प्रचण्डको रोजाइमा किन पर्यो गोरखा क्षेत्र नं. २

  ।   २०७९ आश्विन २२, शनिबार १४:०२

२०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित उहाँ यसपटक गोरखा–२ बाट चुनाव लड्ने हुनुभएको हो । गठबन्धनका दलहरू बिच प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेसँगै प्रचण्ड गोरखाबाट प्रतिस्पर्धा गर्ने हुनुभएको हो । यसअघि प्रचण्डले मंसीर ४ को निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने बताउनु भएको थियो । पार्टीका शीर्ष नेताहरूले गोरखाबाट चुनाव लड्दा त्याग बलिदानीको सम्मान हुने सुझाव दिएपछि र स्थानीय नेताहरूले गोरखा आउन निरन्तर दवाव दिएपछि अन्तिम समयमा प्रचण्डले चितवन छोडेर रोज्नु भएकोछ ।

२०६४ को निर्वाचनदेखि ३ पटकका निर्वाचनमा ४ ठाउँबाट प्रतिस्पर्धा गर्नुभएको प्रचण्डले कुनै पनि क्षेत्र दोहोर्‍याउनु भएको छैन । २०६४ चैत्रको पहिलो संविधानसभा निर्वाचनमा उहाँ रोल्पा र काठमाडौं–१० बाट विजयी हुनुभएको थियो । तर, २०७० को निर्वाचनमा प्रचण्डले पूरानो निर्वाचन क्षेत्र छोडेर सिरहा–५ रोज्नु भएको थियो ।

२०७४ को निर्वाचनमा सिरहाबाटै चुनाव लड्न एकल सिफारिस गरिएको भए पनि प्रचण्डले चितवन–३ रोज्नु भएको थियो । चितवन–३ बाट भारी मतले विजयी हुनभएका उहाँले जिल्लाको विकास निर्माणलाई उच्च प्राथमिकता दिँदै आउनु भएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका माओवादी केन्द्रले जितेको छ, जहाँ महानगरको अधिकांश भूभाग प्रचण्डको निर्वाचन क्षेत्रभित्र पर्दछ । तर, जीत सुनिश्चित हुँदाहुँदै पनि उहाँले अन्तिममा चितवन छोडेर गोरखा रोज्नु भएकोछ ।

नेपालका शीर्ष नेतामध्ये प्रचण्ड भावुक स्वाभावका नेता मानिनुहुन्छ । १० वर्षको सशस्त्र द्वन्द्वको नेतृत्व गर्नुभएका उहाँले जनताका हजारौं छोराछोरीको बलिदानीकै कारण देशमा संघीय गणतन्त्र आएको भन्दै बलिदानीको उच्च सम्मान हुनुपर्नेमा जोड दिँदै आउनुभएकोछ ।

गोरखा पनि त्यस्तो जिल्ला हो, जहाँ प्रचण्ड स्वयंले शिक्षकको भूमिकामा रहेर क्रान्तिकारी संगठन निर्माण गर्नुभएको थियो । जनयुद्धको पहिलो योजनासमेत गोरखा बैठकले निर्माण गरेका कारण यस जिल्लामा प्रचण्डको विशेष अनुराग रहेको मानिन्छ । जनयुद्धको क्रममा सबैभन्दा पहिला मारिने दिलबहादुर रम्तेलदेखि पार्टीको शीर्ष नेताबाट मारिने सुरेश वाग्लेसम्मका नेता गोरखाकै हुनुले पनि माओवादीका निम्ति गोरखा विशेष महत्वको जिल्ला मानिन्छ ।

२०७४ को चुनावमा गोरखा–२ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको थियो । भट्टराईले यसपटकको निर्वाचनमा गोरखाबाट प्रचण्ड नै चुनाव लड्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमेत गोरखा–२ बाट चुनाव लड्नसक्ने आंकलन गरिएको थियो । तर, डा. भट्टराईले चुनाव नलड्ने घोषणा गरेका र श्रेष्ठ राष्ट्रिय सभा सदस्य रहेका कारण नेताहरूकै जोडबलमा प्रचण्ड गोरखाबाट लड्न लाग्नु भएको हो ।
प्रचण्ड राष्ट्रिय नेता भएकाले सधैं एउटै क्षेत्रबाट चुनाव लड्न नहुने अभिमत माओवादीभित्र बलियो देखिन्छ । पछिल्लो ५ वर्षमा चितवनको विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रचण्डले प्रत्येकपटकको निर्वाचनमा अलग अलग ठाउँबाट चुनाव लडेर सबै क्षेत्रहरूलाई समान दृष्टिले हेर्ने सन्देश दिनुपर्ने मान्यताअनुसार उहाँ गोरखा–२ बाट लड्न लाग्नु भएको हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा माओवादीले गोरखाका ११ मध्ये ९ स्थानीय तह जितेको थियो । गोरखामा एक्लै लड्दा पनि माओवादीको जनाधार बलियो देखिएको र गठबन्धनबाट चुनाव लड्दा देशभरिको चुनावी अभियानलाई कमाण्ड गर्न प्रचण्डका लागि सहज हुने नेताहरू बताउँछन् । स्थायी समितिका अधिकांश नेताहरूले गोरखा–२ बाट चुनाव लडेर देशभरिको चुनावी कमाण्ड गर्नु राम्रो हुने सुझाव दिएपछि अन्तत: उहाँले गोरखा–२ रोज्नु भएको हो ।

Next Post

लगातारको बर्षाले जनजीवन कष्टकर, तत्काल बर्षा रोकिने संम्भावना छैन

२०७९ आश्विन २२, शनिबार १४:०२
संवाददाता, नेपालगंज। असोज १८ गते देखी लगातारको वर्षाका कारण मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका गाउँबस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको छ । कतिपयको उठिबास नै भएको छ । बाँके, चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका गाउँबस्ती डुबानमा परेका छन । वर्षाका कारण नदी र खहरे […]