कोभिडको असर टिबी लगायतका रोगहरुको उपचार सेवामा पनि देखियो

नयाँ बिरामी पत्ता लगाउने कामहरु घटेर गयो

  ।   २०७७ आश्विन १३, मंगलवार १३:४९

प्रेम विश्वकर्मा, नेपालगंज
कोभिड–१९ को असर टिबी लगायतका अन्य रोगहरुको उपचार सेवा पनि परेको छ ।

पश्चिम नेपालमा स्वास्थ्य क्षेत्रको हबका रुपमा मानिने बाँकेको नेपालगंज ४ सल्यानीबागमा रहेको टिबी नेपाल, नेपालगंज क्षयरोग रेफरल सेन्टरका क्लिनिक इन्चार्ज हिक्मत बहादुर खड्का भन्नुहुन्छ, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई हामीले कहिल्यै पनि उपचार सेवा बन्द गरेनौं, ओपिडी, प्रयोगशाला, भर्ना, डिस्चार्ज पनि चली राख्यो । सेवा अवरुद्ध भएन । तर नयाँ बिरामी पत्ता लगाउने (स्क्रीनिङ) का कामहरु लगभग ४५ प्रतिशत जति घटेर गयो ।’

नेपाल सरकारले २०७६ चैत्र ११ गते देखी गरेको लकडाउन (बन्दाबन्दी) का कारण बिरामीहरु आउन नसकेको उहाँले बताउनुभयो ।

औषधी प्रतिरोधि क्षयरोग (मल्टीड्रग रेसिस्टेन्ट टिबी) का बिरामी समेत रहेको यस अस्पतालमा कसैलाई पनि अहिले सम्म कोभिडको लक्षण देखिएको छैन ।

कर्मचारी र रोगी बिरामीहरुको कोभिड परिक्षणका लागी ताकेता गरिएको तर जिल्ला सरकारी संयन्त्रबाट कुनै सुनुवाई नभएको इन्चार्ज खड्काले बताउनुभयो । टिबी नेपाल, नेपालगंज क्षयरोग रेफरल सेन्टर यहाँको एक मात्र अस्पताल हो ।

नेपालगंज उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको शहरी स्वास्थ्य केन्द्रका अहेव अमृता दर्लामीले लकडाउनका बेला पुरै खोप सेवा नै प्रभावित भएको बताउनुभयो ।

उहाँले गएको बैशाख महिनामा वडा भित्रका करिब ६० जना जति बालबालिकाहरुले लगाउनु पर्ने खोप नपाएको जानकारी दिनुभयो । प्रत्येक महिनाको ४ गते विभिन्न खोपहरु वडा भित्रका बालबालिकालाई लगाउने गरिएको छ ।

अहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउर्दै उपचार सेवा नियमित भइरहेको अहेव दर्लामीले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा लकडाउनका बेला घटेको विरामीको संख्या अहिले बढेको छ ।

 

Next Post

अन्य रोग सगैं कोभिडको संक्रमणले बाँके र बर्दियाका २० जनाको ज्यान लियो

२०७७ आश्विन १३, मंगलवार १३:४९
प्रेम विश्वकर्मा, नेपालगंज । कोभिड–१९ ले बाँके र बर्दियाका २० जना ब्यक्तिहरुको ज्यान लिएको छ । मंगलबार अपराहन्न ४ बजे सम्मको कोभिड अपडेट अनुसार मृत्यु हुनेमा बाँकेका १५ र बर्दियाका ५ जना रहेका छन । जसमा बर्दियाका सबै पुरुष हुन भने बाँकेका केही महिला पनि छन । मृत्यु भएका ब्यक्तिहरुमा कोरोनाको […]