संवाददाता, नेपालगंज।
विगतका बर्षमा झै सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको नेपाल पत्रकार महासंघले अभिलेखीकरण गरेको छ ।
महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् ।
६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन् । यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुव्र्यवहारका घटना घटेका छन् भने पेशागत असुरक्षाका १० वटा घटना भएका छन् ।
त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् । यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा छ ।
समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहार लगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका छन् ।
भ्रष्टाचार, अनियमितता लगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको छ । यस्तै कोरोना भाइरसको संक्रमणबाट यो वर्ष पनि पत्रकार प्रभावित भएका छन् ।
महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको छ ।
कोरोना महामारीको बहाना पत्रकारको पेशागत सुरक्षा प्रभावित हुन पुगेका छ । एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएको छ ।
यसमध्ये झण्डै ३ सय जना पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० जना पत्रकारको समस्या समाधानका लागि महासंघले कानूनी तथा दबाबमूलक पहल गरिरहेको महासचिव रोशन पुरी द्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
यस्तो प्रेस बिज्ञप्ती हेर्नुहोस ।