Your message has been sent
सबिता चन्द
बाँके । बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) नरैनापुर क्षेत्रका मतदातालाई रिझाउन सफल देखिनु भएको छ। घरदैलो अभियान, टोल–बस्ती केन्द्रित भेटघाट र प्रत्यक्ष संवादमार्फत उहाँले स्थानीय जनताको विश्वास क्रमशः जित्दै जानु भएको छ।
मंगलबार बिहान पाण्डेले नरैनापुरका विभिन्न बस्तीमा पुगेर किसान, मजदुर, युवा, महिला तथा व्यवसायीहरूसँग खुला संवाद गर्नुभएको छ। लामो समयदेखि भोग्दै आएका समस्या, विकासका अवरुद्ध योजना र राज्यप्रतिको अपेक्षा स्थानीयवासीले उहाँसमक्ष राखेका थिए। पाण्डेले ती विषयलाई गम्भीरतापूर्वक सुन्दै समाधानका लागि संसदबाट पहल गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। साथमा समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा पनि खटिनु भएको छ ।
नरैनापुर क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र रोजगारी प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै पाण्डेले यी विषयलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको बताउनुभयो। “राजनीति भाषणका लागि होइन, जनताको जीवन बदल्नका लागि हुनुपर्छ,” भन्दै उहाँले विकास र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने धारणा राख्नुभयो।
स्थानीयवासीका अनुसार नरेन्द्र पाण्डेको शैली अरू उम्मेदवारभन्दा फरक देखिएको छ। भीड जम्मा गरेर भाषणभन्दा पनि सानो घेरामा बसेर समस्या सुन्ने, सुझाव टिपोट गर्ने र व्यावहारिक समाधानबारे छलफल गर्ने उनको कार्यशैलीले मतदातालाई सकारात्मक सन्देश दिएको छ। यही कारण नरैनापुरमा पाण्डेप्रति आकर्षण बढ्दै गएको स्थानीयहरूको भनाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार बाँके क्षेत्र नं. १ मा नरैनापुर निर्णायक क्षेत्रका रूपमा रहेको छ। यस्तो अवस्थामा नरेन्द्र पाण्डे (जेम्स)ले देखाएको सक्रियता, निरन्तर जनसम्पर्क र स्पष्ट विकास दृष्टिकोणले उहाँको उम्मेदवारीलाई थप मजबुत बनाउँदै लगेको देखिन्छ। आगामी निर्वाचनमा नरैनापुरको मतले बाँके क्षेत्र नं. १ को नतिजामा महत्वपूर्ण भूमिका खेल्ने आँकलन गरिएको छ।



