फुडबल खेलाडी लिओनेल मेस्सीले आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने

  ।   २०७७ आश्विन २, शुक्रबार १४:१३

चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने युरोपेली सङ्घको उच्च अदालतले निर्णय सुनाएको छ ।

युरोपिअन कोर्ट अफ जस्टिसले स्पेनी साइक्लिङ कम्पनी मास्सी र युरोपेली सङ्घको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय ईयूआईपीओको अपीललाई खारेज गरिदिएको छ ।

मेस्सीले पहिलो पटक सन् २०११ मा खेलाडीले लगाउने लुगाका लागि आफ्नो नाममा ट्रेडमार्क दर्ता गर्न आवेदन दिनुभएको थियो । तर मास्सीले आफ्ना लोगोसँगको समानताका कारण मानिसहरू झुक्किन सक्ने तर्क गरेको थियो ।

युरोपिअन कोर्ट अफ जस्टिसले दुईवटा ब्रान्डबीच मानिसहरूले फरक छुट्ट्याउन सक्ने वा नसक्ने कुरा गर्दा यी स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्नुपर्ने जनाएको छ ।

त्यसो भन्दै उसले ईयूको जेनरल कोर्टले सन् २०१८ मा दिएको आदेशलाई सदर गरिदिएको छ । उक्त आदेशमा भनिएको थियो, मेस्सी यति चिरपरिचित हुनुह्न्छ कि उहाँको नामलाई लिएर मानिसहरू झुक्किनै सक्दैन ।

हुन त साइक्लिङ सम्बन्धी पोसाक तथा सरसामान विक्री गर्ने मास्सी प्रारम्भिक चरणको कानुनी लडाइँमा सफल भएको थियो । तर मेस्सीले मुद्दालाई ईयूको जेनरल कोर्टमा लगेपछि फैसला उहाँको पक्षमा आयो ।

तेत्तीस वर्षीय मेस्सी १० नम्बरको जर्सी लगाउनुहुन्छ ।फोब्र्स म्यागजीनका अनुसार मेस्सीले वर्ष फुटबल खेलाडीको उपाधि छ पटक पाउनुभएको छ भने उहाँ विश्वका सबैभन्दा बढी पारिश्रमिक पाउने फुटबल खेलाडी हुनुहुन्छ ।

सन् २०२० मा मेस्सीले कुल १२ करोड ६० लाख अमेरिकी डलर आम्दानी गरेको फोब्र्स म्यागजीनले जनाएको छ ।

आफ्नो पूरै व्यावसायिक खेलजीवन बिताएको स्पेनी क्लब बार्सिलोनाबाट अलग हुन चाहेको गत अगस्टमा बताएपछि त्यो विषयले सञ्चारमाध्यममा व्यापक चर्चा पाएको थियो ।

तर बार्सिलोनाले अहिलेको करार बमोजिम मेस्सी सन् २०२१ को अन्त्यसम्म आफूसँग अनुबन्धित रहेको र उहाँलाई किन्न चाहनेले ७० करोड युरोको ट्रान्सफर शुल्क बेहोर्नुपर्ने बतायो ।

त्यसपछि मेस्सीले “आफूले माया गरेको क्लब“ सँग अदालतमा आमुने सामुने हुन नचाहेको भन्दै त्यसबाट अलग्गिने मनस्थिति परिवर्तन गर्नुभएको थियो ।

बीबीसी नेपालीबाट

Next Post

रेल नेपाल आए पनि फेरि भारत नै फर्किने

२०७७ आश्विन २, शुक्रबार १४:१३
सरकारले जनकपुर–जयनगर रूटमा सञ्चालनका लागि भारतसँग किनेको रेल आज दिउँसो डेढ बजे जनकपुर आइपुगेको छ । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा रोकिएका थिए । अहिले दुवै देशमा यातायात […]