विद्यालय समय बाहेक घरमा बालबालिकालाई कसरी पढ्न, लेख्न लगाउने ?

नीजि संस्थागत गुठीबाट सञ्चालित जीवन ज्योती स्कुल कोहलपुरका प्रिन्सीपल जोमन जेम्सको अनुभव सहितको सल्लाह

  ।   २०८० आश्विन १२, शुक्रबार १३:५१

  • ‘प्रतिस्पर्धामा आउनु एकदम सकरात्मक कुरा हो । मैले पनि भनिरहेको पनि छु, शैक्षिक गुणस्तर सुधारका लागि अरु स्कुललाई सहयोग गर्न जीवन ज्योती स्कुल तयार छ भनेर । अरु स्कुलमा शैक्षिक गुणस्तर सुधार भयो भने त्यही विद्यार्थी जान्छन्, मैले यति धेरै विद्यार्थी लिने भनेर सोचेको थिएन । हामी बढी विद्यार्थी राखेर कमाउनको लागि आएको संस्था होइन । हामी गुणस्तरिय शिक्षा दिनको लागि आएको हो । तर अभिभावकहरुको धेरै प्रेसर छ, यही स्कुलमा पढाउँछु भनेर । कारण उहाँहरुको अनुभवले नै यो यस्तो भएको छ ।’

विद्यार्थीलाई घरमा पनि अनुशासनमा रहनुपर्छ, भनेर उत्प्रेरणा (मोटीभेसन) गर्नुपर्छ । यसो गरेपछि विद्यार्थी आफैं पनि गरिहाल्छन । हामी विद्यार्थीलाई एकैदिनमा सबै बिषयको गृहकार्य (होमवर्क) दिदैनौं । जस्तो की एकदिनमा ४ वटा बिषयको गृहकार्य दियौं भने अर्को दिनमा अरु ४ वटा बिषयको गृहकार्य दिन्छौं । त्यसपछि विद्यार्थीहरुमा पनि आत्मविश्वास बढ्छ ।

बढी गृहकार्य दिईयो भने विद्यार्थीले निराश भएर छोड्दिन्छ । त्यसपछि नकरात्मक कुरा सोच्न थाल्छ । विद्यार्थी अनुशासन भन्दा बाहिर गएमा अभिभावकलाई खबर गर्न भन्छौं । र विद्यार्थीलाई कार्यालयमा विशेष रुपले सल्लाह, परामर्श दिन्छौं । अभिभावकहरुको समन्वय एकदमै महत्वपूर्ण हुन्छ । किनभने यो बिषय त्रिपक्षिय हो ।

विद्यालय प्रशासन, शिक्षक र अभिभावक । विद्यार्थी बीचमा हुन्छ । विद्यालय प्रशासन, शिक्षक, अभिभावक मिलेर काम गर्न सकेपछि विद्यार्थीलाई उत्प्रेरणा गर्न सजिलो हुन्छ । जे भईरहेको छ, घरमा त्यो कुरा विद्यालयमा थाहा हुनुपर्छ, र जे विद्यालयमा भईरहेको छ, त्यो घरमा थाहा हुनुपर्छ । त्यसपछि हरेक शिक्षक सँग अभिभावकको सम्पर्क हुन्छ । र विद्यार्थीले पनि थाहा पाईहाल्छ, हामीले घरमा के गरेका छौं, के गरेका छैनौं ।

विद्यालयमा के गरेका छौं, के गरेका छैनौं भनेर । यो सानैदेखी नै उत्प्रेरणा दिएको कारणले विद्यार्थीहरुले यही तरिकाले कामहरु गर्न शुरु गर्छ । एक पटक भनेपछि उनीहरुले गरिरहेको हुन्छ, बीचमा अलिकति उत्प्रेरणा दिने मात्र हो । पढ्न, लेख्नको लागि वातावरण भनेको त, पढाउने शिक्षकहरु महत्वपूर्ण हुन्छ । कक्षा कोठाको सरसफाई, विद्यार्थीलाई शिक्षणका लागि स्मार्ट कक्षाको सुविधा छ ।

अब यदी पढाईमा कमजोर विद्यार्थीहरुलाई अतिरिक्त कक्षाको आवाश्यकता छ, अभिभावकहरुलाई सहयोग चाहिएको छ भने हामीले दुई घण्टा अतिरिक्त पढाई सकिएको समयपछि विद्यार्थीलाई राखेर शिक्षकहरुले सहयोग गर्नुहुन्छ । पढाईदिनुहुन्छ, आत्मविश्वास बढ्छ, ठुलो भएपछि उनीहरुले आफैं गर्न सक्छन ।

अभिभावक सँग तीन-तीन महिनामा भेटेपछि मैले पहिले भन्ने कुरा यही हो, अनुशासनमा आउने । विद्यार्थीहरुलाई मोबाइल चाहिदैन । धेरै विद्यार्थीहरु बिग्रीएको यही मोबाइलले हो । मैले हेरेको गएको कोभिड–१९ को महामारीका बेला भएको लकडाउनमा सबै अनलाइन कक्षाहरु भएर विद्यार्थीहरुले धेरै नै मोबाइल प्रयोग गर्न पाए, त्यसपछि उनीहरुलाई मोबाइल छोड्नै गाह्रो भयो ।

मोबाइलले गर्दा विद्यार्थीको ध्यान पनि मोबाइलतिर नै गएको हामीले देख्यौं । अभिभावकहरुले पनि मोबाइल छोडेर बालबालिकालाई समय दिनु पर्यो । अशिक्षित अभिभावकले पनि आफनो बालबालिकालाई समय दिन सकेपछि उसले सुधार गर्न सक्छ । धेरै अभिभावकहरु आफैं मोबाइल, फेसबुक, टिकटकमा बेस्त भएर बालबालिकालाई पढ् भन्यो भने कहिले पनि पढ्दैन ।

अभिभावक पनि अनुशासित हुनुपर्छ । त्यही कारण हामी हरेक तीन महिनामा अभिभावकलाई बोलाएर उत्प्रेरणा दिन्छौं । अभिभावकले यो कुराहरुमा त, ध्यान दिनुपर्छ । बालबालिकालाई मनोसामाजिक परामर्श दिदाँ हामीलाई धेरै बालबालिकाले भन्छन्, ‘मेरो आमा, बुवाले मलाई समय दिएको छैन । त्यो कारणले मैले यो काम गरेको छैन’ भनेर । हामीले सामान्य रुपमा अशिक्षित र शिक्षित अभिभावक भनेर हेरदैनौं । बालबालिकालाई चाहिएको आमा, बुवाको माया हो । त्यो भनेको आमा, बुवाले समय दिनुपर्छ । पैसा, सम्पति भन्दा समय नै महत्वपूर्ण छ, बालबालिकाहरुलाई ।

हरेक विद्यार्थीले अनुशासनमा रही कुन बेला होमवर्क गर्ने, कतिबेला खेल्ने, कतिबेला अरु काम गर्ने भनेर कार्यतालिका नै बनाउनुपर्छ । विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार यस्ता खालका शैक्षिक गतिविधिहरु विद्यालयमा पनि हुन्छन । जो विद्यार्थी सबै बिषयमा पास (उतिर्ण) भएको छ । ट्यालेन्ट छ, उनीहरुको लागि अतिरिक्त कक्षाहरु नृत्य, म्युजिक, फुटबल, वाँस्केट बल, मार्शल आर्ट जस्ता अतिरिक्त शैक्षिक गतिविधि पनि छन ।

अभिभावकलाई राखिएको हुन्छ, इच्छा अनुसार विद्यार्थी सहभागी हुन पाउँछन । विद्यार्थीलाई घरसम्म पुर्याउने पनि गरेका छौं । विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सगैं मानसिक र शारीरिक विकास पनि चाहिएको छ ।

त्यही अनुसार हामीले शिक्षण गरिरहेका छौं । यसरी विद्यार्थीहरुमा पनि धेरै नै सुधार भएको देखेका छौं । हाम्रो नीजि गुठीमा दर्ता भएको एउटा संस्थागत विद्यालय भएको कारणले हाम्रो उद्देश्य एक सय गुणस्तरिय शिक्षा दिनु नै हो । यसमा पनि हामीले ४० प्रतिशत भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृति (स्कर्लरसिप) मा पढाई रहेका छौं । यसमा गरिब, विपन्न वर्ग तथा जेहेन्दार विद्यार्थीहरु छन ।

विद्यालय बनाउनको लागि शिक्षक र विद्यार्थीको भुमिका धेरै छ । हाम्रो शिक्षकहरु ८ वटा बिषय पढाउनुपर्ने छ, भने ५ वटा मात्रै पढाउनुहुन्छ, ३ वटा मैले छुट गरिदिन्छु, ब्रेक टाइम, लन्च ब्रेक, शर्ट ब्रेक टाइममा सबै शिक्षकहरु विद्यार्थीहरु सगैं हुनुहुन्छ । कोही शिक्षकहरु कर्मचारी कक्षमा गएर बस्नुहुन्न । उहाँको लन्च ब्रेक भनेको २० मिनेट मात्रै हुन्छ । आधा शिक्षक गए, अर्को शिक्षकहरु खटिनुहुन्छ ।

यसरी पुरा समय हामी विद्यार्थीहरु सगैं विताउँछौं । हामी कहिले पनि विद्यार्थीहरुलाई एक्लै छोड्दैनौं । पुरा जिम्मेवारी हामी लिन्छौं । विद्यार्थीहरु शौचालय, वासरुम जाँदा खेरी पनि शिक्षकहरुले निगरानी गरिरहेको हुन्छ । त्यसकारण हामी एउटा परिवार भएर काम गरिरहेका छौं । हाम्रो विद्यालय शुरु भएको १० बर्ष भयो । धेरै अरु विद्यालयबाट आएर हेरी रहनुभएको छ । हरेक बर्ष विद्यार्थीहरुको सङ्ख्या बढ्दै गएको छ ।

विद्यार्थी भर्नाको बेलामा एउटा एडमिसन, एउटा एडमिसन भन्दै धेरै प्रेसर (चाप) आउँछ, चार, पाँच सय विद्यार्थी नर्सरीको लागि प्रतिस्पर्धा गर्छन । त्यसबाट हामीले १ सय ८० जना विद्यार्थी छनौट गर्ने हो । किनभने अभिभावकलाई अनुशासित बनाउन सक्ने विद्यालय, वफादार प्रतिबद्ध शिक्षक चाहिएको छ । भन्न त, बाहिर कुरा पनि गर्छन, जीवन ज्योती स्कुल गएपछि शिक्षक कर्मचारीलाई एक मिनेट पनि बस्न दिदैन, धेरै काम दिन्छ भनेर । एक बर्षमा शिक्षक कर्मचारीले पनि बुझिहाल्नुहुन्छ की किन यति गरिरहनुभएको छ भनेर । रिजल्ट हेर्दा खेरी उहाँहरु पनि धेरै खुसी हुनुहुन्छ । कारण प्रतिबद्ध भएर काम गछौं, उहाँहरुले प्रतिफल पाईरहनुभएको छ । अभिभावक पनि एकदम खुसी हुनुहुन्छ ।

स्कुलको शुल्कहरु पनि समयमै बुझाउनुहुन्छ । हामी सँग अहिले १ हजार ९ सय जना विद्यार्थीहरु छन । त्यसमध्ये ७ सय विद्यार्थीहरु छात्रवृति (स्कर्लरशिप) मा छन । पुरा स्कर्लरशिप भनेको करिब १० प्रतिशत जति हुन्छ, अरु स्कर्लरशिपमा दुई सय, तिन सय रुपैयाँ जति सक्नुहुन्छ, तिर्नु भनेर प्रोत्साहन गछौंं । जस्तो की नर्सरीको विद्यार्थीको मासिक शुल्क २ हजार रुपैयाँ हो, कक्षा १० को मासिक शुल्क २ हजार ७ सय रुपैयाँ हो ।

जुन विद्यार्थीले पुरा शुल्क बुझाउँछन, उनीहरुको लागि हो यो । जति रकम उठिरहेको छ, त्यो शिक्षक, कर्मचारीहरुलाई नै दिईरहेका छौं । हामीले यहाँ आउँदा यो क्षेत्रमा राम्रो स्कुलहरु देखेका थिएनौं । त्यसकारण हामीले हाम्रो शिक्षण विधिहरु लिएर यही स्कुल हेरेर अरु स्कुल पनि सुधार हुन्छन की भन्ने हाम्रो सोचाई थियो । उहाँहरुको विद्यार्थी घट्दैछ, हाम्रो विद्यार्थी बढ्दैछ, हामी आईसकेपछि पनि धेरै स्कुलहरुले सुधार गर्ने प्र्रयास गरिरहेका छन । त्यो कारणले गर्दा पनि प्रतिस्पर्धामा आईरहेका छन ।

यो प्रतिस्पर्धामा आउने कुरा एकदम सकरात्मक कुरा हो । किनकी हामी काम गरेनौं भने हाम्रो स्कुलमा विद्यार्थीहरु आउदैन भन्ने सोचाई आएको छ, नीजि प्राइभेट स्कुलमा र सामुदायिक सरकारी स्कुलमा पनि । यसले अन्य स्कुलमा पनि शैक्षिक गुणस्तरमा सुधार ल्याईरहेको छ । मैले पनि भनिरहेको पनि छु, शैक्षिक गुणस्तर सुधारका लागि अरु स्कुललाई सहयोग गर्न जीवन ज्योती स्कुल तयार छ भनेर । अरु स्कुलमा शैक्षिक गुणस्तर सुधार भयो भने त्यही विद्यार्थी जान्छन्, मैले यति धेरै विद्यार्थी लिने भनेर सोचेको थिएन ।

हामी बढी विद्यार्थी राखेर कमाउनको लागि आएको संस्था होइन । हामी गुणस्तरिय शिक्षा दिनको लागि आएको हो । तर अभिभावकहरुको धेरै प्रेसर छ, यही स्कुलमा पढाउँछु भनेर । कारण उहाँहरुको अनुभवले नै यो यस्तो भएको छ । ठुलो कक्षामा पढिरहेका विद्यार्थीका भाईबहिनीहरु पनि अन्य स्कुलमा जान मान्दैनन । त्यो धेरै गाह्रो भएको छ । नयाँ अभिभावकहरु आउन नै खोज्नुहुन्छ ।

म पाँच बर्षको लागि शुरुमा संस्थाबाट नियुक्त भएको हो । अहिले १५ बर्ष भईसक्यो । स्कुल अहिले १० कक्षा सम्म पुग्यो, अर्को बर्ष प्लस टु शुरु गर्ने योजना छ । म सेवा मनोभावले आएको हो । आफुले विवाह गरेको छैन, मैले पारिश्रमिक लिदैन । सेवा गर्न आएको ब्यक्ति भएको कारणले मलाई जे चाहिन्छ, संस्थाले दिन्छ । अभिभावक र विद्यार्थीहरुको अनुरोध पनि यही थियो ।

शिक्षक, कर्मचारी, अभिभावक, स्थानीय समुदाय सबैले सहयोग गर्नुभएको छ । गरिब विद्यार्थीले पनि आफनै ठाउँमा उच्च स्तरको शिक्षा लिन पाएका छन । जतिबेला सम्म शिक्षा क्षेत्रमा यहाँका मानिसहरु मेरो आवाश्यकता चाहिन्छ, संस्थालाई पनि चाहिएको छ भने देखी त्यतिबेला सम्म म सेवा दिनको लागि तयार छु । म जहाँ पनि काम गरे, त्यहाँ बोलाईरहेको छ । मैले शुरुवातमा काम गरेको गोर्खा जिल्लामा हो । त्यहाँ केही गाहे पनि भयो । तर अहिले त्यो स्कुल उत्कृष्ट मध्येमा पर्छ । धेरै खुसी लागिरहेको छ, त्यो देखेर । यता आएर पनि यो स्कुल स्थापना गर्ने बेलामा पनि धेरै कठिन सघर्ष थियो । तर मैले छोडेन, प्रतिबद्ध भएर काम गरे ।

(बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा रहेको जीवन ज्योती स्कुलका प्रिन्सीपल जोमन जेम्स सँग पत्रकार प्रेम विश्वकर्माले गर्नुभएको कुराकानीमा आधारित ।) 

Next Post

विप्लव नेतृत्व नेकपाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८० आश्विन १२, शुक्रबार १३:५१
नेपालगञ्ज । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रवार नेपालगञ्जमा ‘वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोले आयोजना गरेको हो ।    राजीनितीकर्मी, राजनीतिक विश्लेषक, विद्यार्थि प्राध्यापक, बुद्धिजीवि […]

सम्बन्धित समाचार