सामाजिक सञ्जालको सदुपयोग : ५८ वर्षपछि दाजु–बहिनीको भेट

  ।   २०८० बैशाख ७, बिहीबार १३:४१

संवाददाता ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाउनुभएको छ ।

हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेट्नुभयो । त्यसपछि उहाँ बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट गर्नुभयो । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन ।

बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाउनुभयो । त्यसपछि उहाँ बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर नेपाल आउनुभयो । बहिनी हिमाले भन्नुभयो, “यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ । बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु ।”

उहाँका दाजु डीपीको अनुभव पनि बहिनीको जस्तै छ । उहाँले बहिनी, आफन्त र परिवारसँग भेट हुने सबै आशा समाप्त भइसकेका बेला फेसबुकबाट आफन्तको खोजी गरेर नेपाल आएर भेट्न पाउँदा अति नै खुसी लागेको बताउनुभयो ।

वि.सं. २००५ मा बर्मामा जन्मिनुभएकी हिमाको १६ वर्षको उमेरमा बर्मामै गुल्मी जिल्ला निवासी फणीन्द्रनाथ ज्ञवालीसंँग विवाह भएको थियो । त्यसको एक वर्षपछि उहाँहरू नेपाल आउनुभएको हो । नेपाल आएपछि चार-पाँच वर्ष चिठीपत्र आदानप्रदान भए पनि पछि पूर्ण रूपमा सम्पर्क विच्छेद भएको थियो । उहाँका हजुरबुवा नारायणप्रसाद घिमिरे बर्मा घुम्न जानुभएको र उतै बस्नुभएको थियो । उहाँका १२ छोराछोरी जन्मिएका थिए । १२ छोराछोरीमध्ये हिमा माइली छोरी हुनुहुन्छ ।

दाजु–बहिनीको भेट भएपछि आमालाई पनि बर्मा लगेर त्यहाँ रहेका आफन्तलाई भेट गराउने तयारी भइरहेको हिमाका कान्छा छोरा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यसरी सामाजिक सञ्जालको सदुपयोग गर्न सके धेरै राम्रा र उल्लेखनीय काम हुन सक्छन् भन्ने थुप्रै उदाहरण छन् । तीमध्ये एक उदाहरण बनेको छ, ५८ वर्षपछि दाजु र बहिनीको भेटघाट ।

गोरखापत्र र विभिन्न सञ्चारमाध्यम तथा सोसल मीडियाबाट प्राप्त साप्ताहिक विवरणमा आधारित ।

Next Post

एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास

२०८० बैशाख ७, बिहीबार १३:४१
संवाददाता, नेपालगंज । बाँकेको नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले आज शिलान्यास गर्नुभएको छ । प्रतिक्षा निर्माण कम्पनीले ११ करोड ६४ लाख ६४ हजार रुपैयाँको लागतमा ट्रयाक निर्माण गर्न लागेको हो । शिलान्यास कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले नेपालगन्ज रंगशालामा निर्माण […]

सम्बन्धित शीर्षक