सबिता चन्द
नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाँके क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिँदै गएको छ। यही क्रममा नेकपा एमालेले क्षेत्रको समग्र विकास, पूर्वाधार सुदृढीकरण र सुशासनलाई केन्द्रमा राख्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार इस्तियाक राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा खानेपानीको दीर्घकालीन समाधान, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, शैक्षिक सुधार, खेलकुद पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सडक, पुल, ढल र शहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ। साथै पारदर्शी प्रशासन, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासन प्रणालीमार्फत समृद्ध बाँके–२ निर्माण गर्ने प्रतिवद्धता जनाइएको छ।
चुनाव नजिकिँदै जाँदा यस क्षेत्रमा दर्जनभन्दा बढी राजनीतिक दलका उम्मेदवार सक्रिय छन्। मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपेन्द्र बिष्ट र एमालेका उम्मेदवार इस्तियाक राईबीच केन्द्रित देखिन्छ। दुवै उम्मेदवारले विकास, स्थायित्व र जनजीविकासँग जोडिएका मुद्दालाई प्रमुख एजेन्डा बनाउँदै घरदैलो र जनसम्पर्क अभियान तीव्र पारेका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेक श्रेष्ठ पनि परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कृतिको नारा लिएर मतदातामाझ सक्रिय छन्। उनी तेस्रो शक्तिका रूपमा चुनावी समीकरण उल्ट्याउने दाउमा देखिन्छन्। त्यस्तै नेपाली कांग्रेसबाट सुधान्सु कोइराला चुनावी मैदानमा छन्। कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता, समावेशी विकास र सामाजिक न्यायलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै जनसमर्थन जुटाइरहेको छ।
अन्य उम्मेदवारमा राप्रपाका तर्फबाट ऋषिराज देवकोटा, जनता समाजवादी पार्टीका उम्मेदवार कमरुद्विन राईलगायत पनि चुनावी प्रतिस्पर्धामा छन्, जसले बाँके–२ को चुनावलाई थप रोचक र बहुआयामिक बनाएको छ।
स्थानीय मतदाताहरूका अनुसार यस पटकको निर्वाचनमा भावनाभन्दा पनि स्पष्ट विकास योजना, कार्यान्वयन क्षमता र सुशासनप्रतिको प्रतिबद्धता निर्णायक बन्नेछ। बहुदलीय प्रतिस्पर्धाबीच बाँके क्षेत्र नम्बर २ को चुनावी परिणामले स्थानीय राजनीतिक भविष्य मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि सन्देश दिने अपेक्षा गरिएको छ।



