भारत कोभिड : कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने मानिसको सङ्ख्या किन कहिल्यै पत्ता नलाग्न सक्छ

  ।   २०७९ बैशाख २३, शुक्रबार १६:३९

संवाददाता ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको एउटा नयाँ प्रतिवेदनका अनुसार भारतमा सरकारी आँकडाको तुलनामा करिब १० गुणा बढी मानिसको कोरोनाभाइरस महामारीका कारण ज्यान गएको छ ।

भारत सरकारले उक्त तथ्याङ्कलाई अस्वीकार गर्दै अनुसन्धान विधिमा त्रुटि रहेको बताएको छ । सन् २०२० को नोभेम्बरमा सबै कारणले हुने मृत्युको तथ्याङ्कहरू उपलब्ध गराउने वल्र्ड मोर्टालीटी डेटासेटले भारतका अधिकारीहरूलाई सूचना उपलब्ध गराउन अनुरोध गरेको थियो ।

“ती तथ्याङ्कहरू उपलब्ध छैनन्,“ भारतको प्रमुख तथ्याङ्क कार्यालयले दिएको उत्तर डेटासेटका सह–संस्थापक तथा वैज्ञानिक एरिअल कार्लिन्स्की बताउँनुहुन्छ । उहाँ डब्ल्यूएचओले सन् २०२० र सन् २०२१ मा कोरोनाभाइरसका कारण विश्वव्यापी रूपमा भएको अनुमानित अतिरिक्त मृत्यु सङ्ख्याबारे अध्ययन गर्न गठन गरिएको सल्लाहकार समूहका पनि सदस्य हुनुहुन्छ ।

अतिरिक्त मृत्यु विगतका वर्षका तुलनामा अपेक्षा गरिएभन्दा कति बढी मानिसहरूको ज्यान गइरहेको छ भन्ने साधारण प्रकृतिको मापन हो । कोभिडकै कारण यीमध्ये कति मृत्यु भए भन्न गाह्रो भएपनि त्यसलाई महामारीले उत्पन्न गराएको क्षतिको तहको मापनका रूपमा लिन सकिन्छ ।

भारतमा आधिकारिक रूपमा हालसम्म कोरोनाभाइरसका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ । सन् २०२० को ज्यानुअरी १ र सन् २०२१ को डिसेम्बर ३१ सम्ममा चार लाख ८१ हजार मृत्यु भएको जनाइएको भएपनि डब्लूएचओको अनुमानले उक्त आँकडा करिब १० गुणासम्म बढी रहेको जनाएको छ । वैज्ञानिकहरूले विश्वव्यापी रूपमा कोभिडका कारण भएको मृत्युको एक तिहाइ भारतमा भएको जनाइएका छन ।

यो अवधिमा २० देशमध्ये विश्वव्यापी रूपमा देखा परेको अतिरिक्त मृत्युदरको ८० प्रतिशत भारतमा पाइएको छ । हालसम्म विश्वभर गणना नगरिएका त्यस्ता मृत्युमध्ये लगभग आधा भारतमा पाइएको थियो ।

यसै हप्ताको सुरुमा भारत सरकारले सन् २०२० मा सरकारी स्तरमा दर्ता गरिएका ८१ लाख मृत्युको तथ्याङ्क सार्वजनिक गरेको थियो जुन अघिल्लो सालको तुलनामा छ प्रतिशत बढी रहेको थियो ।

अधिकारीहरूले त्यसलाई खास प्राथमिकता दिएनन् र चार लाख ७४ हजार अतिरिक्त मृत्यु कोभिडका कारण भन्न नमिल्ने जनाएका छन् । सरकारी तथ्याङ्कले सन् २०२० मा करिब एक लाख ४९ हजार मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ ।

टोरोन्टोस्थित सेन्टर फर ग्लोबल हेल्थ रिसर्चका निर्देशक प्रभात झाले कोभिडसँग सम्बन्धित भारतको मृत्युदर उल्लेख्य रूपमा कम नभएपनि अभूतपूर्व रूपमा कम गणना गरिएको बताउनुभएको छ । सन् २०२१ को सेप्टेम्बरसम्म गरिएका तीनवटा ठूला अध्ययनहरूले भारतको मृत्युको आँकडा “आधिकारिक तथ्याङ्कभन्दा छदेखि सात गुणासम्म बढी“ देखाएका छन ।

द लान्सेटमा प्रकाशित एउटा अध्ययनमा भारतका १२ वटा राज्यका क्षेत्रीय तहका मृत्युसम्बन्धी तथ्याङ्कको प्रयोग गरिएको थियो । त्यसको निष्कर्ष डब्लूएचओको आकलनसँग मिल्दोजुल्दो छ ।

कोभिड नियन्त्रणसम्बन्धी सरकारी भाष्यलाई चुनौती दिने यस्ता खालका स्वतन्त्र अनुमानहरूलाई भारत सरकारले निरन्तर रूपमा खारेज गर्दै आएको छ । अधिकारीहरूले त्यसलाई “गलत, झुट्टा सूचनामा आधारित र खराब प्रकृतिका आरोप“ भन्दै अनुसन्धान विधि र अध्ययनका लागि अवलम्बन गरिएको नमुना छनौट विधि त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिने गरेका छन ।

त्यसरी मृत्युको तथ्याङ्क कम रिपोर्टिङको सम्भावना न्यून रहेको उनीहरूको भनाइ छ । कार्लिन्स्की भन्नुहुन्छ, “मलाई डर छ कि अहिले सबै तथ्याङ्क उपलब्ध भइसकेपछि पनि भारतले त्यसलाई सार्वजनिक गर्न हिचकिचाउनेछ ।“ “किनभने त्यो आधिकारिक तथ्याङ्क र भारतले विभिन्न कारणले कोभिडलाई पराजित गरेको भन्ने भनाइसँग मेल खाँदैन ।

“धेरै देशहरूले महामारीको समयमा भएका मृत्युको उपयुक्त सङ्ख्या उपलब्ध गराउन सङ्घर्ष गरिरहेका छन । कैयौँ विकसित देशहरूले सबै कारणले भएका मृत्युको तथ्याङ्क सार्वजनिक गर्न उल्लेख्य रूपमा विलम्ब गरेका थिए ।

किनभने भाइरसको परीक्षण नगरिएकाले पीडितहरूलाई मृतकको सूचीमा राखिएको थिएन र मृत्युको अभिलेखीकरणको प्रक्रिया अनियमित र सुस्त देखिएको थियो । मृत्युसम्बन्धी प्रमुख अभिलेख पूर्ण र निरन्तर रूपमा प्रकाशित गर्ने देशहरूमा अमेरिका र रुसपछि भारत पर्ने गरेको छ ।

भारतसँग जनसङ्ख्याको हिसाबले तुलना गर्ने गरिएको चीनमा मृत्युको तथ्याङ्क ’अलिक अस्पष्ट’ देखिने गरेको भए पनि अधिकारीहरूले सन् २०२० र २०२१ मा सबै कारणले भएका मृत्युको केही वार्षिक तथ्याङ्क सार्वजनिक गरेको कार्लिन्स्की बताउँनुहुन्छ । भारतले जस्तै पाकिस्तानले पनि तथ्याङ्क उपलब्ध गराएन तर उक्त देशको पनि ’अभिलेखीकरण प्रणाली राम्रो रहेको ठानिएको छ ।’ भारतमा मृतकहरूको सङ्ख्या गणना गर्न सजिलो छैन ।

भारतका ग्रामीण क्षेत्रमा करिब आधा मृत्यु घरमै हुन्छ । कमजोर अभिलेखीकरणका कारण प्रत्येक वर्ष हुने एक करोड मृत्यु मध्ये ७० लाखवटा स्वास्थ्य निकायबाट प्रमाणित मृत्युको कारण उल्लेख नहुने र ३० लाख मृत्यु दर्ता नहुने विभिन्न जनसाङ्ख्यिक अध्ययन र राष्ट्रसङ्घको आंकलन रहेको छ ।

महिलाहरूको मृत्युदर्ता अझै न्यून छ र गरिब राज्यहरू जस्तै उत्तरप्रदेश र बिहारमा त्यो विशेष रूपमा कम छ । तर अनुसन्धानकर्ताहरूका अनुसार भारतले महामारीसँग सम्बन्धित आधारभूत तथ्याङ्कहरू जस्तै सङ्क्रमणका विभिन्न वर्गीकरण, अस्पताल भर्ना, उमेर, लिङ्ग र खोप लगाएर वा नलगाएर ज्यान गुमाएकाहरूको तथ्याङ्क दिन अस्वीकार गरेको थियो ।

मृत्युसम्बन्धी विश्वसनीय तथ्याङ्कको अभावमा सफल खोप कार्यक्रमले वास्तवमा नै मृत्यु कम गर्न सफल भइरहेको छ या छैन भन्ने पुष्टि गर्न कठिन हुन्छ । “तथ्याङ्कको अभाव र तथ्याङ्कको अपारदर्शिता भारतमा महामारीको प्रमुख विशेषताका रूपमा रहेको छ,“ युनिभर्सिटी अफ मिचिगनका प्राध्यापक ब्रह्मार मुखर्जी भन्नुहुन्छ ।

कतिपयले आफ्नो तथ्याङ्कलाई लिएर प्रकट भइरहेको भारतीय जिद्दीलाई रहस्यमय ठान्छन । कतिपय राज्यमा कोभिडका कारण भएका मृत्यु देखाउँदै गरिएका क्षतिपूर्ति माग आधिकारिक तथ्याङ्कभन्दा बढी रहेको छ ।

अनुसन्धानकर्ताहरूले भारतले आफ्नो नागरिक अभिलेख प्रणालीलाई सुधार गर्नुपर्ने, मृत्यु दर्ता गर्ने प्रणालीलाई सुधार गर्नुपर्ने, स्वास्थ्य प्रमाणीकरण र तथ्याङ्कलाई सुधार गर्नुपर्ने बताउँदै आउनुभएको छ ।

भारतले आधुनिक प्रविधि र सामुदायिक स्वास्थ्य कार्यकर्ता र निष्क्रिय बायोमेट्रिक परिचयपत्र र फोन अभिलेखबाट तथ्याङ्क जुटाउन सक्ने बताइरहेका छन । चीनमा जस्तै अझ बढीभन्दा बढी मृत्यु अस्पतालमा भएको अवस्थामा अभिलेख राख्न सजिलो हुने ठानिन्छ । आगामी जनगणनामा एउटा साधारण प्रश्न सोधेको अवस्थामा पनि त्यो सम्बोधन हुनसक्ने बताइन्छ ।

“के तपाईँहरूको परिवारमा ज्यानुअरी १, २०२० यता निधन भएको छ ?’ छ भने मृतको उमेर, लिङ्ग र मिति भन्नुहोस,“ टोरोन्टोस्थित सेन्टर फर ग्लोबल हेल्थ रिसर्चका निर्देशक प्रभात झा भन्नुहुन्छ ।

“त्यसले महामरीको समयमा भएको अतिरिक्त मृत्युको वास्तविक अनुमान उपलब्ध गराउँछ ।“ मृत्यु र रोगसम्बन्धी जानकारी स्वास्थ्य क्षेत्रमा सुधारका लागि महत्वपूर्ण मानिन्छ ।

सन् १९३० को दशकमा अमेरिका र यूकेको फोक्सोको क्यान्सरसम्बन्धी तथ्याङ्कहरूबाट धूम्रपानलाई एउटा प्रमुख कारण पहिचान गर्न सहज भएको थियो ।

सन् १९८० को दशकमा सान फ्रान्सिस्कोमा मृत्यु दर्ता प्रणालीबाट प्राप्त युवा समलिङ्गी पुरुषहरूको मृत्यु सम्बन्धी तथ्याङ्कले एचआइभी-एड्सको पहिचानलाई सघाएको थियो ।

प्राध्यापक मुखर्जी भारतले महामारीको समयमा सबै कारणले मृत्यु भएकाको तथ्याङ्क सार्वजनिक गरेर आलोचकहरूलाई चुप लगाउनसक्ने बताउँनुहुन्छ । “विज्ञानलाई विज्ञानबाटै चुनौती दिइनुपर्छ । सबै राष्ट्रिय तथ्याङ्कलाई सार्वजनिक गरिनुपर्छ ।“

बीबीसी नेपालीबाट

Next Post

यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन

२०७९ बैशाख २३, शुक्रबार १६:३९
संवाददाता, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ । आज काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको जनाएको हो । विभागको आँकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको […]