संवाददाता, नेपालगंज।
नेपाली कांग्रेस बाँके सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित हुनुभएको छ । गौडेल ७६० मतका साथ सभापतिमा विजयी हुनुभएको हो । गौडेल संस्थापन इतर समूहका नेता हुनुहुन्छ ।
बाँके कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनबाट गौडेल उहाँका प्रतिद्वन्दी बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्दै सभापति पदमा निर्वाचित हुनुभएको छ ।
संस्थापन इतरबाट गौडेल र संस्थापन समूहबाट कुर्मी उम्मेदवार बन्नुभएको थियो । कुर्मीले ६६३ मत पाउनुभएको छ । आज भएको दोस्रो चरणको मतदानमा कुल १ हजार ४९३ मतादातामा १ हजार ४३९ जनाले मतदान गरेका थिए भने १६ मत बदर भएको थियो ।
सभापतिको हिजो भएको पहिलो चरणको मतगणनामा गौडेलले ५६९ मत ल्याएर पहिलो हुनुभएको थियो भने कुर्मीले ५३८ र संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत प्राप्त गर्नुभएको थियो ।
प्रतिस्पर्धाबाट बाहिरिएका हमालले संस्थापन इतरका गौडेललाई समर्थन गर्दै आफ्ना मतदातालाई गौडेललाई भोट दिन निर्देशन दिनुभएको थियो । वागेश्वरी पोष्ठ डटकमले खबर प्रकाशित गरेको छ ।