कोहलपुर नगरपालिकाको सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

  ।   २०८२ असार २४, मंगलवार १८:२५

सबिता चन्द
नेपालगन्ज । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न योजनाहरूको सामाजिक परीक्षण अन्तर्गत प्रारम्भिक प्रतिवेदन प्रस्तुतिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। बास नेपाल (BAS Nepal) को सहजीकरणमा कोहलपुरमा आयोजित कार्यक्रममा प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १०, दफा ७८ को उपदफा ५ अनुसार, स्थानीय तहले प्रत्येक आर्थिक वर्षमा सामाजिक परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही प्रावधानको कार्यान्वयन गर्दै कोहलपुर नगरपालिकाले सामाजिक परीक्षण प्रक्रिया अपनाएको हो, जसअन्तर्गत नगरपालिकाले आफ्नो सामाजिक जिम्मेवारी, पारदर्शिता, जवाफदेहिता र कार्य सम्पादनको मूल्याङ्कन गरेको छ ।

बास नेपालका कार्यक्रम प्रबन्धक तथा सामाजिक परीक्षक मन भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक परीक्षणका क्रममा प्रयोग गरिएका विधि—सन्दर्भ सामग्रीको समीक्षा, अन्तर्वार्ता, स्थलगत अवलोकन, समूह छलफल तथा तथ्यांक संकलन र विश्लेषण—को आधारमा तयार पारिएको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा नगरपालिकाको राम्रा अभ्यास, मुख्य उपलब्धि, विद्यमान समस्या, चुनौतीहरू तथा आगामी दिनमा ध्यान दिनुपर्ने पक्षहरू समेटिएका छन्।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्कीले सामाजिक परीक्षणले दिएको सुझावलाई पालिकाले आगामी योजना तर्जुमामा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले सामाजिक परीक्षणले विकास योजनाको प्रभाव मूल्याङ्कन गर्न सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत मानबहादुर गिरीले सामाजिक परीक्षणबाट नगरपालिकाले मूल्यवान सुझावहरू प्राप्त गरेको उल्लेख गर्दै भन्नुभयो, “यस्ता अभ्यासहरूले स्थानीय सरकारको सेवा, योजना र कार्यक्रममा पारदर्शिता, जवाफदेहिता र सुशासन सुनिश्चित गर्न सहयोग पुग्छ।” उहाँले अभिलेखिकरणमा कमजोरी रहेको स्वीकार गर्दै आगामी दिनमा अभिलेख व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रम बास नेपालका निर्देशक हेमराज भट्टको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नगरका जनप्रतिनिधिहरू, शाखा प्रमुखहरू, स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो।

Next Post

स्वर्गीय सीता दाहालको स्मृति दिवसमा अध्यक्ष प्रचण्डको मानव सेवा आश्रममा उपस्थितिः मानवीय सेवामा माओवादीको निरन्तर साथ रहने प्रतिबद्धता

२०८२ असार २४, मंगलवार १८:२५
काठमाडौं ।  समग्र माओवादी आन्दोलनकी अभिभाविका स्वर्गीय सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मानव सेवा आश्रम, रानीवन पुग्नु भयो । उहाँले आश्रममा आश्रित वृद्धवृद्धा तथा असहाय महानुभावहरूसँग आत्मीयता प्रकट गर्दै शुभेच्छा आदानप्रदान गर्नुभयो र उहाँहरूसँगै भोजन गरि सादगीपूर्ण […]