब भारतको गुजरातमा वाचमेन काम गरेर उनले पहिलोपटक २ हजार ५ सय रुपैयाँ भारु तलब बुझे ।
वि.स. २०३४ साल जेठ १८ गते सुदूरपश्चिमको दुर्गम जिल्ला अछामको विनायकमा बुवा दिल बहादुर धामी र आमा धनादेबी धामीको कोखबाट टंकबहादुर धामीको जन्म भएको थियो । पहाडी जिल्लाको उत्पादनले नपुग्ने भएपनि बुवा सरकारी जागिरे भएका कारण धामीको बाल्यकालमा आर्थिक अभाव झेल्नुपर्ने अवस्था भने आएन, तरपनि वर्षको आधा समय किनेरै खानुपर्ने बाध्यता रहेको उनि बताउँछन । बुबा शिक्षित भएकै कारण उनले गाउँकै विद्या मन्दिरबाट एस.एल.सी. पास गरे । एस.एल.सी. पास गरेपछि धामी थप अध्धयनका लागि राजधानि काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भई आइ.ए. पास गरे ।
बाल्यकाल देखि नै व्यवसायमा रुचि
धामीका बुवाको सोचाई छोरालाई इन्जिनियर नै बनाउने थियो, तर धामीको सोच भने व्यावसायी बन्ने थियो । कक्षा ८ देखि मंगलसेनमा रहेको मामा घरमा बस्दै गर्दा उनले आफ्नो व्यावसायिक जीवनको पहिलो यात्रा सुरु गरेका थिए । ८ कक्षा देखि मामा घरमा बस्न थाले, मामाको रेडिमेड फेन्सी पसल थियो, उनले आफ्नो बाल्यकाल सम्झिदै भने, मामासंगै व्यवसाय कसरि गर्ने भन्ने सिके, अनि भविष्यमा पनि आफ्नै व्यवसाय गर्छु भन्ने उद्देश्य लिएँ ।
हाल धामी नेपालकै चर्चित व्यापारी केन्द्र नेपालगन्ज शहरमा सफल व्यवसायीको रुपमा उदयमान रहेका छन् । व्यापारीहरुको समस्यामा जतिसुकै बेलामा पनि सहयोग गर्न अगाडि सर्ने धामी नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न भदौ २ गते हुने निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार रहनु भएको छ । उहाँको जित सुनिश्चित भएको स्थानीय व्यापारी व्यवसायीहरुले बजारमा भन्ने गरेका छन् ।