ल्याव सेवाको पहुँचमा राप्तिसोनारी

  ।   २०८० कार्तिक २३, बिहीबार २०:५१

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले प्रत्येक वडामा ल्याव (प्रयोगशाला) सेवा पुर्‍याउने भएको छ । यसैक्रममा बुधबार राप्तीसोनारी १, कुसुमस्थित खासकुश्मा स्वास्थ्य चौकीमा ल्याव (प्रयोगशाला) सेवा सुरु गरिएको छ ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले ल्याव सेवाको उद्घाटन गर्नु भएको छ । अध्यक्ष पौडेलले पालिकालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ काम गरिएको बताउँदै उहाँले सबै नागरिकहरुलाई सहज र सरल तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु पर्ने बताउनु भयो । उहाँले सीमित स्रोत साधनलाई अधिक्तम उपयोग गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी पालिकाले काम गरिरहेको बताउनु भयो ।

पालिकासँग भएको निश्चित बजेटबाट पनि कुसुम स्वास्थ्य चौकीमा ल्याव जडान गरेर सेवा प्रारम्भ गरेको भन्दै अध्यक्ष पौडेलले कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएपछि सामान्य रोगको पहिचानका लागि छिमेकी जिल्ला दाङको लमही वा बैजापुर अस्पताल तथा कोहलपुर र नेपालगञ्जसम्म पुग्नु पर्ने बाध्यता हल हुने आफूले विश्वास लिएको बताउनु भएको छ ।स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवाहरुलाई पहुँचमैत्री र प्रभावकारी बनाउने गरी पालिका लागि परेको भन्दै त्यसका लागि सबैको सहयोग र साथको आवश्यकता समेत रहेको उहाँले औँल्याउनु भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले भूगोलका हिसावले पालिकाको पूर्वी क्षेत्रमा रहेको कुसुममा ल्याव सेवा सुरु भएपछि यसक्षेत्रका नागरिकहरुलाई ठूलो राहात मिलेको बताउनु भयो । स्वास्थ्य चौकीलाई स्तरीय बनाउँदै लगिएको बताउँदै उहाँले सेवा प्रवाहलाई पनि बिरामीमैत्री बनाइएको बताउनु भयो । “पालिकाका सबै स्वास्थ्य चौकीहरुलाई स्तरीय बनाउँदै लगिएको छ ।” उहाँले भन्नू भयो, “कम्तिमा पनि नागरिकहरुले आफ्ना घरछेउँबाटै सर्वसुलभ सेवा प्राप्त गरुन भन्ने हाम्रो उद्देश्य हो ।”

नेपाल रेडक्रस जिल्ला शाखा बाँकेका सह–महामन्त्री तेजबहादुर सुवेदीले स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएपछि स्थानीयबासीलाई ठूलो राहात मिलेको बताउनु भयो । उहाँले सामान्य खाले रोगको परीक्षणका लागि सदरमुकाम जानु पर्ने बाध्यताको अन्त्य भएको भन्दै यसलाई प्रभावकारी र गुणस्तरीय बनाउन सुझाव दिनु भयो । “ल्याव संचालनपछि यहाँका गरिव तथा विपन्न समुदायका मानिसहरुलाई राहात मिलेको छ ।” उहाँले भन्नू भयो, “ल्याव नियमित चलोस्, विश्वसनीय रिपोर्ट प्राप्त होस् । छिटोछरितो होस् ।”

राप्तीसोनारी गाउँपालिका १ का वडाअध्यक्ष यमबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. २ का अध्यक्ष ज्ञानुराज वली, वडा नं. ४ का अध्यक्ष मिनराज खड्का, वडा नं. ७ अध्यक्ष रामलखन थारुलगायत स्थानीय समाजसेवी, बुद्धिजीवि, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

पालिकाका ९ वटै वडाका स्वास्थ्य संस्थामा ल्याव सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । हालसम्म कचनापुर स्वास्थ्य चौकी, महादेवपुरी स्वास्थ्य चौकी, बैजापुर अस्पताल र बिनौना स्वास्थ्य चौकीमा पालिकाको आफ्नै लगानीमा ल्याव सेवा विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनु भयो । तिहार लगत्तै वडा नम्वर ६ मा रहेको स्वास्थ्य चौकीमा पनि ल्याव सेवा सुरु गरिने उहाँले जानकारी दिनु भयो ।

Next Post

नेपाल आदिवासी जनजाति महासंघ नेपालगन्जको समिती गठन, भुमण्डल प्रकाश श्रेष्ठ अध्यक्ष

२०८० कार्तिक २३, बिहीबार २०:५१
नेपालगन्ज । नेपाल आदिवासी जनजाति महासघं नेपालगन्ज नगर समन्वय समिति सर्वसम्मत गठन भएको छ । आदिवासी र जनजातिको हक अधिकार, भाषा तथा संस्कृतिको जर्गेना गर्ने उद्धेश्यका साथ समिति गठन गरिएको हो । बिहीवार नेपालगन्जमा सम्पन्न एक भेलाले नेपाल आदिवासी जनजाति महासंघ नेपालगन्ज नगर समन्वय समितिको अध्यक्षमा भुमण्डल प्रकाश श्रेष्ठलाई चयन […]