संवाददाता, नेपालगंज ।
पर्यटन विकासका लागी नीजि क्षेत्रले सहकार्य गर्न नचाहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले बताउनुभएको छ ।
रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज सँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘टाढाको कुरा के गर्नु यही बर्दियामा पर्यटन विकासका लागी नीजि क्षेत्र आफै लागेका छन । बाँकेमा त्यसो देखिदैन ।’
उहाँले बाँके राष्ट्रिय निकुञ्ज संम्भावनाले भरीपूर्ण एउटा पर्यटनको क्षेत्र भएकाले यस तर्फ नीजि क्षेत्रको पनि लगानी, ध्यान केन्द्रित गर्दा उपलब्धी पूर्ण नै हुने बताउनुभयो ।
प्रमुख संरक्षण अधिकृत शाहले आन्तरिक र बाह्य पर्यटकको आकार्षण बढ्ने खालको पूर्वाधार निर्माण तथा वन जंगल, जीवजन्तुको अवलोकन लागी निकुञ्जले ब्यवस्था मिलाउने प्रयास गरिरहेको जानकारी दिनुभयो ।
२५ वटा बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जमा अहिले पाँच, छ वटा हात्तिको झुन्ड रहेको अनुमान छ । निकुञ्जको चालु आर्थिक बर्ष २०७९-०८० का लागी साढे ११ करोड रुपैयाँ बजेट छ भने गत आर्थिक बर्ष २०७८-०७९ मा साढे १० करोड रुपैयाँ बजेट रहेको थियो ।
बितेका दुई बर्षको अवधिमा मानव बन्यजन्तु विच द्धन्द्धका बाँके र बर्दियामा ३२ वटा घटना घटेका छन । जसमध्ये ३१ वटा घटना बनजंगल क्षेत्र र एउटा मात्र घटना राजमार्गमा भएको हो । बाँके देशकै कान्छो राष्ट्रिय निकुञ्ज हो ।
निकुञ्ज स्थापना भएदेखी हालसम्म ९१ वटा वन्यजन्तु सँग संम्बन्धित विभिन्न मुद्धाहरु दर्ता गरिएको छ । गत आर्थिक बर्षका मात्रै ५ वटा मुद्धा छन । चोरीशिकार लगायतको आरोपमा मुद्धा खेप्ने ब्यक्तिहरु भने नेपाली नागरिकहरु नै हुन । अदालत पुगेका बाहेक अधिकांश मुद्धाहरु किनारा लगाई सकिएको बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।