काठमाण्डौ । देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको छ । रातको समयमा बादल लागेकाले देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार देशका धेरै ठाउँको न्यूनतम तापक्रम औसतमा १ डिग्री सेल्सियसले बढेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ४ डिग्री सेल्सियस पुगेको छ । हिजो ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै, आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
रातको समयमा बादल लाग्दा पृथ्वीको ‘रेडियसन’लाई बादलले छेकिदिने हुँदा न्यूनतम तापक्रम बढ्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । मौसमविद्ले न्यूनतम तापक्रम सूर्योदय हुनुपूर्व मापन गर्ने गरेका छन् । यसैबीच, पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्को अनुमान छ ।
आज काठमाण्डौ उपत्यकामा हिजोको जस्तो घाम नलाग्ने मौसमविद् बासीले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण आज घाम मधुरो लाग्ने पनि मौसमविद्ले बताएका छन् ।