भेरी अस्पतालमा एमडी/एमएस पढाइ सुरु हुँदै : सेवा र शैक्षिक विकासको नयाँ युगको शुरुवात

  ।   २०८२ जेष्ठ ३०, शुक्रबार १२:३८


सबिता चन्द
नेपालगन्ज । पश्चिम नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था भेरी अस्पतालमा आगामी असार महिनाको दोस्रो साताबाट एमडी/एमएस तहको पढाइ सुरु हुने पक्का भएको छ। भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदीका अनुसार सुरुआती चरणमा मेडिसिन, सर्जरी, गाइनेकोलोजी र अर्थोपेडिक्स विषयमा एमडी कार्यक्रम सञ्चालन हुनेछ।

छ विद्यार्थीबाट सुरुवात
शुरुवातमा मेडिसिन र सर्जरीमा दुई/दुई जना तथा गाइने र अर्थोपेडिक्समा एक/एक जना गरी छ जना विद्यार्थी भेरी अस्पतालमा एमडी अध्ययनका लागि आउने भएका छन् । यसले भेरी अस्पताललाई चिकित्साशास्त्रको शिक्षण केन्द्रको रुपमा स्थापित गर्ने दिशामा ऐतिहासिक कदम हुने अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताउनु भयो ।

न्याम्ससँग सहकार्य, अब अंगिक संस्था बन्ने बाटो
यसका लागि चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र भेरी अस्पतालबीच यसअघि नै औपचारिक सम्झौता भइसकेको छ र आवश्यक फ्याकल्टी (शिक्षक) समेत निर्धारण भइसकेको छ। अध्ययन कार्यक्रम सञ्चालनमा आएपछि भेरी अस्पताल न्याम्सको अंगिक अस्पतालको रुपमा रहनेछ, जसले यस संस्थाको शैक्षिक तथा सेवा गुणस्तर दुवैलाई स्तरीयता प्रदान गर्ने अपेक्षा गरिएको छ।

सेवाको गुणस्तरमा सुधारको आशा
डा. सुवेदीका अनुसार, एमडी/एमएस कार्यक्रम सुरु भएपछि अस्पतालमा उपचार सेवासँगै शैक्षिक गतिविधि बढ्ने भएकाले यसको समग्र सेवा स्तरमा सुधार आउने छ । उहाँका शब्दमा, “अस्पतालमा उपचार सेवासँगै शैक्षिक क्रियाकलाप थपिने भएकाले यसको स्तर स्वाभाविक रूपमा ह्वात्तै माथि उठ्नेछ।”

वर्षौंदेखिको प्रयास, अब सार्थकता तर्फ
भेरी अस्पतालमा एमडी/एमएस विषयको पढाइ सञ्चालन गर्ने प्रस्ताव वर्षौं अघि राखिएको थियो। मेडिसिन, सर्जरी, अर्थोपेडिक्स, गाइनोक्लोजी, पिडियाट्रिक, एनेस्थेसिया, रेडियोलोजी, इ.एन.टी र एमडिजिपी जस्ता विभागहरूमा शैक्षिक कार्यक्रम सुरु गर्ने योजना थियो। तर, वास्तविक कार्यान्वयन हालै मात्र सम्भव भएको बताइएको छ ।

सरकारी प्राथमिकता र जनशक्ति विस्तार
सरकारले भेरी अस्पतालमा १७९ जना स्वास्थ्यकर्मी थप गर्ने निर्णय गरिसकेको छ, जसले विशेषज्ञ सेवा विस्तार र शिक्षण कार्यक्रम कार्यान्वयनमा थप सहजता ल्याउनेछ। अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह र सदस्य डा. डक्टप्रसाद धिताल दुवैले यसलाई भेरी अस्पतालको प्रतिष्ठा वृद्धि गर्ने अवसरका रूपमा लिनु भएको छ ।

पश्चिमका ३ प्रदेशका लागि लाभदायी
नेपाल सरकारको मातहतमा रहेको भेरी अस्पतालमा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका बिरामी उपचारका लागि आउने गरेका छन्। यस्तो अवस्थामा शैक्षिक कार्यक्रम सुरु हुनुले क्षेत्रीय स्वास्थ्य सेवा प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने विश्लेषण गरिएको छ।

भेरी अस्पतालमा एमडी/एमएस तहको पढाइ सुरु हुनु केवल एउटा शैक्षिक कार्यक्रमको सुरुवात मात्र नभई, पश्चिम नेपालको स्वास्थ्य प्रणालीको गुणस्तरीय उन्नयनतर्फको गहिरो मोड हो। शिक्षण र सेवा दुवैलाई सँगै अघि बढाउने यस प्रयासले स्थानीय स्तरमै विशेषज्ञ उत्पादन गर्ने र जनताको पहुँचमा गुणस्तरीय उपचार पुर्‍याउने सम्भावना राख्दछ। आगामी दिनमा यसले भेरी अस्पताललाई क्षेत्रीय चिकित्सा शिक्षाको केन्द्रको रूपमा स्थापित गर्ने आधार तयार पार्न सक्छ भन्दै विकास समिति अध्यक्ष शाह र डा. धितालले ठोकुवा गर्नुभयो ।

Next Post

सरोकारवालाहरुलाई लैङ्गिक समानता, विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धि प्रशिक्षण

२०८२ जेष्ठ ३०, शुक्रबार १२:३८
नेपालगन्ज । बर्दियाको राजापुर नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखीकरण कार्यक्रम गरिएको जनाउँदै कार्यक्रममा वाश समिति सदस्यहरू, विद्यालय […]