प्रदेश–५ को राजधानी भालुवाङ, नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

  ।   २०७७ आश्विन १६, शुक्रबार १८:५२
      प्रदेश– ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ।

बुटवल । प्रदेश नम्बर– ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ ।

शुक्रबार सरकारका तर्फबाट प्रदेश– ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव दर्ता गराउनुभएको हो ।

मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेस भएको जानकारी दिनुभयो ।

प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ ।

गत पुसमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गर्नुभएको थियो ।

पोखरेलकै आग्रहमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश(५ को राजधानी दाङ–देउखुरी तोक्न सहमत भएको बताइएको छ ।

वाग्मती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो ।

उक्त प्रस्ताव प्रदेशसभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।

यसअघि, गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुंगो लगाइसकेका छन् । प्रदेश नम्बर– १ र प्रदेश नम्बर– २ ले भने नाम र राजधानीबारे टुंगो लगाउन सकेका छैनन् ।

प्रदेश– ५ मा प्रदेश राजधानी रुपन्देही बनाउने कि दाङलाई बनाउने भन्ने विषयमा विवाद थियो । प्रदेश मन्त्रिपरिषद्को यो निर्णयसँगै अब उक्त विवाद टुंगिएको छ ।

प्रदेशसभाको अर्को बैठक यही असोज १९ गते बोलाइएको छ ।

Next Post

४२ जना संक्रमित घर फर्किदै

२०७७ आश्विन १६, शुक्रबार १८:५२
नेपालगन्ज/बाँकेका विभिन्न आइसोलेसनबाटा ४२ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्किदै छन् । भोलि सनिवार १९ जना महिला र २३ जना पुरुषहरुले कोरोनालाई जितेर घर फर्किन लागेका हुन । अहिले सम्म विभिन्न आइसोलेसनमा ४०० जना संक्रमितहरु उपचाररत छन् । जम्मा १ हजार ९ सय ९३ जना संक्रमित मध्य १ हजा […]