बिद्युतको मनपरीविरुद्ध नेपालगन्ज सत्याग्रह: नागरिक समाजद्वारा नेपाल बिद्युत प्राधिकरणलाई ज्ञापनपत्र

  ।   २०८२ जेष्ठ ३०, शुक्रबार १५:५४

सबिता चन्द
नेपालगन्ज । नेपालको अत्यधिक गर्मी झेल्ने शहरहरूमध्ये एक, नेपालगञ्जमा गर्मीयाम सुरु हुनासाथ फेरि पनि बिद्युत आपूर्तिको अनियमितता दोहोरिएको भन्दै स्थानीय नागरिक समाजले असन्तुष्टि जनाउँदै नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रलाई औपचारिक ज्ञापनपत्र बुझाएको छ।

“भ्रष्टाचारविरुद्ध शुद्धिकरण (सत्याग्रह)” शीर्षकमा आयोजित कार्यक्रम बास नेपालको अगुवाइमा सम्पन्न भएको छ, जसमा स्थानीय नागरिक समाजका अगुवा, गैरसरकारी संस्था तथा युवा समूहहरूका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाउनु भयो ।

आधा घण्टा धर्ना, तीव्र असन्तुष्टि
नेपालगन्जको वितरण केन्द्र अगाडि आयोजित आधा घण्टे धर्नामा बोल्दै नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठले चर्को गर्मीका बेला प्राधिकरणको मनपरीले जनजीवन प्रभावित बनाएको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो, “हामी हरेक वर्ष उस्तै सास्ती खेपिरहेका छौं, यसले आम नागरिकको स्वास्थ्य र जीवनस्तरमा प्रत्यक्ष असर गरिरहेको छ।”
कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्राधिकरणले प्राविधिक बहानामा जनतालाई झुक्याउने गरेको टिप्पणी गर्नु भयो । उहाँका अनुसार, “अघोषित रूपमा लोडसेडिङ गर्नु अदालतको आदेशको समेत उल्लंघन हो।”

ज्ञापनपत्र हस्तान्तरण र प्रमुखको आश्वासन
कार्यक्रमको प्रमुख बिन्दुका रूपमा नागरिक प्रतिनिधिहरूले प्राधिकरणका निमित्त प्रमुख बुद्धिसागर भुसाललाई ज्ञापनपत्र हस्तान्तरण गर्नु भयो । ज्ञापनपत्रमा भनिएको छ कि नेपालगन्ज “लोडसेडिङ मुक्त क्षेत्र” घोषणा गरिए पनि व्यवहारमा अघोषित लोडसेडिङ हुँदै आएको छ, जुन कानुनी र नैतिक रूपले आपत्तिजनक हो । निमित्त प्रमुख भुसालले ज्ञापनपत्र बुझ्दै समस्या समाधानका लागि गम्भीर पहल गरिने आश्वासन दिनुभएको छ ।

ज्ञापनपत्रको मुख्य मागहरू
ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमुख मुद्दाहरू
• बिद्युत अवरुद्ध हुने स्थान र समयबारे पूर्व जानकारी नदिइएको।
• गुनासो व्यवस्थापन प्रणालीको अभाव ।
• टोल-फ्रि नम्बरको अव्यवस्थित र गैरजिम्मेवार प्रयोग ।
• अदालतको आदेशको अवज्ञा गर्दै अघोषित रूपमा लोडसेडिङ हुनु ।
• नागरिकलाई सुसूचित गर्ने दायित्वमा उदासीनता ।
ज्ञापनपत्रमा भनिएको छ, “प्राधिकरणले प्राविधिक कारणको नाममा सेवा अवरुद्ध गर्दै जनतालाई सास्ती दिने कार्य गैरजिम्मेवारीपनको पराकाष्ठा हो।”

चेतावनी र आगामी योजना
कार्यक्रमको अन्त्यमा, बास नेपालका कार्यकारी निर्देशक, नागरिक अगुवाहरू, गैसस महासंघका पदाधिकारी, र विभिन्न युवा तथा नागरिक संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरिएको ज्ञापनपत्रमा चेतावनी दिइएको छ  । “यदि तुरुन्त सुधार भएन भने चरणबद्ध दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुनेछौं ” भन्दै चेतावनी दिइएको छ ।

हस्ताक्षरकर्ताहरू
ज्ञापनपत्रमा हस्ताक्षर गर्ने व्यक्तिहरू
• नमस्कार शाह – केन्द्रीय सचिव, गैसस महासंघ नेपाल
• शिव कुमार बर्मा – केन्द्रीय अध्यक्ष, बास नेपाल
• हेमराज भट्ट – अध्यक्ष, नाइस नेपालगञ्ज
• जानकी बिक – सहसचिव, युवा घर
• मन भण्डारी – उपाध्यक्ष, गैसस महासंघ बाँके
• रमेश सिटौला – अध्यक्ष, भ्वाइस नेपालगन्ज

विश्लेषणात्मक टिप्पणी:
नेपालगन्जको गर्मीयाममा बिद्युतको अभाव केवल सुविधा नभई मानवीय पीडाको विषय बन्न थालेको स्पष्ट देखिन्छ। “लोडसेडिङ मुक्त” घोषणा गरिएको क्षेत्रमै जब अघोषित रुपमा घण्टौं बत्ती जान्छ, त्यो उपभोक्तामाथिको अन्याय मात्र होइन, नैतिक र प्रशासनिक बेइमानी पनि हो। खासगरी प्राधिकरणको सूचना प्रणाली, गुनासो सुनुवाई संयन्त्र, र जनउत्तरदायित्वप्रति देखिएको उपेक्षा गम्भीर चिन्ताको विषय हो भन्दै सर्वत्र आवाज उठाइदै आएको पाइन्छ ।

सत्याग्रहजस्ता नागरिक आन्दोलनहरू केवल असन्तुष्टि प्रदर्शन नभई संस्थागत उत्तरदायित्वको पुनः स्मरण पनि हुन्। यो ज्ञापनपत्र जनउत्तरदायी सेवा प्रवाह का लागि एउटा सकारात्मक दबाब हो भने प्राधिकरणको प्रतिक्रिया अब यसको मूल्यांकनको आधार बन्नेछ।

Next Post

बर्दिया जिल्लाका चार पालिकाका युवाहरु सहभागि युवा भेला सम्पन्न

२०८२ जेष्ठ ३०, शुक्रबार १५:५४
नेपालगन्ज । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, […]