सङ्घीयतालाई थप बलियो बनाइने, भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड

  ।   २०७८ श्रावण २४, आईतवार १७:२२

काठमाण्डौ । संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

साझा नीति तथा कार्यक्रममा कोरोना रोकथाम र प्रभावित क्षेत्रमा राहत दिने विषयलाई प्राथमिकता दिइएको छ । कार्यक्रममा असोजसम्म एक तिहाइलाई र चैतसम्म सबै नागरिकलाई निःशुल्क कोरोनाविरुद्धको खोप दिने, अग्रपङ्क्तिमा खटिने राष्ट्रसेवकको व्यक्तिगत सुरक्षा र घोषणा गरिएको प्रोत्साहन भत्ता दिने, कोरोना रोकथाम र नियन्त्रणका लागि अक्सिजन र अरू सामग्रीको जोहो गर्ने उल्लेख छ ।

यसअघि स्वास्थ्य सामग्रीमा भएको भनिएको अनियमितताको छानबिन गरेर दोषी देखिएमा कारबाही गर्ने पनि साझा कार्यक्रममा उल्लेख छ ।

यस्तै बाढी पहिरो प्रभावित क्षेत्रमा तत्कालै राहत र पुनर्निर्माणको काम सुरु गरिहाल्ने सरकारको दाबी छ । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा देखिएका सीमा समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने पनि कार्यक्रममा उल्लेख छ ।

यस्तै सङ्घीयतालाई बलियो बनाउन प्रदेश र पालिकाको काम प्रभावकारी बनाउने, तीन तहका सरकारका अधिकारलाई कार्यान्वयन गर्ने, तल्ला तहमा अधिकार हस्तान्तरण गर्दै जाने र सङ्घीय सरकारले तल्ला सरकारलाई दिने अनुदान रकम बढाउने पनि उल्लेख छ ।

साझा कार्यक्रममा नागरिकतालगायतका विचाराधीन विधेयक अघि बढाउने, उत्पादनमुखी अर्थतन्त्रमा जोड दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, भष्ट्राचारीलाई कारबाही र सुशासनमा जोड दिइएको छ ।

सबै प्रदेशबाट ड्राइभिङ लाइसेन्स वितरण गर्ने, अलपत्र परेका विकास निर्माणका आयोजनाको काम तीव्र गतिमा अघि बढाउने, व्यापार घाटा कम गर्ने, कृषिको आधुनिकीकरण गर्ने पनि साझा कार्यक्रममा उल्लेख छ ।

यस्तै भूमिहीनलाई जमिन दिने, गरिबलाई सरकारले हेर्ने, वैज्ञानिक भू–उपयोग नीति बनाउने लगायतका विषय पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

Next Post

कोरोनाविरुद्ध खोप लगाएकाहरू पनि संक्रमित हुन थाले

२०७८ श्रावण २४, आईतवार १७:२२
  काठमाडौं । पछिल्लो समय कोरोनाविरुद्ध खोप लगाएकाहरू पनि संक्रमित हुन थालेका छन्। कोरोना संक्रमणको दोस्रो लहरसँगै कम हुन थालेको संक्रमणको ग्राफ फेरि उकालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिमिडियोलोजी तथा रोग नियन्त्रण माहाशाखा प्रमुख डा कृष्ण पौडेका अनुसार देशभरबाटै पूरै विवरण नआए पनि उपलब्ध भएका विवरण […]