स्थानीयको आकांक्षा : पैसावाल होइन, जनताको काम गर्ने नेता

स्थानीय तह निर्वाचन

  ।   २०७८ चैत्र १५, मंगलवार १०:२३

नेपालमा ३ वटै तहको निर्वाचन प्रणाली महंगो बन्दै गएपनि स्थानीय जनता भने खर्च गर्ने पैसावाल उम्मेदवार होइन, जनताको काम गर्ने असल नेताको खोजीमा छन् ।

  • प्रेम विश्वकर्मा, बर्दिया ।

चारैतिर पालुवा पलाएका छन्, ढकमक्क फुल फुलेका छन्, त कतै हरियाली वातावरणमा सर्वसाधारण दैनिक गुजाराका लागि आ–आफनै काममा व्यस्त छन् । यही समय वैशाख ३० को स्थानीय निर्वाचन नजिकिदै गएको छ भने सर्वसाधारण मेलापात, खेतीपाती, चौताराहरुमा कुन दलले कस्ता उम्मेदवार उठाउलान् ? कसलाई मत दिने भन्नेमा चर्चा-परिचर्चा गरिरहेका भेटिन्छन् । कतिपय कसलाई मत दिने होला भन्नेमा अन्यौलमा देखिन्छन् । त्यसैमध्येका एक प्रतिनिधी पात्र हुनुहुन्छ, बाँसगढी नगरपालिका–५, केदारेश्वर टोल (हाउपुर) को सुकुम्बासी बस्तीमा बस्ने ४५ बर्षिय यम बहादुर रावत । ‘यसपटक राम्रा नेताहरु आइदिए हुन्थ्यो, काम गर्ने नेता चाहियो’, रावतले भन्नुभयोे । रावतले कुन पार्टीलाई मत दिने भन्ने निक्र्याैल गर्नुभएको छैन । भन्नुहुन्छ्, ‘जुन पार्टीले राम्रो नेता दिन्छ, त्यही उम्मेदवारलाई भोट दिने हो ।’

सोही सुकुम्बासी बस्तीमा बस्ने मेवालाल थारुको धारणा पनि उस्तै छ । ‘मजदुरका समस्या बुझ्ने मान्छे आए भने उसैलाई भोट दिन्छौं’, थारुले भन्नुभयोे । बाँसगढी नगरपालिका–६, मोतिपुरका ५३ बर्षीय छोटेलाल थारुको भनाईमा ‘जसको हातमा पैसा छ्, त्यही मान्छेले टिकट पाउने हो ।’ तर, उहाँ पैसावाललाई होइन, मजदुरको काम गर्ने नेतालाई भोट दिने बताउँनुहुन्छ्, । ‘त्यस्तो पैसावाललाई कहाँ दिने भोट’, उहाँले भन्नुभयोे, ‘हामीले मजदुरको दुखव्यथा बुझनेलाई भोट दिने हो ।’

छोटेलाल थारुकै वडामा पर्ने अर्को छिमेकी गाउँ नारायणपुरकी रुपनी थरुनीको भनाईमा ‘हाम्रो दुख सुख हेर्ने मान्छे आए राम्रो हुन्थ्यो ।’ ६० बर्ष उमेर पार गरिसकेका सुन्दर सोनखरले हिन्दी र नेपाली भाषा मिसाउदै भन्नुभयोे, ‘हमारा लोगन के मांग ये हे..जनताको सेवा करो’ । गुलरिया नगरपालिका–११ डल्लापुरका जेष्ठ नागरिक सुन्दरले भन्नुभयोे, ‘गरिब नेता आउनु प¥यो ।’ बढैयाताल–७ का धन बहादुर ओलीको भनाई पनि उस्तै छ । ओलीले भन्नुभयोे, ‘जनताको काम गर्ने मान्छे हुनुपर्छ्, लोप लालच नगर्ने, कुनै पार्टी नहेरीकन जनताको सेवा गर्ने मान्छे हामीलाई चाहिएको हो ।’ जुन दलले त्यस्तो मान्छे अघि सार्छ, त्यही दल र उम्मेदवारलाई भोट दिने पनि उहाँले बताउनुभयो ।

यसरी सर्वसाधारणमा आफनै गाउँठाउँको सरकारमा आफना दुख सुख बुझने किसिमका नेता आइदिउन् भन्ने अपेक्षा छ । धनी (पैसावाल) नेता आए उनीहरुले आफना दुख नहेर्ने बरु आफै कमाउनतिर लाग्ने आकंलन स्थानीयको छ । त्यसैले पनि आफनै वर्गको प्रतिनिधीत्व गर्ने खालका सामान्य नेता उनीहरुको रोजाईमा परेको छ ।

यता राजनीतिक दलहरु पनि जनताले रोजेकै जस्तो राम्रो उम्मेदवार दिने दाबी गर्छन् । उनीहरु जनतालाई आफनो पक्षमा तान्न यतिबेला जोडतोडले लागीपरेका छन् । नेपाली काग्रेंस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठोर ‘जनधार भएकालाई स्थानीय तहको उम्मेदवारमा प्राथामिकता दिने’ बताउँनुहुन्छ्, । ‘अहिलेका जनप्रतिनिधिको पनि दोहोरिने इच्छा हुनसक्छ, यस बिषयमा पनि छलफल होला तर अब गठनबन्धन गर्ने-नगर्ने भन्नेबारेमा केन्द्रले निर्णय गरेलगत्तै त्यसैअनुसार जनाधार भएका नेताहरुलाई उम्मेदवारको रुपमा छनौट गछौं,’ सभापति राठोरले भन्नुभयो । काग्रेंसकै बढैयाताल गाउँपालिका सभापति भगत नेपालीले भने विकासका लागि सक्षम, सिमान्तकृत, महिला, युवा, पछाडि पारिएको क्षेत्रका ब्यक्तिलाई आफुहरुले यसपालि उम्मेदवारका रुपमा प्राथामिकतामा राखेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेश सरकारका वहालवाला मन्त्री तिलक राम शर्मा (हिमाल) ले पनि सक्षम उम्मेदवार प्राथामिकतामा पर्ने बताउनुभयो । संघीय सांसद समेत रहनुभएका माओवादीकै अर्का नेता सन्त कुमार चौधरीले कमभन्दा कम खर्च गर्न सक्ने, विगतमा माओवादी युद्ध लडेका, योगदान र बलिदान गरेका लगनशिल ब्यक्तिहरु उम्मेदवारको रुपमा रहने बताउनुभयो । चौधरीले क्रियाशिल र लोकप्रियताको आधारमा आंकाक्षीहरुको रोष्टर तयार गरी पार्टीले निर्णय गर्ने बताउनुभयो । त्यसो गर्दा वहालवाला जनप्रतिनिधि पनि दोहोरिन सक्ने संम्भावना रहेको चौधरीको भनाई छ । यता, नेकपा एमालेका नेता तथा संघीय सांसद विमला बिकले भने वहालवाला जनप्रतिनिधिहरुभन्दा नयाँ उम्मेदवार दिने बताउनुभयो । जसपाका जिल्ला सहसचिव तारा बहादुर सुनारले समाज सेवा गरेको युवालाई समावेशीताको आधारमा उम्मेदवार बनाउने योजना रहेको सुनाउनुभयो ।

विज्ञहरुले पनि दुरदर्शी, सक्षम, इमानदार सहयोगी नेतृत्वको आवाश्यकतामा जोड दिएका छन् । आर्दश मावि मोतिपुरका सामाजिक बिषय शिक्षक मिथिला थारु पहिलेको तुलनामा विकास राम्रो भएको बताउँदै भन्नुहुन्छ्, ‘आगामी दिनमा अझै दुरदर्शी, सक्षम, इमानदार मान्छे छनौट भएर आयो भने समानुपातिक रुपमा विकास गर्न सहयोग हुन्छ ।’ मध्यपश्चिम विश्वविद्यालय, बबई बहुमुखी क्याम्पस गुलरियाका राजनीति शास्त्रका उपप्राध्यापक तथा अधिवक्ता सूर्यमोहन सापकोटाको भनाईमा राजनीति मात्रै भन्दापनि आर्थिक, सामाजिक र समग्र विकासको पक्षलाई ध्यान दिएर त्यसमा अगाडी बढने ब्यक्तिलाई दलहरुले उम्मेदवार बनाउनुपर्नेमा जोड दिनुहुन्छ्, । ‘राम्रोमध्ये पनि राम्रो उम्मेदवार मतदाताहरुले छानुन्, ताकि समग्र विकासमा फड्को मार्न सकियोस्’, सापकोटाले भन्नुभयोे ।

राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार तय नगरेपनि अहिलेसम्मको अवस्था हेर्दा बर्दिया जिल्लाका स्थानीय तहहरुमा प्रमुख तीन दलका नेताहरुवीच नै प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली काग्रेंस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने संम्भावना छ । बर्दियाका ८ पालिका र ७५ वडामा गठवन्धन भएको अवस्थामा काग्रेंस लगायतका गठवन्धनका दललाई फाइदा पुग्ने देखिन्छ । विभाजनका कारण एमाले केही ठाउँमा कमजोर भएको छ ।

त्यसो त बामपन्थी पार्टीहरुवीचको एकताको पक्षमा उभिएका नेता बामदेव गौतमपक्षीय नेता-कार्यकर्ताको भूमिकाले पनि कुन दलको पल्ला भारी हुन्छ भन्ने कुरामा केही हदसम्म निर्णायक हुने संभावना देखिन्छ । गौतमको एकता अभियानका केन्द्रिय परिषद सदस्य ज्ञानुमाया रिजाल स्थानीय तहको निर्वाचनमा कुनै पार्टी विशेषलाई भन्दा पनि योग्य उम्मेदवारहरुलाई सहयोग गर्ने बताउँनुहुन्छ्, । सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लगायतका दलले आफै उम्मेदवारी दिन्छन् वा अन्य दल कसलाई समर्थन गर्छन् भन्ने कुराले पनि परिणाममा धेरथोर प्रभाव पार्ने छ । निर्वाचन आयोगको वेवसाइटमा प्रकाशित १४ चैत्र २०७८ दिँउसो ११ बजे सम्मको विवरण अनुसार जिल्लामा कुल ३ लाख ११ हजार ४ सय १० मतदाता छन् जसमध्ये १ लाख ५८ हजार ६ सय ६२ जना महिला, १ लाख ५२ हजार ७ सय ५२ जना पुरुष छन् भने अन्य ६ जना मतदाता रहेका छन् । १ सय ५३ मतदान स्थल संख्या र ३ सय ७१ मतदान केन्द्र संख्या रहेको छ ।

#स्थानीय     #निर्वाचन     #उम्मेदवार

Next Post

टिप्परको ठक्करबाट एक वृद्धको मृत्यु

२०७८ चैत्र १५, मंगलवार १०:२३
संवाददाता, नेपालगंज। बाँकेको राँझा चोकमा टिप्परको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । आज बिहान करिव साढे आठ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझा चोकमा भे १ क ६५७ नम्बरको टिप्परले ठक्कर दिँदा ७० वर्षीय वीरबली भण्डारीको मृत्यु भएको हो । मृतक भण्डारी हुम्ला खार्पुनाथ गाउँपालिका ५ घर भई […]