
सबिता चन्द
नेपालगन्ज, । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सव देशभर विविध सामाजिक कार्यक्रमहरूका साथ भव्य रूपमा मनाएको छ। साबिकका प्राइम लाइफ, गुरास लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्जर भई गठन भएको यस कम्पनीले नेपालगन्ज शाखामा विशेष सामाजिक उत्तरदायित्वमूलक गतिविधिहरू सञ्चालन गर्दै उत्सवलाई थप अर्थपूर्ण बनाएको हो ।
वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सामाजिक सेवातर्फ कम्पनीको गम्भीर प्रतिबद्धताको उदाहरण बन्यो। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय स्वयंसेवक र कम्पनीका कर्मचारीहरूको सक्रिय सहभागितामा २२ पिन्ट रगत संकलन गरिएको शाखाका एम डि आर टीले जानकारी दिनुभयो।
त्यसैगरी, जेष्ठ नागरिकहरूप्रति सम्मान प्रकट गर्ने उद्देश्यले आयोजित अर्को कार्यक्रममा खाद्यान्न सामग्री वितरण गरिएको थियो। दुई बोरा चामल, एक बोरा पिठो, एक जर्किन तेल, पाँच पोका नुन, दुई बोरा भुजा लगायतका सामग्री वितरण गरिएको हो। साथै, २८४ जना जेष्ठ नागरिक र बालबालिकालाई खाना खुवाउने कार्यक्रमले जनसेवा र मानवीय मूल्यको सन्देश प्रवाह गरेको छ।
कार्यक्रमका क्रममा शाखा प्रमुखले हिमालयन लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वलाई आफ्नो सेवा अभियानको अभिन्न अङ्ग बनाउँदै आएको र आगामी दिनमा अझ प्रभावकारी ढंगले जनहितका कार्यहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस वार्षिकोत्सवमार्फत कम्पनीले जीवन बीमाको सन्देश मात्र होइन, मानव सेवाको भावनालाई पनि उजागर गर्न सफल भएको छ। 




