भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन

  ।   २०७८ माघ २३, आईतवार १२:२८

संवाददाता  ।

प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यसै वर्षको ज्यानुअरी महिनामा कोभिड–१९ बाट सङ्क्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा रहनुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको“ बताउनुभएको छ ।

मोदीले मङ्गेशकरका “गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गर्ने“ बताउँदै उहाँले “दशकौँसम्म भारतीय चलचित्र जगतलाई नजिकबाट नियाल्नुभएको“ बताउनुभएको छ ।

आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उहाँले ३६ भाषामा ३० हजार भन्दा बढी गीत गाउनुभएको थियो । उहाँलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले ग¥यो ।

उहाँको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो । पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उहाँले सङ्गीत सिक्न थाल्नुभएको थियो ।

दिनानाथ त्यस बेला थिएटर कलाकार रहनुभएको थियो । पिताको मृत्यु पश्चात् उहाँको परिवार मुम्बई (तत्कालीन अवस्थामा बम्बई) बसाइँ स¥यो जहाँ किशोरावस्थामा मङ्गेशकरले मराठी चलचित्रहरूका लागि गाउन थाल्नुभयो ।

परिवारलाई सहयोग गर्नका लागि उहाँले केही चलचित्रमा छोटो भूमिका निर्वाह गर्नुभयो तर उहाँले पछि त्यसमा आफ्नो मन नलागेको बताउने गर्नुभएको थियो । ’’म सबैभन्दा खुसी गाउँदा हुन्थेँ,’’ अन्तर्वार्ताका क्रममा उहाँ भन्नुहुन्थ्यो । सन् १९४९ मा महल चलचित्रको ’आएगा आनेवाला’ बोलको गीतले उहाँलाई फड्को मार्ने अवसर दियो ।

हिन्दी चलचित्रमा यो नै उहाँको पहिलो गीत थियो । पहिलो हिन्दी गीत लगत्तै सबै नायिका उहाँको आवाज चाहन्थे । तर उहाँ सधैँ व्यस्त रहनुहुन्थ्यो र केही भाग्यमानी सङ्गीतकारहरूले मात्रै उहाँलाई गीत गाउन लगाउने अवसर प्राप्त गर्थे,’’ सङ्गीतकार मोहम्मद जहुर खय्याम स्मरण गर्नुहुन्छ ।

त्यसपछिका दशकमा उहाँले भिन्न पुस्ताका प्रख्यात बलिउड अभिनेतृहरूका लागि हजारौँ गीतहरूमा आवाज दिनुभयो । सन् २००१ मा उहाँले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गर्नुभएको थियो ।

सन् २००४ मा उहाँको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले बीबीसीमा लेख्नुभएको थियो कि “मैले उहाँको आवाजमा भगवानको आशीर्वाद देखेँ“ ।

मङ्गेशकरले विवाह भने गर्नुभएन । उहाँकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुनुहुन्छ । मङ्गेशकरले नेपाली भाषामा पनि गीत गाउनुभएको छ ।

बीबीसी नेपालीबाट

Next Post

कोभिड संक्रमित टिकापुर नगरपालिका ८ कैलालीका ६८ बर्षिया महिलाको मृत्यु

२०७८ माघ २३, आईतवार १२:२८
संवाददाता, नेपालगंज। आज भेरी अस्पातालको कोभिड वार्डमा उपचाररत टिकापुर नगरपालिका ८ कैलालीका ६८ बर्षिया महिलाको मृत्यु भएको छ । २४ गते पीसीआर जाँच सगैं भेरी अस्पतालमा भर्ना हुनुभएको मृतक महिलाको आज माध्यान्न साढे १२ बजेतिर मृत्यु भएको हो । यो सगैं उपचारका लागी बाँकेमा आई मृत्यु हुने बाहिरी जिल्लाका कोरोना […]