नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारका बिना विभागीय मन्त्री कृष्णा केसी ‘नमूना’ गत ७ माघको शनिबार दलबलसहित बाँकेको बर्फानी बाबा आश्रम पुगिन् । राप्तीसोनारी गाउँपालिकाको वडा नं. ४ बैजापुर क्षेत्रबाट मोटरसाइकल चढेर मन्त्री नमूनासँगै स्थानीय जनप्रतिनिधि, नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता कार्यकर्ता, पत्रकारको टोली बर्फानी बाबाको आश्रममा पुगेको थियो । ठाडो उकालो उक्लेर टोलीले रोमञ्चक यात्रा गर्दै बर्फानी बाबा पुगेको थियो । मन्त्री नमूनाले बर्फानी बाबाको आश्रम, शिव मन्दिर, चुरे पहाडको चुचुरोको अवलोकन गरेकी थिइन् ।
लुम्बिनी प्रदेश सरकारको बजेटमा बर्फानी बाबाको आश्रमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नरैनापुर क्षेत्रबाट आउने बाटो र आश्रम परिसरमा धर्मशाला बनाउन ३८ लाख रुपैयाँको काम निर्माणाधीन छ । प्रदेश सरकारको लगानीमा बनेका भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिने र बर्फानी बाबा क्षेत्रमा थप भौतिक पूर्वाधार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न अवलोकन भ्रमण गरेको मन्त्री नमूनाले बताइन् । बर्फानी बाबाले मन्त्री नमूनासँग तत्कालआश्रममा खानेपानी, धर्मशाला र शौचालय निर्माण गर्न आवश्यक रहेको भन्दै ध्यानाकर्षण गरेका थिए । उनले भने, ‘सबै मान्छे उकालो चढेर आउन सक्दैनन् । तिनका लागि सिँढी बनाएर समातेर आउने व्यवस्था गर्न सकिन्छ । उकालो नै नचढ्ने ब्यक्तिका लागि उडन खटौला (केवल कार) बनाउन सके तीर्थयात्रीलाई निकै सजिलो हुन्थ्यो ।’
मन्त्री नमूनाले हेलिकोप्टर चढेर आउनेहरुका लागि तत्कालै हेलिप्याड बनाउने र दीर्घकालीन रुपमा भने केवल कार बनाएर भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताइन् । अल्पकानीन र दीर्घकालीन रुपमा गरिने काममा आफूले पहल गर्ने उनले बताइन् । चुरेको अग्लो चुचुरोमा चढेकी मन्त्री नमूनाले भनिन्, ‘बाटोमा स्टेप सिँढी बनाउनु पर्छ । धर्मशाला बनाउन सक्ने हो भने तीर्थयात्री रातमा बास बस्न पाउँछन् ।’
बर्फानी बाबाको आश्रम अवलोकन गरेको अर्को दिन अर्थात आइतबार बिहान मन्त्री नमूना बाँकेको नरैनापुर गाउँपालिका ५ को सन्तानेश्वर महादेवको मन्दिर क्षेत्रको पनि अवलोकन गर्न पुगिन् । नरैनापुर गाउँपालिकाले घुमौं सन्तानेश्वर भन्दै प्रबद्र्धन गरेपछि सन्तानेश्वर पनि चर्चामा थियो । सन्तानेश्वर पुगेर मन्त्री नमूनाले प्रदेश सरकारको तर्फबाट सन्तानेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि के कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे सुझाव संकलन गर्न मन्त्री नमूना, नरैनापुर र राप्तीसोनारीका जनप्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारको टोलीसहित बिहान सन्तानेश्वर महादेव मन्दिर परिसरमा पुगेकी थिइन् ।
सन्तानेश्वर महादेव मन्दिरका महन्त योगानन्द गिरीले मन्त्री नमूनालाई ‘मन्दिर जिर्णोद्वार गर्नुपर्ने’, खानेपानी, शौचालय, आश्रम, सडक, निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए । मन्त्री नमूनाले तत्काल गर्नुपर्ने साना साना काम स्थानीय सरकारले र दीर्घकालीन योजनाका लागि प्रदेश र संघीय सरकारको बजेटबाट काम गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् । राप्तीसोनारी ७ का वडाध्यक्ष रामलखन थारु र नरैनापुर ६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बाँकेको गौरव सन्तानेश्वरको विकासका लागि सहयोग गर्ने आश्वासन दिएका थिए । मन्त्री नमूनाले राप्तीपारीका बर्फानी बाबा आश्रम, सन्तानेश्वर महादेवको मन्दिर, गोबद्र्धन धाम र नरैनापुरको भुवर भवानी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास प्रदेश सरकारबाट पहल गर्ने बताइन् । ‘राप्नी पारीका प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मेरो पहल हुनेछ’, उनले भनिन्, ‘चुरेका पहाडमा हाइकिङको राम्रो सम्भावना छ । गर्मी महिना सितल आनन्द लिनका लागि यो क्षेत्रमा जान सकिन्छ ।’