सबिता चन्द
नेपालगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, बाँकेको नेतृत्व अब नयाँ टोलीको काँधमा पुगेको छ । आइतबार सम्पन्न १०औँ अधिवेशन तथा २३औँ वार्षिक साधारणसभाबाट सामाजिक क्षेत्रका सक्रिय व्यक्तित्व तथा बास नेपालका पूर्वअध्यक्ष मन भण्डारी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले गैरसरकारी संस्थाहरूबीच आपसी सहकार्य, सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउँदै बाँकेको समग्र सामाजिक विकासमा महासंघलाई प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासंघको नयाँ कार्यसमितिमा उपाध्यक्षमा सीप नेपाल, कोहलपुरका अध्यक्ष ताराप्रसाद खत्री रेग्मी, सचिवमा जय बागेश्वरी बाल संरक्षण केन्द्र, राप्तीसोनारीकी तारा ओली, सहसचिवमा रेष्ट नेपालका गणेश भट्टराई तथा कोषाध्यक्षमा फातिमा फाउन्डेसनकी सुबेदा फरहिन निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरूमा बाँके युनेस्को क्लबका गुमाल गौश, दलित महिला संघ (फेडो) की दिलिशा गौतम, बाँके नेत्रहीन संघका भावुकजङ्ग थापा, युवा घरका शिवकुमार बर्मा, बिग्रुपकी सुशीला श्रेष्ठ, ईन्रुडेकका टिकाराम रिजाल, सहयात्रीकी अञ्जना चतुर्वेदी, कमिट नेपालका प्रकाश बादी तथा समाज सेवा संस्थाका बिनोद थापा निर्विरोध निर्वाचित हुनुभएको छ।
निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार प्रत्यक्ष निर्वाचित १४ सदस्यीय कार्यसमितिबाट पदाधिकारी चयन गरिएको हो। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई महासंघका केन्द्रीय महासचिव देवी खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो।
त्यसैगरी, अधिवेशन सम्पन्न भएपछि बसेको कार्यसमिति बैठकले रिक्त रहेका दुई सदस्य पदमा स्याक नेपालकी बबिता सिंह र सामुदायिक प्रहरी सेवा केन्द्रका दीपेन्द्र जोशीलाई मनोनयन गर्ने निर्णय गरेको छ।
नयाँ नेतृत्व चयनसँगै बाँकेका गैरसरकारी संस्थाहरूबीच समन्वय, साझेदारी र सामाजिक रूपान्तरणका अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। विकास, सुशासन, सामाजिक न्याय र नागरिक सशक्तीकरणका क्षेत्रमा महासंघले अब अझ सशक्त भूमिका निर्वाह गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।


