जेन-जी आन्दोलनलाई समर्थन, दमनलाई नरसंहारको संज्ञा: प्रचण्ड

  ।   २०८२ भाद्र २६, बिहीबार ०९:५७

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै जारी गरेको विस्तृत वक्तव्यमार्फत ‘जेन-जी आन्दोलन’प्रति समर्थन जनाउँदै आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै परिवारजनप्रति सहानुभूति व्यक्त गर्नु भएको छ ।

उहाँले सामाजिक सञ्जाल प्रतिबन्ध लगाएर सुरु गरिएको आन्दोलनलाई सरकारले पहिलो दिनमै बर्बर दमन गर्दै युवाहरूमाथि गोली प्रहार गरेर नरसंहार मच्चाएको आरोप लगाउनु भयो । सरकारको यस्तो कदम लोकतान्त्रिक मूल्य र जनताको आवाज कुल्चने प्रवृत्ति भएको भन्दै प्रचण्डले त्यसलाई अक्षम्य अपराधको संज्ञा दिनुभयो ।

आन्दोलनको दोस्रो दिन सार्वजनिक संरचना, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, बैंक तथा व्यवसायिक भवनमा तोडफोड, आगजनी र लूटपाट भएपनि ती घटनाहरू जेन-जी पुस्ताले नगरेको दाबी उहाँले गर्नुभएको छ । उहाँका अनुसार, आन्दोलनभित्र प्रतिगामी तत्व घुसेर उपलब्धि उल्ट्याउने प्रयास गरेका छन्। यसबारे उच्चस्तरीय न्यायिक छानबिन आवश्यक रहेको उहाँको भनाइ छ।

उहाँले कांग्रेस–एमाले गठबन्धनलाई वर्तमान संकटको मूल कारण ठहर गर्दै चौध महिनाअघि मध्यरातमा सुरु भएको असंवैधानिक गठबन्धनकै परिणामस्वरूप आजको परिस्थिती सिर्जना भएको आरोप लगाउनु भयो । ओली नेतृत्वमा सरकार बनेको प्रारम्भदेखि नै आफूले चेतावनी दिए पनि संवेदनहीनता र दम्भकै कारण सरकारले जनताको धैर्यताको बाँध तोड्ने परिस्थिति बनाएको उहाँको टिप्पणी छ।

प्रचण्डले आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै जनयुद्ध, १२ बुँदे सहमति, शान्ति सम्झौता र संविधान निर्माणसम्मको उपलब्धि उल्लेख गर्नुभयो । उहाँले दलित, महिला, आदिवासी, मधेसी, मुस्लिम, थारुलगायत वञ्चित समुदायको अधिकार सुनिश्चित हुनु नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताउनु भयो। तर संविधान कार्यान्वयनमा कमजोरी देखिएको स्वीकार गर्दै आत्मसमिक्षा गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री नबन्ने व्यवस्था र सम्पत्ति छानबिन आयोग गठनजस्ता अघिल्ला फरक मत आज पनि सान्दर्भिक रहेको प्रष्ट पार्नु भयो । जेन-जी पुस्ताले उठाएका माग पनि यिनै मुद्दामा केन्द्रित भएकाले आन्दोलनलाई उन्नत लोकतन्त्रतर्फको यात्रा ठहर गर्दै उहाँले त्यसप्रति सकारात्मक दृष्टिकोण व्यक्त गर्नुभयो ।

उहाँले आन्दोलनभित्र घुसेका प्रतिगामी शक्तिबाट उपलब्धि उल्ट्याउने प्रयास भइरहेको चेतावनी दिँदै लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्र मात्रै भएको बताउनु भयो । माओवादी केन्द्रलाई अन्य दलसँग मिलाएर चित्रण गर्ने प्रयासलाई अस्वीकार गर्दै उहाँले आफ्नो पार्टी अग्रगामी परिवर्तनप्रति अडिग रहेको दोहोर्‍याउनु भयो ।

वक्तव्यको अन्त्यमा उहाँले राष्ट्रपति, नेपाली सेना र सुरक्षा निकायको वर्तमान भूमिकाको प्रशंसा गर्दै शान्तिपूर्ण संवादमार्फत संविधानसम्मत समाधान खोज्न सबै राजनीतिक शक्ति, नागरिक समाज र जनसमुदायलाई आह्वान गर्नु भयो । उहाँले संयमता, उच्च सुझबुझ र संवादकै बाटोबाट मात्रै निकास सम्भव हुने बताउँदै लोकतन्त्र र संविधानको रक्षा गर्न दृढ रहन सबै पक्षलाई आग्रह गर्नुभयो ।

Next Post

जेन–जी आन्दोलनमाथि भएको दमनप्रति माओवादी केन्द्र बाँकेको आपत्ति, सहिद युवाप्रति श्रद्धाञ्जली

२०८२ भाद्र २६, बिहीबार ०९:५७
नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाँके जिल्ला समन्वय समितिले प्रेस विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताले भ्रष्टाचार र सुशासनका पक्षमा सुरु गरेको आन्दोलनमाथि राज्यद्वारा भएको क्रुर दमनप्रति तीव्र आपत्ति जनाएको छ । विज्ञप्तिमा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको […]

सम्बन्धित शीर्षक