स्वास्थ्य सेवामा सुधार, समाजमा डर: कुस्ठरोग उन्मूलनमा दोहोरो चुनौती

  ।   २०८२ माघ ९, शुक्रबार २१:०२

सबिता चन्द ठकुरी

नेपालगन्ज । नेपालमा कुस्ठरोग औषधिबाट पूर्ण रूपमा निको हुने रोग बनेको छ। सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क उपचार, प्रारम्भिक पहिचान, पुनर्स्थापना र अपाङ्गता रोकथामसम्बन्धी सेवा विस्तार हुँदै आएका छन्। तर उपचारमा भएको प्रगतिको तुलनामा कुस्ठरोगप्रतिको सामाजिक सोच अझै परिवर्तन हुन नसक्दा उन्मूलन अभियान गम्भीर चुनौतीमा परेको सरोकारवालाले बताएका छन्।

विश्व कुस्ठरोग दिवस २०२६ को अवसरमा बाँकेमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्यहरूले कुस्ठरोग उन्मूलनमा स्वास्थ्य सेवाभन्दा ठूलो बाधा सामाजिक कलङ्क, डर र विभेद नै रहेको स्पष्ट पारेका छन्। कार्यक्रममा प्रस्तुत विवरणअनुसार पछिल्लो अवधिमा बाहिरङ्ग सेवामार्फत ८५३ जनाले कुस्ठरोगसम्बन्धी सेवा प्राप्त गरेका छन्। सोही अवधिमा नयाँ कुस्ठरोगी पहिचान तथा उपचारका लागि ६८ जनाको पहिचान गरिएको छ, जसमा ४७ पुरुष र २१ महिला रहेका छन्। पहिचान गरिएका कुस्ठरोगीहरू बाँके, बर्दिया, दाङ, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, अछामका साथै भारतका नागरिकसमेत रहेका छन्।

समुदायस्तरमा सञ्चालन गरिएका कुस्ठरोग पहिचान शिविरमार्फत ५५० जनाको परीक्षण गर्दा ८ जना नयाँ कुस्ठरोगी फेला परेका छन्। कुस्ठरोगको पुष्टि तथा अनुगमनका लागि ३४२ जनाको छालाको स्मियर जाँच र १६५ जनाको अनुगमन परीक्षण गरिएको जानकारी दिइयो। कुस्ठरोगका कारण हुने अपाङ्गता रोकथामतर्फ पनि काम भइरहेको छ। प्रस्तुत तथ्यअनुसार अपाङ्गता जोखिम पहिचानका लागि ७०४ पटक कार्यक्षमता जाँच गरिएको छ भने १०३ जोडा सहयोगी सामग्री तथा विशेष जुत्ता वितरण गरिएको छ। साथै ६९ जनालाई फिजियोथेरापी अभ्यास गराइएको छ।

मानव स्रोत विकासतर्फ सरकारी विद्यालयमा कार्यरत नर्सहरूका लागि कुस्ठरोग आधारभूत तालिम (BLT) अन्तर्गत २३ जना प्रशिक्षित भएका छन्। यस्तै, स्वास्थ्य संस्थासँग आबद्ध महिला स्वास्थ्य स्वयंसेविकामध्ये १९० जनाले कुस्ठरोगसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्राप्त गरेका छन्।

जनचेतना अभिवृद्धिका लागि २२ वटा आमा समूहका ६०० सदस्य, विद्यालयमा सञ्चालन गरिएका १२ पटकका कक्षामार्फत १२१ जना विद्यार्थी तथा पालिका तहका २८ जना जनप्रतिनिधि कुस्ठरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा साइनिङ अस्पताल आईएनएफ नेपाल बाँकेका तर्फबाट प्रस्तुति दिँदै मंगल चौधरीले कुस्ठरोग अब स्वास्थ्य समस्या मात्र नभई गहिरो सामाजिक चुनौती बनेको बताउनु भयो । “औषधिले रोग निको भए पनि सामाजिक कलङ्क कायमै रहँदा कुस्ठरोग उन्मूलन सम्भव छैन,” उहाँले भन्नुभयो ।नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले २१औँ शताब्दीमा पनि कुस्ठरोगलाई श्राप, पाप र अभिशापसँग जोड्ने सोच हट्न नसकेको उल्लेख गर्दै यही सोच कुस्ठरोग उन्मूलनमा मुख्य अवरोध बनेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले कुस्ठरोगीमाथि हुने सामाजिक बहिष्कार, बजेटको अपर्याप्तता र जनचेतनाको कमजोरीबारे प्रश्न उठाउनु भएको थियो ।

कार्यक्रममा कुस्ठरोगसम्बन्धी अनुसन्धानात्मक गतिविधिबारे पनि जानकारी दिइयो। हाल अस्पतालमा कुस्ठरोगका किटाणुको आनुवंशिक परीक्षण (Gene Sequencing) सम्बन्धी अध्ययन सञ्चालनमा रहेको र उक्त अध्ययनमा BNMT Nepal को आर्थिक सहयोग रहेको जनाइएको छ।विश्व कुस्ठरोग दिवस २०२६ को नारा “कुस्ठरोगको छ औषधि, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती” ले पनि यही यथार्थलाई उजागर गर्छ। विशेषज्ञहरूका अनुसार कुस्ठरोग उन्मूलनको बाटो अस्पतालबाट मात्र होइन, समाजको चेतना परिवर्तनबाट सुरु हुनुपर्छ। सामाजिक कलङ्क अन्त्य, प्रारम्भिक पहिचान र समावेशी स्वास्थ्य सेवा सुनिश्चित नगरेसम्म “कुस्ठरोग मुक्त नेपाल” लक्ष्य केवल नारा मै सीमित हुने खतरा रहेको सहभागीहरुको निष्कर्ष छ।

Next Post

सूर्य उदयसँगै जनताको ढोकामा बिष्ट—घरदैलोमै मतदाता रिझाउदै

२०८२ माघ ९, शुक्रबार २१:०२
सबिता चन्द ठकुरी नेपालगन्ज । सूर्य उदाएसँगै बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट जनतासँग भेटघाटमै व्यस्त देखिनुभएको छ । बिहानको पहिलो घामसँगै टोल–टोल, घर–घर पुग्दै बिष्टले मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ । घरदैलो अभियानका क्रममा बिष्टले जनताको दैनिक जीवन, समस्या र अपेक्षा ध्यानपूर्वक सुन्दै […]