नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दिया मधुवन नगरपालिकाका युवालाई लक्षित गरेर ठाकुरद्धारामा तीन दिने बाल बेचबिखन विरुद्धको सचेतनामूलक र घट्ना रिपोर्टिङ तालिम सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकाका युवा स्वयंसेवक र युवा दूतहरुकालागि बाल बेचबिखन विरुद्धको सो तालिम सुरु गरेको हो । उक्त तालिम तीन दिनसम्म चल्नेछ । तालिमको मुख्य उद्देश्य युवा दूतहरूलाई बाल बेचबिखन लगायत बाल संरक्षणको ज्ञान दिनुका साथै सशक्त बनाउनु र उनीहरूलाई उपयुक्त प्रतिवेदन संरचना र संयन्त्रहरू मार्फत बाल बेचबिखन लगायत सुरक्षा उलंघनका घटनाहरू विश्वस्त रूपमा रिपोर्ट गर्न सक्षम पार्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले सो तालिममा ५ जना पुरुष र १५ जना महिला गरी जम्मा २० जना युवा दूतहरुको सक्रिय सहभागिता रहेको बताउनुभयो ।तालिम अघि मधुवन नगरपालिकाले विकसित छनोट मापदण्ड अनुसार सहभागीहरुलाई छनोट गरेको थियो । तालिममा बालअधिकार, बाल संरक्षण, मानव बेचबिखन, बाल बेचबिखन र बाल बेचबिखन सहित बाल अधिकार उलंघन सम्बन्धी मुद्दाहरू रिपोर्ट गर्ने प्रक्रियाका बारेमा प्रशिक्षण दिइनेछ ।
तालिमको उद्घाटन समारोहमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर र कार्यक्रम संयोजक महेश नेपालीले परियोजनाको लक्ष्य, उद्देश्य, नतिजा र गतिविधिहरूबारे प्रष्ट पार्नुका साथै तालिबाट हुने फाइदाहरुका बारेमा पनि बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिरदोस जहाँ र फिल्ड सुपरवाइजर सावित्रा भाटको पनि उपस्थिति रहेको थियो भने तालिमको प्रशिक्षकको जिम्मेवारी बसन्त कुमार बि.सीले निर्वाह गरिरहनु भएको छ ।
तलिममा सहभागि युवाहरुले आ–आफ्नो समुदायमा बालबालिकाको अधिकार प्रवद्र्धन र बाल बेचबिखन रोक्न युवादूतहरुको भूमिका र जिम्मेवारीका बारेमा पनि छलफल गरेका थिए ।