तुलसी पूजन र टोपी दिवस

  ।   २०७८ पुष ६, मंगलवार १४:०८

–अयोध्या प्रसाद श्रीवास्तव

दुइ वर्ष पहिले यसै समयमा सामाजिक संजाल मा केही साथीहरुले जनवरी १ तारीखलाई टोपी दिवस भनेर पोस्ट गरे को देखें र राष्ट्रियताको भावनावश मैले पनि त्यस्तै गरेर शुभकामना व्यक्त गरें । केही समय पश्चात दिसम्बरको २५ तारीखमा अमेरिकामा तुलसी पूजा गर्ने गरेको दृश्य देखा पर्यो ।

अरुले यी दिवस कसले कुन आधारमा कहिले देखि शुरु गरेको हो भनेर खोजी गरी रहेको देखियो र मैले पनि जिज्ञासा प्रकट गर्न थालें । जसको उत्तरमा नेपाली अमेरिकन केही महानुभावहरुले हामीले अमेरिकामा आफनो राष्ट्रिय गौरव र सांस्कृतिक पहिचान अक्षुण्ण राख्नलाई आफनो तरिकाले हालै देखि मनाउन शुरु गरेका पर्व हुन् भनेर बताए ।

तर नेपालमा केही महानुभावहरुले, नयाँ संविधान जारी गर्दा मधेशमा देखा परेको असन्तुष्टि लाई दबाउन सफल भएपछि जित्ने पक्षले टोपी दिवस भनेर तराईबासीलाई गिज्याएको हो । र तराईबासीले धोती दिवस मनाएर प्रतिकार गर्न उद्दत भइरहेका छन् भन्ने प्रतिक्रिया दिएका छन् । यस्तै तुलसी पूजनमा पनि अस्फुट स्वरमा केही नकारात्मक टिप्पणी सुन्नमा आएका छन् ।

२५ दिसेम्बर ईसाईहरुको पवित्र र सर्वाधिक महत्वपूर्ण पर्व हो भने जनवरी १ पनि वहाहरुकै प्रचलनको ईशवी सन् को पहिलो दिन हो । अमेरिका एक धर्मनिरपेक्ष देश हो जहाँ ख्रीष्टियन बहुल देश भए पनि नेपालको पंचायत कालीन हिन्दू राष्ट्रको धार्मिक सहिष्णुता र सद्भावको राष्ट्रिय चरित्र रही आएको छ । तर त्यहां ख्रीष्टियाटिको आधारमा सरकारी विदाहरु निर्धारित हुन्छन् ।

अमेरिका भिन्न–भिन्न रंग र कद काठी भएका, विभिन्न देश र विभिन्न धर्म संस्कृतिका, अलग–अलग भेष र भाषाभाषीका मानिसले भरी भराउ छ । उहाँँहरु सबैले अमेरिकन सामान्य धर्म, राष्ट्रियता र एकताको चाड त मान्नु हुन्छ नै, साथै यस महासागरमा आ–आफनो धार्मिक, सांस्कृतिक, सामुदायिक, र राष्ट्रियताको माया र पहिचानको मान सम्मान देखाउन बताउन निर्भीक स्वतन्त्रता रहेकोले आफनो आत्मसन्तुष्टिको काम पनि गर्नु हुन्छ ।

यस कारण अन्य धर्मालम्वीहरुको चाड पर्व जुनसुकै दिन परे पनि उहाँहरुले सरकारी विदाका दिन अर्थात शनिबार र आइतवार चाड पर्व मनाउनु पर्ने बाध्यता छ । यस परिप्रेक्षमा नेपाली अमेरिकनहरुले अमेरिकी धार्मिक र राष्ट्रिय पर्वकोे उत्साह र विदाको अवसरलाई छोपेर ख्रीष्टमसका दिन तुलसी पूजन र नया वर्षको पहिलो दिनमा टोपी दिवस मनाउन लाई परिस्थितिको उपज र औचित्यपूर्ण मान्न सकिन्छ ।

तर नेपालमा यस बारे संदेह र प्रश्न उठ्नु अस्वाभाविक भन्न मिल्दैन ।

स्वदेशको प्रतिष्ठा, राष्ट्रिय एकता र सद्भावको पाठ पढेका र “हाम्रो भाषा हाम्रो भेष–प्राण भन्दा प्यारो छ” भनेर अखण्ड राष्ट्रिय स्वाभिमानमा बाँच्न सिकाउने शताब्दीको हामी जस्ता मानिसले भाषा भेष या संस्कृतिलाई जीत हार, आवेश संवेग, घृणा या अस्त्र को रुपमा हेर्न बुझन कदापि चाहंदैनन् र राष्ट्रियताको डोर लाई कमजोर हुन नदिन सतर्क र जागरुक रहन्छन् ।

तर यो शताब्दीमा चली रहेका षडयन्त्रमा, विश्वासको संकटमा, तमाम शंका उपशंकाले स्थान पाई रहेको अवस्थामा सबै व्यक्तिले यसै धारमा अडिग उभिएका छन् भन्न कठिन अवश्य छ । तसर्थ जुन कुराले पारस्परिक सद्भाव बिथोल्छ र राष्ट्रिय एकता छिन्न भिन्न हुन्छ, जुन कुरा विदेशी षडयन्त्रकारीहरुको रणनीति नै हो, त्यो काम कुरा नगर्नू नै वेश हुन्छ ।

भारतमा रहेका नेपालीले तिरंगालाई सलाम गरेर जनगण मन गाएर बस्नु, युरोप, अमेरिका क्यानाडामा रहेकाहरुले तत् तत् देशका झन्डालाई सलामी र सम्मान दिनु उहाँहरुको आफनो बाध्यकारितामा नेपाली टोपी लाई मात्र भए पनि उच्च मान दिनु र त्यसैमा सन्तुष्टि खोज्नु उहाँहरुको विशेष परिस्थति हो, र उचित हो ।

तर उहाँहरुले नेपालमा भ्रम नफैलियोस, समुदाय–समुदायको बीचमा कटुताको वातावरण नबनोस भन्नका लागी “अमेरिकामा नेपालीको टोपी दिवस या तुलसी पूजन ” जस्ता कुरा स्पष्ट लेखेर फोटोहरु पोस्ट गर्नू पर्दछ र नेपाल को विविधतापूर्ण समाजको परम हित प्रति सदैव सचेत रहनु पर्दछ ।

नेपाल भित्र कोई नेपालीले दायाँ बायाँं नहेरेर, कुरा नबुझेर, लहै–लहैमा लागेर आफना मनका उश्रृंखल लहर, र चाहना लाई नेपाली, नेपालीपन या राष्ट्रियता, भनेर परिभाषित गर्नू र कोईले कुनै पहिरनलाई आफनो पहिचान भन्ने नाम दिएर उफ्रनु र दुवै या सबै पक्षले आ–आफना मनका विचारलाई मन कै तराजुमा राखेर आफनो विचारलाई भार र सारयुक्त भनेर आत्मघाती तौल गर्नु निश्चिय पनि श्रेयस्कर छैन ।

कसैको निजी सोंच र भावना, राष्ट्रको सर्वांगीण हित भन्दा बढी मान्य र श्रेष्ठ हुन सक्दैन । त्यस्तै त, नेपाल भारतमा तुलसीको बिउ राख्ने, विरुवा रोप्ने र भगवानको जागरण दिवस सम्म तीन पटक तुलसीको पूजा हुन्छ ।

यस कारण विदेशिएका नेपालीको देखासिकी गरेर नेपालीले नेपालमा तुलसी पूजनको नयाँ चलन ल्याउंँदा कुनै समुदायले हाम्रो चाडलाई निस्तेज पार्ने उपाय भनेर आक्षेप लगायो भने, पूजन पक्षमा वकालत गर्ने संँग त्यसबाट बच्ने तर्क र प्रमाण कमजोर तथा परिणाम कमसल हुन सक्दछ ।

यस कारण भोलीका दिनमा विविधताले युक्त नेपाली समाजमा पारस्परिक संदेह र घृणालाई जन्म दिने खालका काम कुरा र चलन सर्वथा गलत र त्याज्ययोग्य छन् । यदि यस्ता कुरामा विचार गरिंदैन भने साम्प्रदायिक, र अंधविश्वासी आदि विभिन्न उपनाम पाउन बेर लाग्दैन । #तुलसी  #टोपी  #दिवस

(लेखक पूर्व प्रशासनिक अधिकारी, प्राध्यापक अधिवक्ता र राजनीतिशास्त्रका अध्येता हुनुहुन्छ ।)

Next Post

पत्रकार गुप्तालाइ पितृ शोक

२०७८ पुष ६, मंगलवार १४:०८
बाँके । प्रेस सेन्टर नेपाल बाँकेका सदस्य सुभाष गुप्ताका पिता सत्यनारायण ठठेरको ६० बर्षको उमेरमा निधन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ निवासी ठठेरको हृदय घातको कारण ठठेरको मृत्यु भएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।  पत्रकार गुप्ताका पिता स्वर्गीय ठठेर उच्च रक्तचापका बिरामी समेत हुनुहुन्थ्यो । घरमा […]