खजुराका सबै माध्यमिक विद्यालयमा जलवायु न्याय पाठ्यक्रम लागू हुँदै

तालिम मार्फत प्रधानाध्यापक र सम्पर्क शिक्षकलाई जानकारी

  ।   २०८२ जेष्ठ २२, बिहीबार १७:०९
तालिम संचालन हुँदै

सबिता चन्द
बाँके । खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका सबै १६ वटा माध्यमिक विद्यालयहरूमा जलवायु न्याय पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ। रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालले सञ्चालन गर्दै आएको बालिका शिक्षा कार्यक्रमअन्तर्गत यस पाठ्यक्रमलाई आत्मसात् गर्दै पालिकाले स्थायित्वका साथ अगाडि बढाउने जनाएको छ।

कार्यक्रम लागू गर्नु अघि विद्यालयका प्रधानाध्यापक तथा सम्पर्क शिक्षकलाई जानकारी दिने उद्देश्यले जेठ १९ देखि २१ गतेसम्म तीन दिने तालिमको आयोजना गरिएको थियो। तालिम समापनका अवसरमा खजुरा गाउँपालिका शिक्षा शाखाका प्रमुख खगेन्द्र बहादुर मल्लले जलवायु न्याय पाठ्यक्रम प्रभावकारी देखिएको भन्दै यसलाई निरन्तरता दिने योजना रहेको बताउनु भयो ।

तालिम हुँदै गर्दाको फोटोफिचर हेमराज भट्ट

उहाँका अनुसार पालिकाले हरेक विद्यालयमा कार्यक्रम पु(याउने लक्ष्य लिएको छ। रुम टु रिड र बास नेपालको सहयोग आवश्यक हुने उल्लेख गर्दै मल्लले उत्कृष्ट कार्यान्वयन गर्ने विद्यालयलाई नगद सहित पुरस्कृत गर्ने योजना पनि प्रस्तुत गर्नुभयो । तालिममा सहभागी श्री नेरा माविका प्रधानाध्यापक माधव शर्माले तीन दिनको तालिमले जीवन उपयोगी सिप र जलवायु न्यायका बारेमा स्पष्टता दिएको बताउनु भयो । श्री भानु माविकी सम्पर्क शिक्षक गिता अर्यालले पहिले कमजोर मानिएको विद्यालयमा हाल सकारात्मक परिवर्तन देखिएको जनाउँदै कार्यक्रमको निरन्तरताले उत्साह बढाएको बताउनु भयो ।

फोटो: हेमराज भट्ट

कार्यक्रमका समापन सत्रमा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत जय प्रजापतिले खजुरा गाउँपालिकाको सक्रियता प्रशंसनीय रहेको भन्दै कार्यक्रम नमुना बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रुम टु रिड बास नेपाल मार्फत प्राविधिक तथा अन्य आवश्यक सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाउनु । तालिमका क्रममा सहभागीहरूलाई जीवन उपयोगी सिपका १० तत्व, जलवायु परिवर्तनसम्बन्धी ज्ञान, निर्देशिकामा समावेश क्रियाकलापको अवधारणा, तथा लैङ्गिकता र जलवायु न्यायसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

समापन सत्रको सहजीकरण बास नेपालका बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए। धन्यवाद ज्ञापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गर्नु भएको थियो । तीन दिने तालिममा रुम टु रिडका सलिना तामाङ, जय प्रजापति, दिनेश पोखरेल, निरोज कोइराला तथा बास नेपालका हेमराज भट्ट, जोशिना थारु, शोभा भण्डारी, सविता सुनार, जमुना चौधरीले सहजीकरण गर्नु भयो ।  हाल बास नेपालले रुम टु रिडको सहयोगमा खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, र कोहलपुर नगरपालिकामा बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Next Post

हिमालयन लाइफ इन्स्योरेन्सको १७औँ वार्षिकोत्सव: सामाजिक सेवामा विशेष ध्यान

२०८२ जेष्ठ २२, बिहीबार १७:०९
सबिता चन्द नेपालगन्ज, । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सव देशभर विविध सामाजिक कार्यक्रमहरूका साथ भव्य रूपमा मनाएको छ। साबिकका प्राइम लाइफ, गुरास लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्जर भई गठन भएको यस कम्पनीले नेपालगन्ज शाखामा विशेष सामाजिक उत्तरदायित्वमूलक गतिविधिहरू सञ्चालन गर्दै उत्सवलाई थप अर्थपूर्ण बनाएको हो । वार्षिकोत्सवको […]