डुडुवाका ५९ जना स्वास्थ्यकर्मीलाई कुपोषण ब्यबस्थापनसम्बन्धी तालिम

  ।   २०८३ श्रावण २४, आईतवार १२:४०

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई कुपोषण व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम दुई चरणमा प्रदान गरिएको छ ।

जिल्लामा सञ्चालित पोषण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबको प्राविधिक सहयोग, हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय, बाँकेको आयोजनामा सो तालिम सम्पन्न गरिएको हो । तालिममा डुडुवा गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका गरी जम्मा ५९ जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।

तालिमको मुख्य उद्देश्य स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै कुपोषणको पहिचान, परीक्षण, उपचार, परामर्श, अभिलेखीकरण तथा प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउनु र समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा प्रवाह सुनिश्चित गर्नु रहेको थियो । तालिमको उद्घाटन समारोहको अध्यक्षता स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेलले गर्नुभएको थियो भने स्वास्थ्य कार्यालय, बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लले तालिमको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनको अवसरमा बोल्दै स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुखसुनिता पौडेलले नेपालमा कुपोषणको वर्तमान अवस्था तथा विशेषगरी बाँके जिल्लाको अवस्थाबारे जानकारी गराउँदै पोषिलो खानाको प्रयोग, उपचार तथा यसको प्रभावकारी व्यवस्थापन र आपूर्ति प्रणालीबारे समेत जानकारी प्रदान गर्नुभयो । पोषण फोकल पर्सन बसन्ती मल्लले तालिमका उद्देश्य तथा अपेक्षित उपलब्धिबारे प्रकाश पार्दै कुपोषणका समस्याको गहिरो विश्लेषण, तथ्यमा आधारित समाधान र उपयुक्त रणनीतिक कार्यान्वयनमार्फत मात्र अपेक्षित परिणाम हासिल गर्न सकिनेमा जोड दिनुभयो । तालिमका सम्पूर्ण सत्रहरू अद्यावधिक निर्देशिका तथा वर्तमान मापदण्ड र प्रोटोकलअनुरूप सञ्चालन गरिएको थियो । सहभागीहरूको सक्रिय सहभागिता र व्यावहारिक सिकाइलाई प्राथमिकता दिँदै प्राविधिक प्रस्तुति, समूहगत छलफल, अनुभव आदानप्रदान, व्यावहारिक अभ्यास तथा प्रदर्शनात्मक विधिहरू प्रयोग गरिएको थियो ।

तालिममा ६ महिनाभन्दा कम उमेरका बालबालिका तथा ६–५९ महिनासम्मका बालबालिकामा कुपोषण व्यवस्थापन, ओटिसी मार्फत उपचार तथा व्यवस्थापन, एन्थ्रोपोमेट्रिक मापन, ट्रायेज प्रक्रिया, एपेटाइट टेस्ट, परामर्श तथा सुपर केरल प्लसको प्रयोग तथा सेवन विधि, कुपोषण उपचारमा प्रयोग हुने खानाको व्यवस्थापन तथा आपूर्ति प्रणालीलगायतका महत्वपूर्ण विषयमा सैद्धान्तिक तथा व्यावहारिक सत्रहरू सञ्चालन गरिएको थियो ।तालिमका प्रमुख सत्रहरू हेलन केलर इन्टरनेशनलका फिल्ड अफिसर लीलबहादुर नेपाली र बाँके युनेस्कोका कार्यक्रम संयोजक दृष्टि शाहले सहजीकरण गर्नुभएको थियो भने स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख पौडेल तथा पोषण फोकल पर्सन मल्लबाट समेत आवश्यक प्राविधिक सहयोग तथा मार्गदर्शन प्राप्त भएको थियो । तालिमले स्वास्थ्यकर्मीहरूको प्राविधिक क्षमता मात्र अभिवृद्धि नगरी कुपोषण व्यवस्थापनमा संलग्न सरोकारवालाबीच समन्वय, सहकार्य र साझा उत्तरदायित्वको भावना पनि थप सुदृढ गरेको छ । यसबाट डुडुवा गाउँपालिकाका सम्बन्धित वडा तथा समुदायमा कुपोषणका केसहरूको समयमै पहिचान, उपचार, रेफरल, परामर्श तथा फलोअपलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको क्लबले जनाएको छ ।

समापन समारोहमा स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख पौडेलले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आ–आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो । तालिमको समग्र व्यवस्थापन तथा सहजीकरण पोषण परियोजनाका संयोजक दृष्टि शाह र मिल अफिसर अनु चौधरीको समन्वयमा गरिएको थियो ।

Next Post

बाँकेमा जनचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाईयो

२०८३ श्रावण २४, आईतवार १२:४०
नेपालगन्ज । जीवनका लागि पोषण परियाृजना अन्तर्गत बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न पालिकामा स्तनपान परामर्श तथा जनचेतनामूलक कार्यक्रमहरु गरेर राष्ट्रिय स्तनपान सप्ताह मनाएको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसंगको साझेदारी तथा बाँके जिल्लाका बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थासँगको समन्वय र […]