यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन

  ।   २०७९ बैशाख २३, शुक्रबार १९:०८

संवाददाता, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ ।

आज काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको जनाएको हो । विभागको आँकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदरभन्दा बढी वर्षा हुने संम्भावना रहेको छ ।

प्रदेश १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईले सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्य पश्चिमी भूभाग र प्रदेश १ को मध्य भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने संम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशको उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने संम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले हनुमान गरेको बताउनुभयो । उहाँकाअनुसार प्रदेश १ को उत्तरी भूभाग, वागमती प्रदेशको दक्षिणी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको पनि विभागको आँकलन छ ।

मौसमविद् हुमागाँईले गत वर्षमा मनसुन अवधिभर ६ वटा स्टेशनहरुमा वर्षाको रेकर्ड तोडिएको बताउनुभयो । उहाँका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनहरुमा पहिलाको रेकर्डहरुलाई ब्रेक गरेर धेरै वर्षा मनुसुन अवधिमा भएको हो । उक्त मनसुन वर्षाले ७९ जनाको निधन भएको थियो, जसमा बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको मानवीय क्षति भएको बताउनुभयो ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा.अर्चना श्रेष्ठले यो वर्ष पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको बेलैमा सचेत रहन आग्रह गर्नुभयो । उहाँले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । उपमहानिर्देशक श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनीयता धेरै हुने गरेको र एक हप्ता भन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनीयता कम हुँदै जाने गरेको बताउनुभयो ।

आगामी मनसुन सिजनमा प्रदेश १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भूभाग र वागमती प्रदेका दक्षिणी भूभागहरुमा सरदर वर्षा हुने संम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको र बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने संम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

त्यस्तै अधिकतम तापक्रम देशको उत्तरी भूभाग र मधेस प्रदेशका धेरै भूभागहरुमा सरदर हुने सम्भावना ३५ देखि ५५ प्रतिशत साथै अन्य स्थानहरुमा सरदर भन्दा कम रहने संम्भावना ३५ देखि ६५ प्रतिशत रहको विभागको आँकलन छ । त्यस्तै विभागले न्यूनतम तापक्रम देशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी हुने संम्भावना ३५ देखि ५५ प्रतिशत र बाँकी भूभागहरुमा सरदर रहने संम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहने अनुमान गरेको छ ।

इकागज डटकमबाट

Next Post

बैजनाथमा गठबन्धनप्रतिको भौकाल

२०७९ बैशाख २३, शुक्रबार १९:०८
नेपालगन्ज । बैजनाथ बाँकेको बैजनाथ गाँउपालिकामा गठबन्धन प्रति आकर्षण देखिएको छ । नेकपा( माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच भएको चुनावी गठबन्धनप्रति गाँउपालिकावासीको मोह बढ्दै गएको हो । हरेक दिन हुने चुनावी सभाहरुमा स्थानियको बाक्लो उपस्थिती हुने गरेको बैजनाथ गाँउपालिकाको अध्यक्ष पदका साझा उम्मेदवार दिपेन्द्र शाह (युगान्त) ले जानकारी […]

सम्बन्धित शीर्षक