नेपालगन्ज उल्लास पूर्वक बकर इद मनाइँदै, इदगाहमा विशेष नमाज र दुआ

  ।   २०८२ जेष्ठ २४, शनिबार १२:०३

कृष्टी चौधरी

नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) आज नेपालगन्जमा धार्मिक श्रद्धा, उमङ्ग र भाइचाराका साथ उल्लासपूर्वक मनाइँएको छ । बलिदान र कुरबानीको सन्देश बोकेको यो पर्व तीन दिनसम्म विभिन्न धार्मिक अनुष्ठानसहित मनाइन्छ।

सनिवार बिहानै नेपालगन्जको बिपी चोकस्थित इदगाहमा हजारौं मुस्लिम धर्मावलम्बीहरू भेला भई सामूहिक नमाज अदा गरिएको थियो।नमाजपछि इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले मुलुकमा शान्ति, धार्मिक सहिष्णुता र समृद्धिको कामना गर्दै विशेष दुआ गर्नु भयो ।    सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान, पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

पूर्वमन्त्री राईले बकर इदजस्तो सद्भाव, मेलमिलाप र आपसी भाइचाराको पर्वलाई सबै मिलेर मनाउनु गौरवको कुरा भएको बताउनुभयो।    बकर इदको मुख्य विशेषता कुरबानी (पशुबली) हो। आर्थिक रूपमा सक्षम मुस्लिम धर्मावलम्बीले खसी, भेडा वा राँगाको बलि दिनुपर्छ भन्ने धार्मिक परम्परा रहेको छ।

मौलानाहरूका अनुसार जसको घरमा साढे सात तोला सुन, साढे ५२ तोला चाँदी वा सो बराबरको सम्पत्ति छ र कुनै ऋण छैन, उसले अनिवार्य रूपमा कुरबानी गर्नुपर्छ।

नेपालगन्ज सहरमा अहिले कुरबानीका जनावरहरूको खरिद–बिक्रीमा चहलपहल देखिएको छ। स्थानीय व्यापारीहरूका अनुसार यसपालि स्थानीय पशुहरूको माग बढी छ र मूल्य पनि सन्तुलनमा रहेको छ।  त्याग, सेवा र समर्पणको सन्देश बोकेको बकर इद नेपालगन्जका मुस्लिम समुदायले धार्मिक आस्था र सामाजिक सद्भावका साथ मनाइरहेका छन्, जसले नगरभित्रको सांस्कृतिक विविधतालाई थप मजबुत बनाएको छ।

Next Post

बिद्यार्थिको क्षमता उजागर गर्न सृजनात्मक सामाग्री प्रदर्शनीको आयोजना

२०८२ जेष्ठ २४, शनिबार १२:०३
नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रर्दशनी सम्पन्न भएको छ । गुलरिया नगरपालिका वडा नम्बर ६ को आयोजनामा शिक्षा, युवा तथा खेलकुद शाखा, गुलरियाको समन्वय तथा बाँके युनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सो प्रर्दशनी सम्पन्न भएको हो । प्रर्दशनीमा गुलरिया […]

सम्बन्धित शीर्षक