हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु

  ।   २०८० असार २६, मंगलवार १७:२५

काठमाडौ । हुलाक बैंकमा रहेका खाता एवं वचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार आज (मंगलवार)देखि हस्तान्तरणको प्रक्रिया सुरु भएको हो । असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक वचत खाताका कारोवार पनि रोक्का रहने छ ।
सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक वचत बैंकका खाताहरुलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक वचत बैंकका खाता हस्तान्तरण गर्न थालिएको छ । राष्ट्रिय बैंकसँग असार २४ गते भएको सम्झौताअनुसार खाता हस्तान्तरण प्रक्रिया सुरु भएको हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा असार १२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक वचत बैंकमा रहेका वचतकर्ताका खाता एवं वचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी हुलाक वचत बैंकहरुको व्यवस्थापन गर्नका लागि गर्नका लागि सञ्चालनमा रहेका हुलाक वचत बैंकमा रहेको समग्र नाफा रकमबाट हाल घाटामा रहेका तथा कर्मचारीबाट हिनामिना भएका रकम भुक्तानी गरी बाँकी रहेको नाफा रकम नेपाल सरकारको सञ्चित कोषमा जम्मा गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।
हुलाक वचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारवाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गर्ने निर्णय पनि सरकारले गरिसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । त्यस्तै हुलाक वचत बैंकमा रहेका खाताहरु हस्तान्तरणपछि हुलाक वचत बैंक खारेज गरी हुलाक बैंक नियमावली २०३४ को खारेजीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बाट भइसकेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

देशभरि सञ्चालनमा रहेका ६८ वटा हुलाक वचत बैंकमध्ये १२ वटा घाटामा चलेका थिए । त्यहाँ कार्यरत कर्मचारीबाट वचत रकम हिनामिनासमेत गुनासो आउन थालेपछि आवश्यक पहल गर्दै सञ्चार मन्त्रालयले वचतकर्ताको रकमको सुरक्षाका लागि राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरणका लागि पहल थालेको थियो । सानातिना रकम जम्मा गर्न चाहने व्यक्तिलाई बैंकिङ सुवधा प्रदान गर्न स्थापना भएका हुलाक वचत बैंकको सेवा र कारोवारमा वचत तथा ऋण सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरुको विस्तारसँगै संकुचन आएको छ । जसका कारण हुलाक वचत बैंक न्यून प्रभावी बन्न पुगेको निष्कर्ष सहित सरकार हुलाक वचत बैंकका खातालाई ‘क’ वर्गको सरकारी बैंकमा स्थानान्तरण गरी हुलाक वचत बैंक खारेज गर्ने निर्णयमा पुगेको हो ।



Next Post

नेपालगंजको मुटुमा सुन्दर रानीतलाउ

२०८० असार २६, मंगलवार १७:२५
सविता चन्द, नेपालगंज । नेपालगन्जको मुटु मानिने त्रिभुवन चोकदेखि थोरै पूर्वतिर गएपछि पुगिन्छ सुन्दर रानीतलाउ । रानीतलाउ अहिले व्यवस्थित र सुन्दर छ । रानीतलाउको वरिपरि विभिन्न प्रजातिका रंगीचंगी फूलहरुले त्यहाँको सौन्दर्यीकरण बढाएको छ । रानीतलाउमा बोटिङको आनन्द पनि लिन पाइन्छ । मात्र २५ रुपैयाँमा आनन्दले बोटिङ गर्न पाइन्छ । तलाउ […]

सम्बन्धित समाचार