सर्वसाधारणद्वारा कोरोना तेस्रो लहरको बेवास्ता

रुपैडिहामा निर्वाध सपिङ्ग, खसीका लागि घाँस पनि भारतबाटै

  ।   २०७८ श्रावण १, शुक्रबार १९:०५

संवाददाता, नेपालगन्ज ।

कोहलपुर नगरपालिका–१४ हवल्दारपुरका भद्रबहादुर राना रुपैडिहाबाट सामान किनेर फर्कँदै हुनुहुन्थ्यो । उहाँले ५ किलो प्याज, २ वटा चिसो पेय ड्यू, ५ किलो चिनी र आधा किलो जिरा बोक्नुभएको थियो । ड्यू देखाउँदै उहाँले भन्नुभयोे, ‘भारतमा एक सय १९ रुपैयाँ पर्छ । नेपालमा यसको मूल्य १ सय ९३ छ । एउटै बोलतमा ७४ रुपैयाँ सस्तो पर्छ । त्यसैले सपिङ्ग गर्र्न जान मन लाग्छ ।’

आइतबार अपरान्ह गुड न्यूज साप्ताहिक टिम सीमा नाका जमुनाहा पुग्दा कोहलपुरका रानाको पछाडि आउँदै हुनुहुन्थ्यो, नेपालगन्जका अशोक मिश्र । उहाँ ५ किलो चिनी हातमा झुन्डाएर हिँडिरहनुभएको थियो । ‘नेपालगन्जमा एक किलो चिनीलाई ९० रुपैयाँभन्दा बढी पर्छ । रुपैडिहामा ६० रुपैयाँमा किन्न पाइन्छ ।

खजुरा गाउँपालिका–५ वसन्तपुरका कमल सोनकर पनि ५ किलो चिनी र साढे २ किलो आँप बोकेर आउँदै हुनुहुन्थ्यो । उहाँले सस्तो पाइने कुरा यसरी दर्शाउनुभयो, ‘खजुरामा एक सय रुपैयाँको एक किलो आँप पाइन्छ । मैले सय रुपैयाँमा तीन किलो आँप ल्याए ।’

नेपालगन्ज उपमहानगरपालिका–१४ त्रिभुवन चोकका सोनु राईले त खसीका लागि घाँस पनि भारतबाटै किनेर ल्याउनुभएको थियो । ‘१० रुपैयाँ मुठामा पाइने गुल्लरको घाँस नेपालगन्ज पुग्दा दोब्बर भएर २० रुपैयाँ मुठा पुग्छ । त्यसैले दिनमा एक पटक ल्याएर आउँछु ।’ पर्वका लागि त्रिभुवन चोक क्षेत्रका मुस्लिमहरुले घर–घरमा खसी पालेका छन् । अधिकांश घाँस खोज्न रुपैडिहा पुग्छन्’, उहाँले प्रष्ट पार्नुभयोे, ‘घाँस किन्ने बाहानामा अरु सामान पनि किनेर फर्कन्छन् ।’

भारतमा कोरोनाको तेस्रो लहर सुरु भइसके पनि नेपालीहरु सीमावर्ती भारतीय बजार रुपैयाँमा निर्बाध रुपमा सपिङ्गका लागि जाने गरेका छन् । उनीहरुमा कोरोना तेस्रो लहरबारे कुनै डरत्रास देखिँदैन । नेपालीहरु सस्तोमा सामान किन्न रुपैैडिया पुग्छन् ।

सीमा प्रहरीले नाम मात्रको चेकिङ्ग गरिरहेको छ । सामान किन्न जानेलाई छुट दिइरहेको छ । त्यसैले सीमावर्ती बजारमा सपिङ्ग गर्न जानेको ओइरो लागिरहेको छ । कतिपयले त मास्क पनि लगाएका हुँदैनन् । सीमा नाका जमुनाहामा रहेको नेपालगन्ज उपमहानगरपालिकाको हेल्थ डेस्क र सशस्त्र प्रहरीको टोलीले मास्क पनि वितरण गरिरहेको छ ।

रुपैडिहायाँमा सामान किन्न गए पनि रित्तो हात फर्किनुभएका नेपालगन्ज–१८ का समीर अन्सारी भन्दै हुनुहुन्थ्यो, ‘मैले लगाएको मास्क फोहर भएर फाले । मास्क नलगाएको देखेपछि सशस्त्र प्रहरीले नयाँ मास्क दियो ।’

भारतमा कोरोनाको तेस्रो लहर बढिरहेको बारे सबैैलाई जानकारी थियो । अधिकांशले सस्तोका लागि रुपैडिहा सपिङ्गमा जानु बाध्यता भएकोे जिकिर गरिरहेका थिए । कोहलपुरका रानाले प्रष्ट पार्नुभयोे, ‘कोरोनाको डरले नजानु भएन । सुरक्षाका विधि अपनाउनु पर्छ ।’

हजाराँैको संख्यामा यसरी सपिङ्ग जानेहरुको लर्को लागिरहेको छ । रुपैडिहाबाट फर्केका अधिकांशले गरेको सपिङ्गमा ५-५ किलो चिनी, आँप, आलु र प्याज बोकेको भेटिएका थिए । ड्यू, फेन्टा लगायतका चिसो पेय पदार्थ पनि उनीहरुको सपिङ्ग सामाग्रीको रुपमा थियो ।

तरकारी र अरु खुद्रा सामानहरु ल्याउने पनि भेटिए । नेपालगन्ज उपमहानगरपालिकाको हेल्थ डेस्कमा कार्यरत एचए सुरेन्द्र चलाउनेले २६ असारमा ४५ मिनेटसम्म गरेको सर्भेक्षणमा ४ हजारभन्दा बढी व्यक्तिले सीमा नाका पार गरेको बताउनुभयो ।

भारतबाट स्वदेश फर्कनेहरु अधिकाँश बिहानको समयमा आउँछन् । दिउँसो पनि लामो दुरीका केही गाडी आउँछन् । एचए चलाउनेका अनुसार दैनिक कम्तीमा पनि २० हजार जनाले सीमा वारपार गर्छन् । अधिकाँश सपिङ्ग गर्न जाने नै हुन्छन् ।

गुडन्युज साप्ताहिक पत्रिकाबाट

 

Next Post

सूफीनिज्मबाट मानवता जोगाउन `दरगाहे आला´

२०७८ श्रावण १, शुक्रबार १९:०५
समीर अली बेहना, नेपालगन्ज ।  दरगारे आला हजरतबाट खटिएको प्रतिनिधि मण्डलले मानवता  जोगाउन सूफीनिज्मको आवस्यकता रहेको बताएको छ ।  भारतको उत्तर प्रदेशमा रहेको बरैली शरीफ दरगाहे आला हजरतद्वारा नेपाली नागरिकहरुलाई राहत सामाग्री वितरण गर्न आएको टोलिले मानवताको सन्देश दिएको छ । आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मदिना […]