संवाददाता, नेपालगंज ।
बाँकेको नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले आज शिलान्यास गर्नुभएको छ ।
प्रतिक्षा निर्माण कम्पनीले ११ करोड ६४ लाख ६४ हजार रुपैयाँको लागतमा ट्रयाक निर्माण गर्न लागेको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको सेन्थेटिक ट्रयाकले पश्चिम नेपालको खेल विकास र खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।
उहाँले नेपालगन्ज खेलकुदको उर्वर भूमि भएको बताउँदै यसले थप सहयोग पुग्ने धारणा राख्नुभयो ।
निर्माण कम्पनीले १५ बैशाखदेखि निर्माणको काम थाल्ने जानकारी दिएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो ।
उहाँले ट्रयाक निर्माण भए एथ्लेटिक्सका खेलाडीलाई अभ्यासका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो ।