कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीकै सांसदले प्रदेश सभा संसदीय दलमा अविश्वास प्रस्ताव बुझाएका छन ।
नेकपा संसदीय दलका नेता समेत रहनुभएका शाहीविरुद्ध आज १८ जना सांसदले अविश्वासको प्रस्ताव लगेका हुन ।
सांसद यामलाल कँडेलको अगुवाइमा हस्ताक्षर सङ्कलन गरी संसदीय दलमा अविश्वास प्रस्ताव बुझाइएको पत्रकार सम्मेलन मार्फत् नेताहरूले बताएका छन ।
नेपाल सङ्घीय प्रणालीमा गएदेखि कुनै पनि प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव अगाडि सारिएको यो पहिलो घटना हो । मुख्यमन्त्री शाही पूर्व माओवादीबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।
अविश्वासको प्रस्ताव दर्ता गर्नेमा पूर्व एमालेका १५ जना र पूर्व माओवादीका ३ जना रहेको बताइएको छ । पूर्व एमाले र पूर्व माओवादीबीच यस अघि छ वटा प्रदेशमध्ये चार वटा पूर्व एमाले र २ वटा पूर्व माओवादीलाई मुख्यमन्त्री दिने सहमति भएको थियो ।
प्रदेशमा कुल प्रदेश सभा सदस्य सङ्ख्या ४० छ । कर्णाली प्रदेशमा ४० मध्ये २० जना पूर्व एमालेका रहेका छन । २० मध्ये एक जना हाल राजबहादुर शाही सभामुख रहनुभएको छ ।
कर्णाली प्रदेश सभामा पूर्व एमाले २०, पूर्व माओवादी १३, नेपाली कांग्रेस ६ र राप्रपाको १ गरी चालीस जना प्रदेश सभा सदस्य रहेका छन ।