नेपालगन्ज । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जित्नु भएको छ ।
संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दाैडमा पालले ३१.०७.२१ मिनेटमा दस किलोमिटर दाैड पूरा गर्दै च्याम्पियन बन्नुभएको हो । यसमा सशस्त्र प्रहरी बलकाे नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दाेस्राे र किरणसिंह बाेगटी तृतीय हुनुभयो । सन्ताेषले ३२:४८:४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दाैड पूरा गरि तृतीय हुनु भएको थियो ।
धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन ‘दशाैंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो हुनुभयो । उनलेे ५९:१६:५२ मिनेटमा दुरी पूरा गर्दा काेहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा दुरी पूरा गरि दाेस्राे हुनुभयो । सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय हुनु भयो ।
पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गाैतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कार वितरण गर्नुभयो । जीवनमा पहिलोपटक दाैड्न पाउँदा नै आफू निकै खुशी भएको विजेता पालले बताउनु भएको छ । ‘मैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ ।’ पालले भन्नुभयो -‘रात्री दाैडकाे मज्जा नै बेग्लै हुने रहेछ ।’
उता, पहिलोपटक ठूलो इभेन्टमा भाग लिएकी बाँके नरैनापुरकी गीता साहुले आफुले नसाेचेकाे नतिजा हात पार्दा निकै खुशी भएको बताउनु भयो । ‘पहिलोपटक यति धेरै पैसा जितेकी छु ।’ उहाँले भन्नुभयो,-‘याे पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु ।’
भेट्रान पुरुष तर्फ रैवत दाहाल ३८:०८:७१ मिनेटमा दुरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८:५६:२३ मिनेटमा लिंदै दाेस्राे तथा महेन्द्र बज्राचार्य ४९:१९:२५ मिनेट लिंदै तेस्राे हुनुभयो । लुम्बिनीका निवर्तमान सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कार प्रदान गर्नुभयो । भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दाैडमा आकर्षित गरिरहन आफू दाैडिरहेकाे प्रतिक्रिया दिनुभयो । राति दाैड्दा फरक अनुभुति हुने रहेछ ।’ उहाँलेे भन्नुभयो -‘धेरैभन्दा धेरै दाैडमा भाग लिनुपर्छ, यसको आकर्षण बढ्दै जानेछ ।’
नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दाैड बीपीको चाेम, धम्बाेजी चाेक, पुष्पलाल चाेक, कारकादाे चाेक हुँदै राँझा नजिकै पुगेर पुन: साेही रुटमा बीपी चाेक पुगेपछि दाैड सम्पन्न भएको थियोे ।
नेपालमै पहिलोपटक नाइट रन आयोजना सफल भएपछि आयाेजक पदाधिकारी तथा नेपालगन्जवासी उत्साहित देखिएका थिए ।यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रीकालिन दाैडकाे उदघाटन गर्नुभएको थियो ।