- प्रेम विश्वकर्मा, गुलरिया ।
राजापुर भन्सार कार्यालय बर्दियाले आर्थिक बर्ष २०७७-०७८ मा बार्षिक लक्ष्य भन्दा बढी राजस्व असुली गर्न सफल भएको छ । २ करोड ३६ लाख ८१ हजार रुपैंया राजस्वको बार्षिक लक्ष्य रहेकोमा २ करोड ३९ लाख ७२ हजार रुपैंया राजस्व असुली भएको हो ।
यो राजस्व मुद्दा, अवैध माल, समानहरुको लिलामी विक्रीबाट उठेको कार्यालयका निमित्त भन्सार अधिकृत चक्र बहादुर सोनीले बताउनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७६-०७७ को बार्षिक लक्ष्य ३ करोड ४२ लाख रहेकोमा असुली भने १ करोड ७८ लाख ८७ हजार रुपैंया मात्र देखिएको छ ।
आजदेखी शुरु भएको नयाँ आर्थिक बर्ष २०७८-०७९ को बार्षिक राजस्व लक्ष्य भने २ करोड १० लाख रहेको निमित्त भन्सार अधिकृत चक्र बहादुर सोनीको भनाई छ । बर्दियामा अहिले गुलरिया र राजापुर छोटी भन्सार कार्यालय मात्र संञ्चालनमा रहेका छन ।
कोभिड–१९ का कारण ताराताल छोटी भन्सार कार्यालय भने बन्द गरिएको छ ।
निमित्त भन्सार अधिकृत चक्र बहादुर सोनीले जनशक्तिको अभाव, भौगोलिक परिस्थिती लगायतका कारणले अपेक्षाकृत रुपमा काम गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार २२ जना कर्मचारीको दरवन्दी रहेको भन्सार कार्यालयमा अहिले ७ जना मात्रै कार्यरत छन ।







