विश्व वातावरण दिवस २०८२ का अवसरमा माओवादी अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

  ।   २०८२ जेष्ठ २२, बिहीबार १८:२९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवस २०८२ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै वातावरण संरक्षण, जलवायु न्याय र दिगो भविष्यको पक्षमा लागिपर्न सबैलाई आह्वान गर्नु भएकोछ ।

“प्लास्टिक प्रदूषण अन्त्य गरौँ” भन्ने नारासहित मनाइँदै गरेको यस वर्षको वातावरण दिवसले मानव समाजले सामना गरिरहेकै एक प्रमुख चुनौतीतर्फ विश्व समुदायको ध्यान केन्द्रित गराएको अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभएको छ । उहाँले वातावरणीय न्यायप्रति सबैले व्यवहारिक प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता औंल्याउँदै प्लास्टिकजन्य प्रदूषण नेपालजस्तो जैविक विविधतायुक्त र भौगोलिक रूपमा संवेदनशील मुलुकका लागि गम्भीर खतरा बन्दै गएको चेतावनी दिनुभएको छ ।

उहाँले सहरी क्षेत्रदेखि ग्रामीण बस्तीहरूमा प्लास्टिक फोहोर व्यवस्थापन एक जटिल चुनौतीका रूपमा देखिएको भन्दै प्लास्टिक प्रदूषणलाई आजको प्रतिस्पर्धी पूँजीवादी प्रवृत्तिको परिणामको रूपमा चित्रित गर्नुभएको छ । यसले जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत र जैविक प्रणालीहरूमा दीर्घकालीन असर पारिरहेको उल्लेख गर्दै उहाँले सबै क्षेत्रका सरोकारवालालाई गम्भीर बन्न आग्रह गर्नुभएको छ ।

शुभकामना सन्देशमा प्रचण्डले प्रधानमन्त्रीको रूपमा कार्यरत रहँदा वातावरणीय विषयलाई नीति निर्माणको मूल एजेन्डा बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालका पर्यावरणीय चासोलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको स्मरण गराउनु भएको छ । उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको क्षतिपूर्तिको माग, पर्वतीय मुलुकहरूको समस्या, हरित ऊर्जा, अनुकूलन रणनीति र वातावरणमैत्री नीति निर्माणमा केन्द्रित प्रयासहरू उल्लेख गर्नु भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको ऐतिहासिक नेपाल भ्रमण र त्यसभन्दा अघि तथा पछि वातावरणसम्बन्धी मुद्दाहरूमा भएका छलफलहरूलाई पनि प्रचण्डले विशेष महत्वका रूपमा स्मरण गर्नुभएको छ ।
अन्त्यमा, अध्यक्ष प्रचण्डले सबै नागरिक, विज्ञ, युवा, महिला र सरोकारवालाहरूसँग प्लास्टिकको प्रयोग न्यून गर्न, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिन, वातावरणमैत्री जीवनशैली अपनाउन र वातावरणीय न्यायका पक्षमा आवाज उठाउन अपिल गर्नुभएको छ ।       

Next Post

बर्दियामा ‘Unite For Resilience’ अभियान सुरु : जलवायु बहसमा युवाको नेतृत्व

२०८२ जेष्ठ २२, बिहीबार १८:२९
सागर भण्डारी बर्दिया । विश्व वातावरण दिवसको अवसरमा बर्दियामा ‘Unite For Resilience’ अभियानको औपचारिक सुरुआत गरिएको छ। अभियान जलवायु परिवर्तन तथा युवाको नेतृत्वमा आधारित संवादसँगै प्रारम्भ भएको हो। बाँके युनेस्को क्लबले राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) र युवा (YUWA) सँगको सहकार्यमा GSS परियोजना अन्तर्गत सञ्चालित ‘Girls Out Loud’ कार्यक्रम तथा […]