सबिता चन्द
नेपालगन्ज । बाँके क्षेत्र नं. २ को चुनावी मैदानमा पछिल्ला दिनहरूमा देखिएको एक दृश्यले स्थानीय राजनीतिक वृत्तलाई ध्यान दिन बाध्य बनाएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले देखाएको सक्रियता, बहुवर्गीय पहुँच र निरन्तर घरदैलो अभियानले प्रतिस्पर्धीहरूलाई दबाबमा पारेको चर्चा छ।
बिष्टको अभियानको विशेषता केवल सभामञ्च वा नाराबाजीमा सीमित देखिँदैन। उहाँले क्षेत्रका सबै वडा, गाउँ र बस्तीमा पुगेर प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिनुभएको छ । सर्वसाधारणसँगको प्रत्यक्ष संवाद, उनीहरूको गुनासो सुन्ने र समाधानका प्रतिबद्धता जनाउने शैलीले मतदातामा आत्मीयता पैदा गरेको स्थानीय बासिन्दाहरू बताउँछन्। “हामीकहाँ चुनावअघि मात्रै होइन, समस्या सुन्ने गरी आउनुभएको छ,” एक वृद्ध मतदाताले भने।
यसपटकको चुनावमा सबै धर्म, समुदाय, जात र लिङ्गका मतदातालाई सम्मान गर्ने सन्देशलाई बिष्टले अभियानको केन्द्रमा राखेका छन्। यही सन्दर्भमा सोमबार पहाडी समुदायको पर्व होलीका अवसरमा उहाँले सहरका विभिन्न टोलहरूमा पुगेर शुभकामना आदान–प्रदान गर्नु भएको थियो । महिला, पुरुष, मधेसी, मुस्लिम समुदायका सदस्यहरूसँग घुलमिल भई आशिर्वाद लिने र मतदानको अपिल गर्ने उहाँको शैलीले समावेशी छविलाई थप मजबुत बनाएको समर्थकहरूको दाबी छ।
राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी प्रतिस्पर्धामा केवल संगठनात्मक बल पर्याप्त हुँदैन; मतदातासँगको प्रत्यक्ष पहुँच र भावनात्मक सम्बन्धले निर्णायक भूमिका खेल्छ। यही ठाउँमा बिष्टले स्पष्ट छलाङ मारेको मूल्यांकन गरिएको छ। युवापुस्तामा देखिएको उत्साह, सामाजिक सञ्जालमा सक्रिय समर्थन र समुदायगत कार्यक्रममा निरन्तर उपस्थितिले उहाँको अभियानलाई गतिशील बनाएको छ।
यसको विपरीत, अन्य प्रतिद्वन्दीहरूको अभियान अपेक्षाकृत परम्परागत शैलीमा सीमित रहेको आरोप स्थानीय स्तरमा सुनिन्छ। केही प्रतिस्पर्धी उम्मेदवारहरू ठूला सभा र औपचारिक कार्यक्रममा केन्द्रित देखिएका छन् भने टोल–टोल पुगेर प्रत्यक्ष संवाद गर्ने गतिविधि कम भएको गुनासो छ। कतिपय मतदाताले “पुरानै भाषण, पुरानै वाचा” दोहोरिएको प्रतिक्रिया दिएका छन्।
अनुभव र राजनीतिक विरासतका आधारमा बलियो मानिएका प्रतिस्पर्धीहरू पनि यसपटक युवामाझ आकर्षण कायम गर्न संघर्षरत देखिन्छन्। विश्लेषकहरू भन्छन्, मतदाताको मनोविज्ञानमा परिवर्तन आएको छ। उनीहरू केवल दलगत पहिचानमा सीमित नरही व्यक्तित्व, पहुँच र प्रतिबद्धतालाई आधार बनाउन थालेका छन्। यही परिवेशमा बिष्टको युवा छवि र समावेशी सन्देशले प्रतिस्पर्धीहरूको रणनीतिलाई चुनौती दिएको छ।
Your message has been sent
चुनावी इतिहासले देखाएको छ—अन्तिम चरणमा मतदाताले आफूलाई सम्मान र प्राथमिकता दिने उम्मेदवार रोज्ने प्रवृत्ति बलियो हुन्छ। बाँके–२ मा देखिएको हालको माहोलले त्यही संकेत दिएको स्थानीय पर्यवेक्षकहरूको भनाइ छ।
यद्यपि, चुनावी मैदानमा अन्तिम निर्णय मतपेटिकाले मात्र दिन्छ। तर अहिलेको सक्रियता, बहुवर्गीय समर्थन र प्रत्यक्ष भेटघाटको निरन्तरताले दिपेन्द्र बिष्टलाई स्पष्ट अग्रस्थानमा देखाएको विश्लेषण बढ्दो छ। प्रतिस्पर्धीहरूका परम्परागत कमजोरी—सीमित पहुँच, औपचारिक कार्यक्रममै निर्भरता र युवासँग कम संवाद—यसपटक निर्णायक बन्न सक्छन् भन्ने आकलन गरिएको छ।
अब बाँकी छ केही दिन। प्रचारका स्वरहरू शान्त हुँदै जाँदा मतदाताको मनमा बसेको प्रभाव नै निर्णायक हुनेछ। तर यतिखेरको परिदृश्य हेर्दा बाँके–२ मा युवा नेतृत्वको छलाङले चुनावी समीकरणलाई नयाँ दिशातर्फ मोडेको स्पष्ट संकेत देखिएको छ।



